बुटवल । लोकप्रिय नेपाली लोकरक ब्याण्ड नेपथ्यले शनिबार साँझ बुटवलमा दर्शकको भव्य उपस्थितिमा सानदार प्रस्तुति दिएको छ। देशव्यापी यात्रामा निस्किएको नेपथ्यको यो दोस्रो कन्सर्ट हो।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित कन्सर्टमा मुख्य गायक अमृत गुरुङले गीत मात्र प्रस्तुत गर्नुभएन, आसन्न निर्वाचनमा सहभागिताका लागि अपिल गर्दै भन्नुभयाे ”नेपाली क्रिकेट टोलीको विश्वकप यात्राको सफलताकाे शुभकामनासमेत”। कन्सर्टको सुरुदेखि अन्त्यसम्म दर्शकले तालमा ताल मिलाउँदै अमृतलाई साथ दिनुभएकाे थियाे ।
कन्सर्टका लागि जारी गरिएका साढे आठ हजार टिकट कार्यक्रम सुरु हुनुअघि नै बिक्री भइसकेकाे थियाे । कन्सर्टको ढोका खुलेको केही समयमै सम्मेलन केन्द्र परिसर ‘मेला’ जस्तै बनेको थियो।
दर्शकदीर्घामा जातीय पहिचान, आधुनिक पहिरन र उमङ्गका विविध दृश्य देखिन्थे। तीमध्ये ह्विलचेयरमा आएका दर्शक वसन्त न्यौपानेलाई स्वयंसेवकहरूले सुरक्षित स्थानमा पुर्याउनुभएकाे थियाे । ‘गीत मात्रै होइन, व्यवस्थापनका कारण पनि नेपथ्य विशेष लाग्छ,’ २२ वर्षीय वसन्तले भन्नुभयाे । पाल्पाबाट तिलोत्तमा बसाइँ सर्नुभएकाे उहाँले दुई वर्षअघि स्पाइनल इन्जुरी भएपछि ह्विलचेयर प्रयोग गर्नुपरेको सुनाउँदै नेपथ्यप्रतिको मोहले कन्सर्टसम्म ल्याएको बताउनुभयाे ।
दर्शकदीर्घाको अर्को छेउमा विजया पाण्डे एक्लै रमाउँदै नाचिरहनुभएकाे थियाे । मणिग्रामकी फर्निचर व्यवसायी पाण्डेले आफू दुई दशकदेखि नेपथ्यको प्रशंसक रहेको बताउँदै सन् २०१५ मा जापानको टोकियोमा पनि नेपथ्यको कन्सर्ट हेरेको स्मरण गर्नुभयाे ।
‘हो रामा रामा’ गीतबाट सुरु भएको कन्सर्टमा एकपछि अर्को गर्दै चर्चित गीतहरू प्रस्तुत भए। यसै क्रममा अमृत गुरुङले कर्णालीको ऐतिहासिक वैभव स्मरण गर्दै त्यस भेगलाई राष्ट्र निर्माणको मूल प्रवाहमा जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयाे । त्यसपछि लोकभाका ‘टप्पा’ मा आधारित गीत ‘कर्नालीका छाइला’ प्रस्तुत गरिएको थियो।
कार्यक्रमको मध्य भागसम्म पनि दर्शक प्रवेशक्रम जारी थियो। परिसरभित्र कफी स्टल सञ्चालन गरिरहेकी लक्ष्मी विश्वकर्मा दर्शकको भीडका कारण व्यस्त देखिन्थिन्। ‘पाएदेखि म पनि कन्सर्ट हेर्न जान्थेँ,’ उहाँले भन्नुभयाे, ‘आज कामले फुर्सद दिएन।’
दर्शकहरू हातमा झन्डा, अनुहारमा रङ दलेर तथा अमृत गुरुङका तस्बिर र स्केच बोकेर उत्साहपूर्वक सहभागी हुनुभएकाे थियाे। आफूले बनाएको स्केच बोकेर नाचिरहेका दर्शकहरू मैदानका विभिन्न स्थानमा देखिन्थे।
कार्यक्रम सम्पन्न भएपछि स्थानीय आयोजक ब्याकअप इभेन्ट्सका सन्तोष टन्डनले बुटवलमा नेपथ्यको कन्सर्ट सधैँ दर्शकले भरिने गरेको उल्लेख गर्दै प्रस्तुति र व्यवस्थापनका कारण सबै सन्तुष्ट भएर फर्किएको बताउनुभयाे ।
शनिबारको कन्सर्टमा मञ्चमा अमृत गुरुङलाई ध्रुव लामा (ड्रम), सुबिन शाक्य (बेस गितार), नीरज गुरुङ (गितार), शान्ति रायमाझी (मादल) र दिनेशराज रेग्मी (किबोर्ड)ले साथ दिनुभएकाे थियाे ।
बुटवलपछि नेपथ्य टोली आइतबार बिहान नारायणगढ प्रस्थान गरेको छ। त्यहाँ माघ २७ गते ‘क्याम्पा चौर’मा प्रस्तुति हुनेछ। त्यसपछि शृङ्खलाको अन्तिम कन्सर्टका लागि ब्याण्ड बन्दीपुर पुग्नेछ, जहाँ फागुन २ गते (भ्यालेन्टाइन्स डे) टुँडिखेलमा नेपथ्यको प्रस्तुति रहनेछ।
दर्शक सुविधाका लागि सबै कन्सर्टका टिकट नेपथ्यको आधिकारिक वेबसाइटमार्फत अनलाइन खरिद गर्न सकिने व्यवस्था गरिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ चैत्र २०८२, सोमबार 










