इन्द्रेणी रंगको सपना – हिमाल ओसिरिस
लेखक हिमाल ओसिरिसको पुस्तक हाे ‘इन्द्रेणी रंगको सपना’ । हिमालले पुस्तकमा आफुले देखेको, भोगेको समाजको कुराहरुलाई पुस्तकमा समेटनुभएको छ ।
किन हो ?
ताराहरूका प्रकाशमान सहरसँग डिभोर्स गरेर आत्माहरू एक्लिएछन् ।
किन हो ?
हिमालका स्वच्छ प्रेमसँग डिभोर्स गरेर हृदयहरू एक्लिएछन् ।
किन हो ?
नदीका सुसाहटपनसँग डिभोर्स गरेर प्राणहरू एक्लिएछन् ।
किन हो ?
पवनका पदछापहरूसँग डिभोर्स गरेर विचारहरू एक्लिएछन् ।
किन हो ?
रंगविरंगका ऋतुहरूसँग डिभोर्स गरेर भावनाहरू एक्लिएछन् ।
किन हो ?
ज्वालामुखीका चन्चलतासँग डिभोर्स गरेर मनहरू एक्लिएछन् ।
किन हो ?
भूमिको न्यानोपनसँग डिभोर्स गरेर शरीरहरू पनि एक्लिएछन् ।
अनि एक्लिएका यी सब अजीव जीवहरू कसरी कसरी एकै स्थानमा भेला भएछन् । र उनीहरूकै शान्ति वार्ता अनि सम्झौता र सहमतिमा संसर्ग, समागम र संभोगद्वारा उनीहरू अनेकतामा बाँडिएका एक डिक्का भएछन् । र म्यूटेसन भएर थुप्रै थुप्रै अजङ्गका प्राणीहरूमा रूपान्तरित भएछन् ।
”यस संग्रहभित्रका रचनाहरू हामी मानिसकै कथाहरू, विचारहरू, भावनाहरू, अभिव्यक्तिहरू हुन् ।” पुस्तकमा हिमाल लेख्नुहुन्छ ”अनि रचनाभित्रका पात्रहरू यदि छन् भने उनीहरू पनि हाम्रै समाजभित्रका पात्रहरू हुन् । ती विभिन्न पात्रहरूलाई कल्पनाको धागोले बुनेर एउटा सुन्दर पोशाक यहाँ पुस्तकको रूपमा सजाएर राखेको छु । ”यस संग्रहभित्रका रचनाहरू कुनै कथा जस्तो, कुनै निबन्ध जस्तो कुनै नियात्रा जस्तो कुनै आत्मकथा जस्तो, कुनै फेरी टेल जस्तो अनि कुनै अन्तरक्रिया जस्तो लाग्न सक्छ । जुनै विधा जस्तो भएपनि आखिर सब विभिन्न पात्रका एउटै भावनाका उपजहरू हुन् । किनकि हरेक आलेखको जन्म हुनु भनेको वास्तवमा भइसकेको, भइरहेको या हुन गइरहेको कुनै पनि घटनाहरूप्रति भावयुक्त अभिव्यक्तिहरू अक्षरहरूमा डिफ्रेगमेन्टिङ्ग हुनु हो । प्रत्येक मानिसका अभिव्यक्तिहरूका सृजना प्राय प्राय भड्किएको भावना, मड्किएको मन, चर्किएको चेतना, हराएको हृदय र रमाएको रहरहरूका समूहगत इम्प्याक्टबाट हुने गर्दछ । अब यस सौगातमय संगालोलाई पाठकहरूका हातमा थमाएको छु । आशा छ । मनैदेखि रूचाइदिनुहुनेछ । ह्याप्पी रिडिङ्ग !!!
पुस्तकलाई लेखक स्वयंमले प्रकाशन गर्नुभएको छ । एक सय पृष्ठमा फैलिएको पुस्तकको मूल्य चार सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
३१ जेष्ठ २०८३, आईतवार 









