साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई भाषा साहित्यको विविध विधामा कलम चलाउने कुशल, सफल स्रष्टा दधिराज सुवेदीको आत्मवृत्तान्त पुस्तक “अविरल यात्रा” प्राप्त भएको छ ।
१ सय ६० पृष्ठमा आधारित यस पुस्तकमा दधिराज सुवेदीको जीवनकथा, उनले आफू र आफ्नो जीवनयात्रामा कति पीडा भोगे, कति खुसी कमाए, अहिलेको यात्रासम्म उनले कति सङ्घर्ष गर्न पर्यो लगायत उनका सुखदुखका कथाहरू समेटिएको छ । पुस्तकमा ‘जन्म र परिवेश’, ‘शान्ति र आनन्द’, ‘जीवनमा पश्चाता’, ‘मेरा लिखित तथा सम्पादित’, ‘मालती–मङ्गले गीतिनाटक’, ‘आफ्नो विवाह आफैले…’, ‘धनगढीमा रु. एक लाख’, ‘प्रतिभा पुरस्कार प्रतिष्ठान’ १ सय २१ थान शीर्षकमा ‘अविरल यात्रा’ बुनिएको पाइन्छ । अन्त्यमा आकर्षित तस्बिरहरू समेत समावेश छन् ।
“दधिराज सुवेदी अविरल साहित्यिक यात्रामा बग्ने नदी हुन् । उनी कहिले सङ्लो बगे कहिले धमिलो बगे । कहिले गुलियो, नुनिलो, कहिले खल्लो बगे । कहिले हरियाली बगे, कहिले मरुभूमि र बगर बगे। तर जसरी बगे पनि उनी जताजता बगे साहित्यिक सृष्टि बगे, आफू दुखेर पनि, समाजका लागि देशका लागि साहित्यका लागि खुसी बगे, सुख बगे। सन्तुष्टि र शीतलता बगे ।” विवश पोखरेल उल्लेख गर्छन्, “उनी नेपाली भाषा साहित्यको बगैंचाका माली मात्र होइनन्, बगैंचामा फुलेका सुन्दर फूल पनि हुन् । जो अहिले नेपाली साहित्य क्षेत्रका बहुआयामिक स्रष्टाका रूपमा परिचित छन् । बरगाछी उनले सम्पादन गरेको चर्चित पत्रिका हो । प्रजातन्त्र प्राप्तिका लागि यस पत्रिकाको योगदान प्रशंसनीय छ । जुन पत्रिका कैयौंपल्ट प्रतिबन्धित समेत भयो । जीवन निर्वाहका लागि जागिरे जीवन बाँचेका यी स्रष्टाले पत्रिका निकालेकै कारण प्रशासनको तारोसमेत बन्नु पर्यो । उनले प्र.जि.अ. कार्यालयमा तारिखसम्म बोके । कैंयौपल्ट अनेक कागजसम्म गर्नु पयो । बरगाछी पत्रिका मार्फत् यिनले लोकतन्त्र प्राप्तिका लागि शब्द विचार र अनुभूतिसँगै चेतनाको बिगुल फुकिरहे । प्रजातन्त्रवादी चिन्तक, विचारक र लेखकको सम्मान र श्रद्धा गरिरहे । उनी एउटा अथकित साहित्यिक आध्यात्मिक यात्री पनि हुन् । उनीभित्र अझै केही गरौं भन्ने भावना जीवन्त छ । प्रस्तुत कृति अविरल यात्रा साहित्यकार दधिराज सुवेदीको जीवनयात्राको दस्ताबेज हो ।”
डा. लक्ष्मणप्रसाद गौतम लेख्छन्, “प्रभावपरक समालोचनामा पनि रचनाको अन्तर तहसम्म पुगेर कृतिको कुरो मात्र होइन चुरो ठम्याउने दधिराज सुवेदीको समालोचकीय विशेषता र स्रष्टा एवम् उसका सिर्जनालाई अभिमूल्यन र अवमूल्यनको कराहीमा नपकाएर तटस्थ विवेचना गर्ने उहाँका समीक्षकीय गुण पनि मलाई राम्रो लाग्छ ।”
पुस्तकलाई पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले प्रकाशनमा ल्याएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।