कुरैकुरामा कविता – उदय नेपाली श्रेष्ठ
कवि उदय नेपाली श्रेष्ठको कविता सङ्ग्रह हो ‘कुरैकुरामा कविता’ । पुस्तकमा कविले आफ्ना भावनालाई सरल तरिकाले प्रस्तुत गर्नुभएको छ ।
(पृथ्वीमा तीन वटा मात्र रत्न छन्, ती हुन् जल, अन्न र राम्रा वचन । भ्रममा परेकाहरू भने ढुङाका टुक्रालाई रत्नको नाम दिन्छन् ।) पुस्तकमा प्रा.डा कुमारप्रसाद कोइराला लेख्नुहुन्छ, ”मैले यी पक्ति उद्धृत गर्नाको कारण के हो भने म अहिले कविताका बारेमा केही लेख्न लागेको छु र मलाई के विश्वास छ भने मानिसले अहिलेसम्म गरेको सर्वाधिक सुन्दर र उत्तम सृजना भनेकै कविता हो र कविताभन्दा राम्रो सुभाषित अरू केही हुन सक्दैन । प्रकृतिबाट प्राप्त जल, अन्न र वायु सम्पूर्ण प्राणीका आधारभूत आवश्यकता हुन् भने सुभाषित (सारगर्भित सुन्दर उक्ति, राम्रो कथन, राम्रो सोचाइ वा भनाइ) चाहिँ मानव मात्रको आवश्यकता र आविष्कार हो। यसैले नै मानवलाई अन्य प्राणीभन्दा श्रेष्ठ बनायो । हाम्रा वेद, उपनिषद्, पुराण आदि सबै सुभाषित वा साहित्य हुन् । विश्वका सम्पूर्ण मानव समुदायको वाङ्मय सुभाषित हो । सुभाषितले नै मरणशील मानवलाई अमर बनाउँछ । सम्भवतः सुभाषित वा साहित्य वा कविताको यस्तो शक्ति र सामर्थ्य थाहा पाएर नै मानवले आदिकालदेखि यसको सृजना गर्दै आएको छ । उदय नेपालीको कवितासङ्ग्रह ‘कुरैकुरामा कविता’ अध्ययन गरेर मेरा मनमा यस्तै भाव उत्पन्न भयो । किनभने उहाँको ‘साहित्य रुन सक्छ’ ।”
त्यसैगरी पुस्तकमा हरि गौतम लेख्नुहुन्छ, ”यो मन कसद्वारा प्रेरित भई आ-आफ्ना विषयमा जान्छ ? कसरी प्रयुक्त भई मुख्य प्राण (श्वास) चलायमान् हुन्छ ? प्राणी कसद्वारा इच्छित भई यो वाणी बोल्छ ? कुन देवले चक्षु र श्रोत्रलाई अभिप्रेरित गर्छ ? वास्तवमा कोही पनि इन्द्रियका विषयमा स्वतः प्रवृत्त हुँदैनन् । प्राणीका नेत्र र श्रोत्र अर्थात् आँखा र कानलाई प्रेरित गर्ने देव कुन हो ? अर्थात् जुन चेतनतत्त्व इन्द्रियका अधिष्ठाता हुन् त्यो कुन विशेषणले युक्त छ ? उपनिषद्मा गुरु र शिष्यबीच वार्तालापको माध्यमद्वारा आत्मज्ञानलाई प्रकाशित गरिन्छ । माथि उल्लिखित शिष्यको जिज्ञासालाई शान्त पार्दै गुरु भन्छन् ।”
पुस्तकलाई डा. इन्दिरा श्रेष्ठले प्रकाशन गर्नुभएको छ । ९७ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य पाँच सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










