ब्रिसबेन । गएको साता समुद्री आँधी ‘अलफ्रेड’ बाट प्रभावित अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यले अझै पूर्ण रुपमा तङ्ग्रिन पाएको छैन। तर, शुक्रबार ब्रिसबेनमा आयोजित नेपथ्यको कन्सर्टमा यसको कुनै छाया देखिएन। चक्रवातको पीडा बिर्सेर दर्शकहरू नेपथ्यको संगीतमा झुम्नुभयो।

क्यानबेरा र पर्थमा दर्शकहरूसँग रमाइलो क्षण बिताएपछि नेपथ्य ब्यान्ड अस्ट्रेलियाको तेस्रो ठूलो शहर ब्रिसबेन पुगेको थियो। त्यहाँको टिभोली हलमा नेपथ्यको प्रस्तुति अघिल्ला शहरहरू जत्तिकै भव्य थियो। चक्रवातका कारण तीन दिनसम्म ब्रिसबेनका अधिकांश भागमा बिजुली बत्ती गएको थियो। स्थानीय नेपालीहरूले पानीको जोहो गरेर संकटको सामना गरेको अनुभव सुनाउनुभयो । सहरमा अझै पनि बाढीको पहेँलो लेदो र नदीमा बगिरहेका रुखका मुढाहरू देखिन्छन्। सिटी काउन्सिलले मंगलबारदेखि मात्र सार्वजनिक स्थलहरू क्रमशः खुला गर्दै लैजाने सूचना जारी गरेको छ। खेलकुदका गतिविधिहरू अझै सुरु भइसकेका छैनन्।

”दुई–तीन दिन अगाडि मात्रै तोकिएको भए कन्सर्ट स्थगित गर्नुपर्ने थियो। यति धेरै दर्शक आउनु आफैँमा सुखद हो,” सात वर्षदेखि ब्रिसबेनमा बस्दै आएका अमित अर्यालले कन्सर्ट चलिरहेकै बेला बताउनुभयो ।

बेलुकी ९ बजे सुरु भएको कन्सर्टको डेढ घण्टा अगाडिदेखि नै हल अगाडि दर्शकको लाम लागेको थियो। अन्यत्र जस्तै, कन्सर्ट ‘कोशीको पानी’ बाट सुरु भयो । गीतहरूको बीचमा आफ्नो भनाइ राख्दै मुख्य गायक अमृत गुरुङले जस्तोसुकै संकटलाई मिलेर सामना गर्ने नेपालीको बानी विदेशमा पनि कायम राख्न र मानवता तथा सहयोगी भावना विकास गर्न दर्शकलाई अनुरोध गर्नुभयो । ‘छेक्यो छेक्यो’ गीत पछि उहाँले होलीको शुभकामना बाँड्नुभयो र ‘आँगनैभरि’ गीत गाउनुभयो ।

४६ वर्षीय विकास चापागाईँ, जो व्हीलचेयरमा हुनुहुन्थ्यो, ‘यो जिन्दगानी’ गीतमा लट्ठिनुभएको थियो । १३ वर्षअघि अस्ट्रेलियाली सरकारले उच्च शिक्षाको अवसर दिएको चापागाईँ मस्कुलर डिस्ट्रोफी रोगबाट पीडित हुनुहुन्छ । उहाँले नेपथ्यको प्रस्तुति अन्तर्राष्ट्रिय स्तरको महसुस हुने बताउनुभयो । उहाँले ब्रिसबेन आएदेखि नेपथ्यको कुनै पनि कन्सर्ट छुटाउन नसकेको बताउनुभयो ।

‘यो जिन्दगानी’ गीतपछि अमृतले हालै दिवंगत साहित्यकार लीलबहादुर क्षेत्रीलाई सम्झनुभयो र गीत उहाँलाई समर्पित गर्नुभयो। दर्शकहरूले ताली बजाएर सम्मान जनाउनुभयो ।

स्थानीय आयोजक सन्तोष कुँवरले कार्यक्रम अनुमानभन्दा राम्रोसँग सम्पन्न भएको बताउनुभयो । नेपालयका किरणकृष्ण श्रेष्ठले प्रतिकूल परिस्थितिमा पनि दर्शकको उत्साहजनक सहभागिता देखेर खुसी लागेको बताउनुभयो । उहाँले ब्रिसबेनको अवस्थाबारे चिन्ता व्यक्त गर्नेहरूलाई पनि सम्झिनुभयो ।

नेपथ्य ब्यान्ड अब तास्मानियाको होबार्ट, एडिलेड, मेलबर्न हुँदै सिड्नी पुग्नुहुनेछ । सिड्नीको कन्सर्टका लागि टिकट ‘सोल्ड आउट’ भएपछि अर्को शो थपिएको छ।