
तीक्ष्ण सामाजिक र राजनीतिक चेत, सीमान्त आवाज र मानवीयता कृष्ण कुसुमका कथाका विशेषता हुन् । त्यही विशेषतामा फुलेको पुस्तक हो – “पार्श्वधुन” । साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई प्राप्त भएको छ ।
१ सय ६४ पृष्ठमा आधारित यस पुस्तकमा ‘एउटा अन्त्य’, ‘क्लोन’, ‘दुत्कार’, ‘अनुत्तरित’, ‘लडाकु’, ‘माया उर्फ पासो’, ‘गथासो’, ‘पारिजात’, ‘ब्लाइन्ड डेट’, ‘भर्याङ’, ‘न्यूयोर्कमा भेटिएको देश’, ‘चार्ली’, ‘अपूरो’ कथाहरू सङ्ग्रहित छन् ।

पार्श्वधुन
पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “पहाडको उचाइबाट तीव्रताका साथ ओर्लिंदै गरेको जलको बहाव विभिन्न खोल्सी र कुलेसा हुँदै अनेक प्रवाहमा बाँडिएझैँ उनका कथा जन्मभूमि नेपालदेखि कर्मभूमि अमेरिकासम्म बाँडिन्छन् । यिनै दुई खुट्टा टेकेर झन्डै सबैजसो कथानक अगाडि बढ्छन् । अनि सबै खोला र नदीको अन्तिम गन्तव्य महासागर भएझैँ यी कथामा विषय, प्रश्न र विचार विराट मानवीयताको महासागरमा समेटिन्छन् । विविध सुवासले युक्त फूलको गुच्छाजस्तो यो सङ्ग्रह अनेक रङ, स्वाद र सौन्दर्यका कथाहरूको माला हो ।”
“कथा मेरा लागि अभिव्यक्तिको माध्यम भएको छ । जसमा म आफ्ना कुरा मन माझेर अभिव्यक्त गर्न सक्छु जस्तो लाग्छ । मेरो छेउछाउका मान्छेहरूको बोली टिपेर टाढा–टाढासम्म पुर्याउन सक्छु । जुन कुरा मैले पनि भनिनँ भने भन्नलाई छुटी नै रहनेछ ।” मेरो पहिलो प्रेममा उल्लेख गरिएको छ, “गृहकार्य स्वरूप लेखिएको पहिलो कथा होस् वा यस सङ्ग्रहमा समेटिएका कथाहरू हुन्, सबै–सबै कथाका पात्रहरू मेरै वरपरका मान्छेहरू हुन् । टाढाबाट हेर्दा उस्तै देखिने तर नजिकबाट कोट्याउँदा बिलकुल फरक भोगाइ र पीडाले पिल्सिएका सीमान्तकृत समूहका कथा हुन् । यसमा मूलप्रवाहभन्दा बाहिरका लय हुन् । सोही लयको समग्र रूप नै ‘पार्श्वधुन’ हो ।”
शिखा बुक्सबाट प्रकाशित पुस्तकको मूल्य ३ सय ७५ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

