ऐँजेरु –शुकदेव उपाध्याय

लेखक शुकदेव उपाध्यायको उपन्यास हो ‘ऐँजेरु’ । उपाध्यायले उपन्यासमा दूर्योधन नामक पात्रको माध्यमबाट समाजमा देखिने ऐँजेरु प्रवृत्तिलाई चित्रण गर्नुभएको छ । ”उपन्यास मात्र हैन साहित्यको जुनसुकै विधाको कथ्य लेखकको छनौटमा जे पनि हुनसक्छ ।”, पुस्तकमा राजव लेख्नुहुन्छ, ”कथ्यले त्यसको स्तर र प्रभावशालीता निर्धारण गर्दैन । कथ्य सिर्फ लेखनको आधार हो। त्यो आधारको दृष्टिकोण र त्यसको निर्वहन कस्तो भएको छ भन्ने पर्गेलाइ नै महत्त्वपूर्ण हो । निर्वहनको स्वरुप र शिल्प सुन्दर, परिष्कृत र कलाको ओजले भरिएको छ भने त्यस्तो साहित्यिक कृति पढ्दा पाठक ध्यानस्त हुन्छन्, त्यसको प्रभावभित्र बाँधिन्छन्, रमाउँछन्, सम्वेदित, उद्वेलित हुन्छन् । पाठकलाई यसरी कृतिपाशमा राख्ने, आल्हादित, सम्वेदित बनाउने कोसिश गर्नु लेखनको पहिलो सर्त हो। ‘ऐंजेरु’ सार्वजनिक भएपछि पाठकहरूले यसको कदको निरूपण गर्नु नै हुनेछ। यस पूर्व यहाँ पाठकको पठन वाधित हुने कुरा राख्नु समचिन हुँदैन । पारिवारिक विघटन र विच्छिन्नता विश्वका सबै भाषाका उपन्यास लेखनको सार्वकालिक विषय हो। यस विषयमा निरन्तर लेखिरहिएको छ । नेपाली साहित्यमा पनि पारिवारिक विघटन विषयक उपन्यासहरू लेखिएका छन् । तर अपेक्षित संख्या र स्तरमा छैनन् । त्यस्ता केही उपन्यास अद्यापि चर्चामा छन् । पढिरहिएका छन् । ती शास्वत मानिएका छन् । यसको मूल कारण तिनका स्रष्टाका निर्वहन र दृष्टिकोण नै हो ।”

त्यसैगरी, प्रकाशकियमा लेखिएको छ,  ”प्रस्तुत पुस्तक ‘ऐंजेरु’ कृतिका हिसाबले शुकदेव उपाध्यायको दोस्रो उपन्यास हो। उहाँको भाषामा भन्नुपर्दा ”यो उपन्यास विगतदेखि वर्तमानसम्मको हाम्रो समाजको ऐना हो, एकादेशको कुनै कालखण्ड झल्काउने दास्तान पनि हो।” यस उपन्यासले कथानकमा वर्णित निरौला परिवारको पीडामात्र बोलेको छैन अपितु दुर्योधनजस्ता ऐंजेरु पात्रको दुष्टता र बेइमानीले क्रूरताको पराकाष्ठालाई नाघेको समेत दर्शाएको छ। घरपरिवारका मूली नेत्रप्रसाद निरौला र महर्षि निरौलालगायतका अन्य सदस्यहरू र खासगरी सबैभन्दा पीडित विदुर निरौलाजस्ता पात्रको मनोदशाको चित्रण उपन्यासमा छ ।”

पुस्तकलाई सुन्दर स्वदेश पब्लिकेशनले बजारमा ल्याएको छ । एक सय ४२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य चार सय रुपियाँ रहेको छ ।