क्वालालम्पुर । नेपाली लोकरक ब्यान्ड नेपथ्यले मलेसियाको राजधानी क्वालालम्पुरमा भव्य सांगीतिक प्रस्तुति दिएको छ । आफ्नो साढे तीन दशक लामो सांगीतिक यात्रामा नेपथ्य पहिलोपटक मलेसियामा प्रस्तुत भएको हो ।

पर्यटकीय क्षेत्र बुकित बिन्ताङस्थित ‘जेप हल’मा आइतबार साँझ ठीक ७ बजे ‘कोशीको पानी’ गीतबाट कन्सर्ट सुरु गरिएको थियो । त्यसपछि एकपछि अर्को लोकप्रिय गीत प्रस्तुत गर्दै ब्यान्डले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।

नेपथ्यका प्रमुख गायक अमृत गुरुङले प्रस्तुति बीच–बीचमा दर्शकसँग संवाद गर्दै देशप्रेमका सन्देशसमेत दिनुभएकाे थियाे । विभिन्न स्थानमा गीत सङ्कलनका क्रममा आफूले नेपाललाई नजिकबाट चिन्ने अवसर पाएको उल्लेख गर्दै उहाँले स्वदेश पुगेका बेला ती स्थानहरू भ्रमण गर्न दर्शकलाई आह्वान गर्नुभयाे ।

कन्सर्टमा सहभागी दर्शकमध्ये सिङ्गापुरबाट आएका रेस्टुरेन्ट व्यवसायी पदम थापाले नेपाली संस्कृति समेटिएको संगीतसँग झुम्न पाउँदा अत्यन्त खुसी लागेको बताउनुभयाे । “नेपथ्यको स्वाद लिनकै निम्ति टाढाबाट आएको हुँ,” उहाँले भन्नुभयाे, “राम्रो तयारी र उत्कृष्ट व्यवस्थापनले कन्सर्टलाई अझ प्रभावकारी बनाएको छ ।”

पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य बन्दै गएको मलेसियामा नेपालीहरूको उपस्थिति उल्लेखनीय रूपमा बढ्दै गएको छ । यसै सन्दर्भमा नेपथ्यका लागि मलेसिया २०औँ देश र क्वालालम्पुर ५८औँ विदेशी सहर बनेको छ जहाँ ब्यान्डले प्रस्तुति दिएको हो ।

कन्सर्टमा मलेसियास्थित नेपाली दूतावासकी उपप्रमुख (चार्ज डि अफेयर्स) मुदिता बज्राचार्यको पनि उपस्थिति रहेको थियो । उहाँले कन्सर्ट अनुभवलाई अत्यन्त भावनात्मक र गर्विलो भन्दै नेपाली शब्द र धुनहरूले पुराना सम्झना ताजा गराएको बताउनुभयाे ।

त्यस्तै, क्वालालम्पुरस्थित लिङ्कन विश्वविद्यालयमा अध्ययनरत सिमरन सेढाईंले अमृत गुरुङलाई नजिकबाट सुन्न पाएको अनुभवलाई “सपनाजस्तो” भएको बताउनुभयाे । बाल्यकालदेखि मन पराएको ‘यो जिन्दगानी’ गीत प्रत्यक्ष सुन्दा भावुक भएको उहाँले साझा गर्नुभयाे ।

दुई घण्टा लामो कन्सर्टको समापन ‘रातो र चन्द्रसुर्जे’ गीतबाट गरिएको थियो । कार्यक्रम आयोजना गरिएको ‘जेप क्वालालम्पुर’ अन्तर्राष्ट्रिय स्तरको रंगमञ्च हो, जसको विस्तार जापानस्थित ‘जेप समूह’ले गरेको हो । सो समूहका निर्देशक सिनिचिरो होन्डाले नेपथ्यको प्रस्तुति नेपाली मौलिकता र वैश्विक स्वादको उत्कृष्ट संयोजन भएको प्रतिक्रिया दिनुभयाे ।

स्थानीय आयोजक ‘आर्बिटरी इभेन्ट्स’का विपिन नकर्मीले पनि कन्सर्टप्रति सन्तुष्टि व्यक्त गर्दै दर्शकले मिठो अनुभव लिएर फर्किएको बताउनुभयाे ।

कन्सर्टमा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनुभएकाे थियाे ।

मलेसियामा आयोजित यो एक मात्र कन्सर्ट सम्पन्न गरी नेपथ्य टोली स्वदेश फर्किएको छ ।