काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले दुई दशक लामो प्रतीक्षापछि आफ्नो नयाँ गीत ‘कर्णालीका छाइला’ सार्वजनिक गरेको छ।
गीतकार तथा गायक अमृत गुरुङले कर्णालीको सुसेली र सुस्केरा बोकेको यस गीतलाई विस्तृत अनुसन्धान र कर्णाली क्षेत्रका धेरै भ्रमण पश्चात् तयार पार्नुभएको हो । राजधानीमा आयोजित एक कार्यक्रममा गीतको भिडियोसहित सार्वजनिक गरिएको हो।
गीतको सुरुवाती अंश दुई दशक अघि नै नेपथ्यको वृत्तचित्र ‘भेँडाको ऊनजस्तो’ मा समावेश भइसकेको थियो। वृत्तचित्रमा गायक अमृत गुरुङ र गीतका संकलक नारायण बाग्लेले यस गीतको अंश गुनगुनाएको दृश्य पनि देखाइएको थियो। सल्यान र आसपासका जिल्लामा प्रचलित ‘टप्पा’ लोकधुनमा आधारित यो गीतमा अमृतले आफ्नै मौलिक शैली समावेश गर्नुभएको छ । उहाँले सन् २००१ मा डोल्पाबाट प्राप्त मुखडा र सन् २००८ मा रेकर्ड गरेर चित्त नबुझेपछि राखेको गीतलाई पछि गएर पूर्णता दिनुभएको हो । पोहोर सल्यानका ग्रामीण सांगीतिक कार्यक्रममा सहभागी भएपछि उहाँ यस गीतलाई पूर्णता दिन मानसिक रुपमा तयार भएको बताउनुभएको छ।
‘कर्णालीका छाइला’ को म्युजिक भिडियो श्रव्यदृश्य सर्जक भूषण दाहालले निर्देशन गर्नुभएको छ। दाहालले दुई दशक अघि नेपथ्यको ‘सा कर्णाली’ को भिडियो पनि निर्देशन गर्नुभएको थियो । नयाँ प्रविधि र युवा पुस्ताका सहकर्मीको सहयोगले यस पटकको चुनौती सहजै पार लगाएको उहाँले बताउनुभएको छ । भिडियो हाललाई शुल्क तिरेर मात्र हेर्न सकिनेछ। नेपालमा १० रुपैयाँ र विदेशमा १ अमेरिकी डलर तिरेर नेपथ्यको वेबसाइट मार्फत भिडियो हेर्न सकिनेछ। साता दिनपछि भने यो युट्युबमा निःशुल्क उपलब्ध हुने नेपालयका किरणकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । नेपथ्य अमेरिका भ्रमणमा रहेकाले त्यहीँबाट युट्युब रिलिज गर्ने योजना रहेको उहाँले बताउनुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










