जिन्दगी एक यात्रा – सपना लामिछाने (देउजा)

कवि सपना लामिछाने (देउजा) को कवितासंग्रह हो ‘जिन्दगी एक यात्रा’ । लामिछानेले कवितामा आम मान्छेको दैनन्दिन भोगाइ, मिलन, विछोड र आम मान्छेले देख्ने  सपनाहरू समेट्नुभएको छ ।

”सपना लामिछानेका कविताहरूले व्याख्यामा भन्दा सूत्रमा विश्वास गर्दछन् ।” डा. दामोदर पुडासैनी लेख्नुहुन्छ, ”एउटा राम्रो कविताले धेरै स्रोत र सम्भावना उजागर गर्दछ । कथा वा निबन्ध जस्तो आफैँ सबै व्याख्या गरिरहँदैन । सपना लामिछानेका यस सङ्ग्रहका कविताहरू अध्ययन गर्दा एक शब्द, एक वाक्य, एक वाक्यांश वा एक अनुच्छेदले अनेक कोण-प्रतिकोणका अर्थ प्रक्षेपण गर्न सक्षम देखिन्छन्, जुन सूत्रको रूपमा प्रकट हुन्छन् र मानव मस्तिष्कमा लामो समयसम्म रहिरहन्छन् । कविको सफलता त्यसैमा निर्भर रहन्छ ।”

त्यसैगरी, पुस्तकमा प्रा.डा. उषा ठाकुर लेख्नुहुन्छ, ”राष्ट्रिय एकता, अखण्डता, युद्धको विरोध, शान्तिको चाहना विश्वबन्धुत्वको भावना र कवयित्रीका आशावादी जीवन दृष्टिले पाठकवृन्दका मन मस्तिष्कलाई झंकृत गरेका छन् । हार्दिकताले भरिपूर्ण यी कविताहरूले हामीभित्रको सुषुप्त चेतनालाई जगाउन सफल भएका छन् । कवितामा प्रयोगमा आएका प्रकृतिका सुन्दर विम्बहरू सराहनीय छन् । भावनामा प्रगाढता छ, अनुभूतिमा गहिराइ छ, शैली आकर्षक छ र प्रस्तुतिमा निखार छ । जागरण, आध्यात्मिक चेतना र दार्शनिकताले भरिपूर्ण यी कविताहरू प्रेरणादायी र सन्देशमूलक छन् ।”

त्यसैगरी, लेखक लामिछाने लेख्नुहुन्छ, “जिन्दगी एक यात्रा कवितासङ्ग्रहको रूपमा यो मेरो पहिलो प्रयास हो । मलाई कृतिकारका रूपमा उठाउन मेरा परिवार, इष्टमित्र र आफन्तहरूको महत्त्वपूर्ण भूमिका रहेको छ । यो उहाँहरूबाट प्राप्त प्रेरणाको उपज हो । समय, परिवेश, परिस्थिति र आफूभित्रको अलिकति रहर, अलिकति चाहना र भोगाइको परिणामस्वरूप यो कृति सङ्ग्रहको रूपमा आएको हो। अरू कुरा के लेखौ ?  मैले रचना गरेका कविताहरू आफै बोलिरहेका छन् । तसर्थ मेरो मनका भावनालाई कृतिको रूपमा जन्माउन प्रेरणा र उत्साहको फूल बर्साउने मेरा प्यारा छोरा, बुहारी र छोरीहरू, इष्टमित्र, आफन्त र आत्मीय मित्रजन एवं शुभचिन्तकहरूप्रति कृतज्ञ छु ।”

पुस्तकलाई सुचक प्रकाशनले बजारमा ल्याएको हो । ५६ ओटा कविता संग्रहित पुस्तकको मूल्य दुई सय १५ रुपियाँ रहेको छ ।

=======================