साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई लेखक बाबुराम भुसालको गैरआख्यानात्क कृति “अभ्यास” प्राप्त भएकाे छ ।
२ सय ४८ पृष्ठमा आबद्ध यस पुस्तकलाई ‘अभ्यासको परिचय’, ‘अभ्यासको पर्याप्तता’ र ’अभ्यासको उपाय’ गरी तीन वटा शीर्षकमा विभक्त गराइएको छ । पुस्तकमा जीवन र जगतलाई बदल्न सकिने सरल उपायहरू प्रस्तुत छन् ।
पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “जीवन र जगतलाई हेर्ने दृष्टि मात्र दिनु यस पुस्तकको उद्देश्य किमार्थ होइन । यस पुस्तकलाई हामी सबैले आफ्नो जीवन र जगत् बदल्ने औजारको रूपमा उपयोग गर्यौं भने मात्र यस पुस्तकका औचित्य हुनेछ ।”
“मैले प्राकृतिक प्रघटनाहरूलाई मात्र होइन, समाजलाई पनि विज्ञानको आँखाबाट हेर्न खोजेँ । मूल रूपमा समाज आफैँमा एक प्रयोगशाला रहेछ । हरेक मान्छेहरू प्रयोगशालाका निम्ति चरहरू रहेछन् । उनीहरूबाट अभिव्यक्त हुने कार्य र भोगाइलाई हेर्नु प्रयोगशाला परीक्षणको एक प्रक्रिया हुँदो रहेछ । मान्छेबाट अभिव्यक्त भएका कार्य र भोगाइहरूलाई नै प्रत्यक्ष अवलोकन गरेर ती कार्य र भोगाइलाई संचालित गर्ने मूल तत्वको खोजी गर्ने प्रयत्न मैले यु पुस्तकमा गरेको छु ।” लेखकीयमा बाबुरामा भुसाल लेख्छन्, “मेरो आत्मबोधलाई पुस्तकीय स्वरूप दिने क्रममा यसअघि प्रतिपादित भइसकेका सिद्धान्तहरू, विचारहरू, विधिहरू, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय नीति नियमहरू, प्रयासहरू तथा यसअघि भएका अनुसन्धान निष्कर्षहरूलाई पुनरावलोकन गर्नुपर्ने सामान्य परम्परागत तरिका बारे मलाई अवगत नभएको होइन । पुस्तकहरू र काजगातहरूमा के लेखिएको छ भन्ने आधारमा नभई मानिसहरूले गर्दै आएका कार्यहरू र उनका भोगाइहरूलाई मेरो आफ्नै अनुभव, अवलोकन र आत्मबोधको आधारमा यस पुस्तकमा समीक्षाको विषयवस्तु बनाएको छु । त्यसो त मैले आत्मबोध गरेका निष्कर्षहरूलाई पुष्टि गर्न यस अघि प्रतिपादित केही वैज्ञानिक सिद्धान्तहरूलाई समेत मैले आधारको रूपमा लिएको छु, जुन मैले यस पुस्तकमा उल्लेख गरेको पनि छु । मानव प्राणीको उद्विकासको विभिन्न कालखण्डमा यस प्राणीले गर्दै आएका कार्यहरू तथा उपलब्धीहरूको विषयमा र उसको शारीरिक स्वरूपमा देखिँदै आएको परिवर्तनको विषयमा वैज्ञानिकले लामो अनुसन्धान गरी तयार पारेका सूचनाहरूलाई पनि मैले यस पुस्तकमा आधार लिएको छु ।”
लेखक स्वयम् पुस्तकलाई बजारमा ल्याएका हुन् । पुस्तकको मूल्य ५ सय ४८ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।