साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई प्रतिभाशाली  वहुविधाव्यक्तित्व चन्द्रकान्त आचार्यकृत विश्लेषणात्मक पुस्तक “शान्ति र स्वतन्त्रता” प्राप्त भएकाे छ । यो पुस्तक आजभन्दा दुई हजार वर्ष अघिको मानव सभ्यताको क्रममा दास युगको व्यथासँग सम्बन्धित छ ।

पुस्तकलाई ४ भागमा विभाजित गरिएको छ । यसमा १. युद्ध र शान्ति — ४ वटा खण्डसहित उपसंहार र समीक्षा, २. वैशाली नगरवधू ¬— अम्बपाली र समीक्षा, ३. आदि विद्रोही — स्पार्टकस र विद्रोह, वारिनिया र समीक्षा र ४. उपसंहार हरूलाई १ सय ९२ पृष्ठमा सम्माहित गरिएको छ ।

शान्ति र स्वतन्त्रता

शान्ति र स्वतन्त्रता

पछिल्लो पृष्ठमा लेखिएको छ, “सन् १८१२ जून १३ मा नेपोलियनको नेतृत्वको सेना नाइमन नदी पार गरेर रुसको सीमानाभित्र पस्यो भने यता त्यही १३ जूनको राती विल्नुसमा सुन्दरीहरूसँग नृत्य गरिरहेका सम्राट् अलेक्सान्द्रले बल्ल युद्ध सुरु भएको कुरा थाहा पाए ।…

कहिलेकाहीँ अम्बपाली आफ्नो अनुपम सुन्दरतामा ध्यान दिन्थिन् र आफ्नो अद्भुत रूपलाई तलाउको पानीमा देख्ता आफै दङ्ग पर्थिन् । त्यस बेला वासना र उमङ्ग उनको शरीर र मनभित्र पसेको अनुभव हुन्थ्यो र उनी मन्द मुस्कानकासाथ मनमनै भन्थिन्, ‘ठीक छ, यसै रूपको ज्वालामा म सबैलाई भस्म गरिदिन्छु । कसैले छुन नसक्ने यस रूपलाई नै अछुत नै राख्नेछु ।…

बारिनियासँग कुरा गर्दा उनले भनेका छन्, ‘एक पटक मिल्ने यस जीवनमा समयमा नै राम्रा सपना देख्नुपर्ने रहेछ, तर हेर यो जीवन कति छोटो, कति बेमतलब र कति निरुद्देश्य ? यो त एक क्षण त रहेछ, मान्छे जन्मन्छ अनि मर्छ ।’”…

“युद्ध कुन ? शान्ति कुन ? युद्ध किन ? शान्ति किन ? धेरै प्रश्न उब्जन्छन् । रामायण महाभारत, इलियड वा ओडेसी लडाईं प्रथम र दोस्रो विश्वयुद्ध, शीत युद्धहरू । युद्ध मान्छेको अहंकार, स्वार्थ, हठ…। आदिम काल जिजीविषा नै थियो होला । यसपछि व्यक्तिको स्वार्थीप्रवृत्ति कर्ता महत्त्वाकाङ्क्षा यिनै सन्दर्भले मानव देवता हुनको बदला दानव बनेको छ ।” भूमिकामा खेम कोइराला बन्धु लेख्छन्, “

– सन् १८१२ को नेपोलियनविरोधी रुसी जनताको देशभक्तिपूर्ण कथा हो ‘युद्ध र शान्ति’ । आठसयमा बढी पात्र भएको यस उपन्यासमा रुसी जनताको एकजुटले नेपोलियन हताश । त्यत्रो ठूलो मुठभेडको महायुद्धमा जनताको शान्तिपूर्ण बहिष्कारको कत्रो ठूलो शक्ति ? रामले, पाण्डवले शान्तिप्रस्ताव गरेको पढेकै हो तर प्रतिपक्षीले न मानेपछि युद्ध भएका हुन् । युद्धका उन्मादहरू ठीक हुँदैनन् भन्ने कुरा रुसी जनताले प्रमाणित गरे ।

– भारतमा महात्मा गान्धीको स्वतन्त्रता सङ्ग्राममा सत्याग्रह, अहिंसा आदि कुरा हेर्यौ । मार्टिन लुथर, नेल्शन मण्डेलाको कुरा पनि अनुभव भएकै छन्। नेपाल बुद्ध जन्मभूमि र शान्तिक्षेत्र हाम्रो नीति । त्यसैले शान्तिका क्षेत्रमा टोल्स्टोयका पुस्तकको विश्लेषण हुनु आवश्यक छ ।”

नेपाल विश्व शान्ति विकास समाजबाट प्रकाशित पुस्तकको मूल्य ४ सय रुपियाँ रहेको छ ।