कवि श्याम रिमालको कविता संग्रह हो – चमेरो ‘कोरोना कविता’ । रिमालले संसारलाई आक्रान्त पारेको कोरोना भाइरसको समयको चित्रण कविता मार्फत गर्नुभएको छ ।

“मैले श्याम रिमालको ‘चमेरो कोरोना कविता’का सबैजसो कवितामा कोभिड १९ प्रभावित समाजका गहिरिँदा चिन्ताहरूको काव्यात्मक पुनर्सिर्जनको इमानदार प्रयास भेटेँ ।” श्यामल लेख्नुहुन्छ, “यथार्थमा यी कविता कोभिड- १९ का कारण जबर्जस्त लकडाउन र भयावह एकान्तबासका पृष्ठभूमिमा बुनिएका छन् । उपभोक्ता संस्कृतिका पैरवीकर्ताहरुबाट प्रकृतिमाथिको अनुचित दोहन गरेर पृथ्वीलाई नर्क बनाउने काम जारी नै छ । यसै विध्वंसको एक परिणामका रूपमा कोभिड महाव्याधि रहेको कविको अनुभव छ। कार्बन उत्सर्जन नियन्त्रण गर्न गरिएको पेरिस सम्झौताको दुर्भाग्य पनि यहीँनिर अनुभव गर्न पाइन्छ । घरमालिक र भाडावालबिचको द्वन्द्व यसैमा छ। कसरी एउटा भाइरसले हाम्रा गृहनीति, कूटनीति र छिमेक नीति समेतलाई प्रभावित गर्छ भन्ने कुरा पनि यहीं छ । अर्थात् कवि रिमालका कोभिडकालीन लकडाउन र आइसोलेसनका चिन्ता हाम्रो समयका आम तर विशिष्ट चिन्ता हुन् जसलाई कवि रिमालले कवितामार्फत सम्बोधन गरेका छन् । ”

त्यसैगरी पुस्तकमा युनान विश्वविद्यालयको प्रा.डा. वाङ चुङ लेख्नुहुन्छ, “सन् २००४ मा नेपालमा एक वर्ष नेपाली भाषा, साहित्य अध्ययनका लागि गएका बेला चिनापर्ची भएका मित्र हुन् श्याम रिमाल । उनी त्यतिबेला नेपालको एक मात्र समाचार समिति राससका पत्रकार एवं कविता लेख्ने कविका रूपमा मेरो परिचय भएको थियो । नेपालमा अध्ययन गर्दा नेपाली विभागमा अध्यापनरत गुरुवर्गबाहेक धेरै नेपाली कवि, साहित्यकारहरूसँग मलाई मित्रता गर्ने अवसर प्राप्त भएको थियो । म विगत ३७ वर्षदेखि नेपाली भाषा, साहित्य र संस्कृतिका बारेमा अध्ययन गरिरहेको चिनियाँ अध्येता हूँ । मैले आफ्नो जीवनको करिब चार दशक नेपाली भाषाको सेवा गर्ने सौभाग्य प्राप्त गरेको छु । अहिले पनि युनान विश्वविद्यालयमा प्यारा चिनियाँ छात्रछात्रालाई नेपाली भाषासाहित्यका बारेमा मैले जीवनमा सिकेका कुरा सिकाउँदै छु अर्थात् म नेपाली भाषासाहित्यको सेवारत चिनियाँ हुँ ।”

पुस्तकलाई त्रिशूली प्रवाह साप्ताहिकले बजारमा ल्याएको हो । उनन्तीस ओटा कविता समेटिएको संग्रहको मूल्य दुई सय पच्चिस रुपियाँ रहेको छ ।