“काम नपाए बरु झिँगा धपाऊ
खाली हात कहिल्यै नबस ।”–महात्मा गान्धी
फागुनको कुनै एक दिन
शनिबार, घाम लागेको मिठो दिन

अँगालाभरिका पुस्तक
कौसीमा राखिएको टेबलमा छ–किभी र सुन्तला पनि
आनन्दसँग पुस्तक पढिरहेका बेला

छतका झिँगाहरू भने मैलाई लक्ष्य गर्दै आउँछन्
र मेरै गोडामा, टाउका बसिदिन्छन्
लुगा लगाएका भागमा त मलाई आपत्ति हुन्न,
किन्तु
कहिले कानमा, कन्चटमा, गालामा र कहिले नाकैमा ठोकिन आउँछन्
कहिले नजिकैबाट ‘उ हुँ’ स्वर निकाल्दै उडिरहन्छन्

के छ र मसँग
झिँगाले पाउने आनन्द
बरु ‘मधुपर्क’ वा कुनै कविताका पुस्तक पढिरहेको मेरो पाहारिलो आनन्द
झिँगा धपाउँदैमा खजमजिएको छ

म बाराक ओबामा होइन
जसले टिभी पत्रकारसँगको कुनै इन्टरभ्यु बसाइमा
कोठाभित्रै पटक पटक नाकनेर आएको झिँगा धपाइरहे
र अर्काे समाचार नै बनाए पत्रकारले

म त्यो मूर्ख वानरको मालिक पनि होइन
जसका नाकमा पटक पटक बसेको झिँगा देखेर
उसले खुकुरीले छप्काइदिएथ्यो निद्रामै उसको सुन्दर नाक

मसँग अहिले बाँकी रहेको गुलियो चियाको कप पनि साथमा छैन
जहाँ ऊ डुबिरहन पाओस् चिनीको स्वाद नसकिएसम्म

बिचरो एउटा पुच्छर नभएको डिँगा पनि म होइन
जो भनिरहेथ्यो–भए दिन्नथेँ, छैन, पेटभरि खाएर जा

झिँगा धपाउँदा धपाउँदै
हप्तामा बल्ल बल्ल झुल्किने शनिबार बितेको पत्तै पाइन–खेद यसैमा छ

मलाई आफैँसँग पश्चात्ताप पनि छ
एउटा मामुली झिँगासँग युद्ध गर्दा गर्दै समय नष्ट गर्नुपरेकामा
र ग्लानि छ–झिँगालाई पनि कविताको विषय बनाउनुपरेकामा

एउटा रोगको कारक–तुच्छ घरेलु जीव
कसरी एउटा भावुक कवि र गम्भीर पाठकको चरमानन्द खोस्दोरहेछ

जानेँ, राम्रैसँग पढ्न पाएँ
शनिबार, घाममा बसेर, सुन्तला खाँदै ।
–––