काठमाडौं । चर्चित नेपाली ब्यान्ड नेपथ्यले नारायणगढको क्याम्पा चौरमा भव्य सांगीतिक प्रस्तुति दिएको छ। ‘हो रामा रामा’ गीतबाट सुरु गरिएको कन्सर्टमा धुवाँ, रङ्गीबिरङ्गी बत्ती र दृश्यात्मक प्रभावहरूको प्रयोगले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। दर्शकको चर्को उत्साह र उपस्थितिले मैदान भरिभराउ बनेको थियो।
एक दशक पुरानो ‘हो रामा रामा’ पछि ब्यान्डले ‘भेडाको ऊन’ र झन्डै साढे तीन दशक पुरानो ‘छेक्यो छेक्यो’ प्रस्तुत गर्दा दर्शक झनै उत्साहित बनेकाे थियाे । कार्यक्रम सुरु हुँदासम्म मैदानका अधिकांश स्थान भरिएका थिए भने टिकट सकिएपछि बाहिरबाट फर्कने दर्शकको लर्कोसमेत देखिएको थियो।
स्थानीय आयोजक ‘नेपाल डायरिज’का बिनेश थापाका अनुसार कन्सर्ट हेर्न करिब आठ हजार दर्शक उपस्थित भएकाे थियाे । क्षमताभन्दा बढी दर्शक भएपछि अनलाइन टिकट बिक्रीसमेत रोक्नुपरेको उहाँले बताउनुभयाे ।
कन्सर्टमा विभिन्न उमेर समूहका दर्शकको सहभागिता देखिएको थियो। ९० वर्षीया ऋद्धिकुमारी केसीदेखि युवापुस्तासम्म कार्यक्रममा सहभागी बन्नुभएकाे थियाे । साथै, विदेशी दर्शकहरूको उपस्थिति पनि उल्लेख्य थियो।
कार्यक्रममा गायक अमृत गुरुङले ‘लामपाते सुरती’, ‘चरी मर्यो’, ‘यो जिन्दगानी’, ‘गाउँ–गाउँबाट उठ’, ‘रेशम’ र ‘तालको पानी’ लगायत चर्चित गीतहरू प्रस्तुत गर्नुभएकाे थियाे । उहाँले प्रस्तुतीबीच सामाजिक सन्देश दिँदै स्वदेश चिन्ने अवसर नछुटाउन, शिक्षाको पहुँच विस्तार गर्न र योग्य नेतृत्व चयन गर्न आग्रहसमेत गर्नुभएकाे थियाे।
कार्यक्रममा अमृत गुरुङलाई ड्रममा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनुभएकाे थियाे ।
नेपथ्यले आफ्नो सांगीतिक शृङ्खलाअन्तर्गत अन्तिम प्रस्तुति बन्दीपुरमा दिने तयारी गरेको छ। फागुन २ गते बन्दीपुर टुँडिखेलमा हुने कन्सर्टका लागि अनलाइन टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ चैत्र २०८२, सोमबार 










