
किरण आचार्य पौराणिक विषयमा आधारित उपन्यास लेख्न रुचाउँछिन् । उनको पहिलो ‘जरत्कारु’ पछिको दोस्रो उपन्यास हो ‘परशुराम’ ।
१ सय ६४ पृष्ठमा फैलिएको प्रस्तुत उपन्यासको कथानक सत्य र त्रेतायुगका सन्धिकालीन पात्र परशुरामको अद्भुत इहलीलामा आधारित छ ।
“…सिर्जना हुन गयो एउटा डरलाग्दो, भयानक इतिहास – रक्तराजे जत इतिहास। यो जातीय द्वन्द्वको इतिहास अबोध र युवावर्गबीचमा भएको होइन बरु समाजका अत्यन्त विद्वत् कहलाइएको ब्राह्मण र क्षेत्रीय वणर्बीचको हो । अन्ततः त्यो जातीय विनाश मात्र नभएर मानवताकै निम्ति कलङ्कित इतिहास बन्न पुग्यो । यो महाताण्डवका सूत्रपातकर्ता थिए, अर्जुन अर्थात् सहस्त्रार्जुन अर्थात् कार्तवीर्यार्जुन ।” लेखकीयमा किरण आचार्य लेख्छिन्, “त्यसैको प्रतिकारमा ब्राह्मण वर्णको रक्षार्थ खडा भयो, एउटा अति विद्वान् शिक्षक जो ज्ञानबाट अघाउँदैनथ्यो । शिक्षणलाई नै आफ्नो सर्वस्व र जीवनको मूल लक्ष्य ठानेको थियो । त्यो सरल र शान्त राम जसले जनतामाथि थापरिएको राज्यआतङ्क, अन्याय, अत्याचार र शोषणविरुद्धको प्रतिकार गर्न परशु उठाएर परशुराम बन्न पुग्यो । परिणामस्वरूप ब्राह्मण र क्षेत्रीय वणर्बीच जातीय द्वन्द्वको सूत्रपात भयो अनि कैयौंपटक भए विद्वत् ब्राह्मण बध अनि एक्काइस पटक यो धाराबाट क्षेत्रीय वर्णको दुर्भाग्यपूर्ण वंशसंहार भयो ।”
पुस्तकको पछिल्लो पृष्ठमा राजकुमार बानियाँ लेख्छन्, “यसमा परशुरामको मात्र नभएर हैहयवंशका अधिपति कार्तवीर्य सहस्त्रार्जुनको पनि समानान्तर कथा छ । शस्त्रविद्याका धुरन्धर परशुरामले पृथ्वीका क्षत्रीयहरूको २१ पटक संहार गरेको विषय नै यस आख्यानको मुख्य आकर्षण हो । पाठकलाई हजारौँ वर्षअघिका कतिपय पात्र, घटना र परिवेश अहिले पनि हुबहु मिलेको अनुभूति हुनेछ। परशुराम प्राचीन सभ्यताको जरासम्म पुगेको आद्योपान्त रोचक, रोमाञ्चक र पठनीय आख्यान हो भन्नेमा दुबिधा छैन ।”
शिखा बुक्सबाट प्रकाशित पुस्तकको मूल्य ३ सय ७५ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

