साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई साहित्यिक पत्रकार तथा रेडियोकर्मी राजेश खनालकृत संस्मरणसंग्रह “घुरको धुवाँ” प्राप्त भएको छ ।

१ सय ४० पृष्ठमा फैलिएको यस संग्रहमा ‘डिबियाको उज्यालोमा पुस्तक’, ‘सीता बिँडी खाइरहेकी छिन् !’, ‘सुन्दर मामाका सुन्दर स्मृति !’, ‘न्यारोगेज नोस्टाल्जिया !’, ‘तिर्सनामा सुकेको रोटी’, ‘विस्मृतिको गर्तमा छोपिएको स्मृति’, ‘घुरको धुवाँ’, ‘अन्धडको टिकुला’, ‘त्यो शुक्रबारे ’लकडाउन’’, ‘भलुवाहीदेखि भलुवाहीसम्म’, ‘भोरहरवी भजनको शोले सनक’, ‘बाईजी नाचको झट्का’, ‘जन्मभूमिमा अन्तिम शिविर’, ‘तिर्न नसकेको त्यो पाँच रुपैयाँ’, ‘वानर बनेर उफ्रिँदा !’, ‘मुरही कचरीले थकान मार्दा’, ‘साथी हो, आज परोर पाकेको छ !’, ‘कुर्थी दालको बास्ना र साइँला मामा’  १८ थान निबन्ध समावेश छन् ।

“देशको भावनात्मक ऐक्यबद्धताको लागि एक-अर्काको परिस्थिति र संस्कृतिसित परिचय प्राप्त गर्नु, परस्पर अन्तर-सांस्कृतिक सम्बन्ध स्थापित गर्नु र एकअर्काका सांस्कृतिक घटकलाई सम्मान गर्नु आवश्यक छ । नेपालको अखण्डता र भावनात्मक एकतासम्बन्धी चेतनाको संवर्द्धनमा ’घुरको धुवाँ एउटा महत्त्वपूर्ण योगदान हो ।” भूमिकामा डा. राजेन्द्र विमल लेख्छन्, “यस कृतिमा ’पनपियाइ’, ’जुम’, ’डगहर’ जस्ता बग्रेल्ती प्रयुक्त मैथिली शब्दहरूले मधेसको सिङ्गो परिवेशलाई साकार पार्न सहयोग गरेका छन्, मधेसको माटोको सुगन्ध फिंजाएका छन्, नेपाली शब्दकोशमा ती शब्दहरूको प्रविष्टिको प्रच्छन्न प्रस्ताव अगाडि सारेका छन्, नेपाली भाषाको विकासमा नयाँ दृष्टि तथा नौलो आयाम थपेका छन् ।”

“अहो, यो कुरा मैले किन लेखिन हुँला – जुनै प्रसङ्ग पढ्यो, यस्तै लाग्छ । अनि आफैप्रति चुकचुकाउँदै राजेशजीप्रति ईर्ष्यालु हुन्छु । शायद मभित्रको यही भाव लेखकको सबैभन्दा ठूलो प्रभाव र सफलता हो ।” पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा धीरेन्द्र प्रमर्षि लेख्छन्, “संग्रहको प्रमुख वैशिष्ट्य यसको आञ्चलिकता हो । निबन्धहरूमा मिथिला-मधेशको सोच शैली, संवेदनाको सुन्दर समन्वय पाइन्छ । कुनै कुशल लोककलाकारले कोरेजस्तो – अल्हड र आकर्षक । कतिपय लेखकले आफ्ना सृजनालाई व्याप्ति दिन कनी-कनी आञ्चलिक बनाएको पनि देखिन्छ । तर राजेशजीको सृजनाको जग नै आञ्चलिकतामा ठडिएको छ । कृत्रिमताबाट सर्वधा मुक्त- शुद्ध, सात्विक, स्वाभाविक । साँच्चै भन्ने हो भने धेरैजसो मैथिली कृतिहरूमा समेत मिथिलाको जनजीवन र चिन्तनको यो यति गहन स्वत्व र स्वाद पाउन गाह्रो हुन्छ । यस अर्थमा यसलाई नेपाली ढाँचामा लेखिएको मैथिली कृति भन्दा पनि फरक पर्दैन ।”

प्रकाशकीयमा किरण थापा लेख्छन्, “पुस्तकको एउटा खण्डमा लेखकले रामलीला हेरिरहँदा बीचको मध्यान्तरमा मञ्चको पछाडि सीताको भूमिकामा रहेका पात्रले (जो वास्तवमा पुरुष हुन्छन्) बिडी खाइरहेको दृश्य देख्दा अचानक उनको बालसुलभ मन मस्तिष्क आफैंमा चकित र विस्मृत भएको र यसलाई ‘सीता बिँडी खाइरहेकी छिन्’ शीर्षकमा आत्मानुभूति हुने गरी बडो स्वाभाविक रूपमा प्रस्तुत गरेका छन् ।”

पुस्तकलाई कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले प्रकाशनमा ल्याएको हो र यसको मूल्य ३ सय रुपियाँ रहेको छ ।