त्रिशूलधारा होइन, धर्मधारा होइन,
यहाँ अश्रुधारा बगेको छ हजारौँ निर्दाेष आँखाहरूबाट
हलाहल विषसँग के साइनो छ मनुष्यको
उसलाई त खतरा तुइन मात्र तर्नु छ,
भिरैैभिर हिँड्नु छ, दगर्नु छ र गुड्नु छ

बित्था छ तल बगिरहेको
कञ्चन, स्फटिक पानीको सौन्दर्य
ढकढक फुलिरहेको मुटु मिचेर पार गर्नु छ
छिटो छिटो जोगीमारा, कृष्णभिर र दासढुङ्गा

ओहो,
यहीँ खसेको छ
कैयौँ प्रेमी–प्रेमिका र आफन्तहको आत्मा र शरीर
जसको सम्झना मात्रले त्रिशूली बग्छ मुटुहरूबाट

नीलकण्ठ मस्तसँग लेटिरहेका छन् नीलखेतमा
उनको डाहभन्दा मान्छेका हजारौँ गुना पिर
त्रिशूलीको किनारमा उफ्रिन्छ

तपाईँ आँखा चिम्लँदै राम राम जपिरहेका
यात्रुहरूलाई सोध्नोस् त
“कालकूटको पीडा गह्रौँ कि
त्रिशूलीको किनार भएर गुड्नु ?”