जीवनको अनमोल यात्रा – मथुरा प्रधान श्रेष्ठ
गायीका मथुरा प्रधान श्रेष्ठको जीवनी हो ‘जीवनको अनमोल यात्रा’ । पुस्तकमा मथुराले आफ्नो सांगीतिक जीवनको आरोहअवरोहलाई समेटनु भएको छ ।
”जीवनीलाई पढ्ने आधार दुइटा हो, स्मृति र सम्बन्ध ।” पुस्तकमा प्रकाश सायमी लेख्नुहुन्छ, ”सम्बन्धले इतिहाससित हामीलाई स्मृतिको आधारमा जोड्छ, पछि वा धेरै पछि कालान्तरमा लेखियो भने त्यो आख्यान हुन जानेछ वा कथेतर साहित्य हुन जानेछ । समयमै, पात्र जीवित भएकै अवस्थामा लेखिएको कृतिले उच्चाकर्षण राख्नेछ, साहित्यमा पनि जीवनमा पनि । त्यस्तै एउटा कृति बन्न सफल भएको छ, नेपाली सुगम सङ्गीतकी वाणीपुत्री मथुरा प्रधान श्रेष्ठजीको यो आत्मकथा । जसले नेपाल साहित्य दर्पणमा एउटा माइलखुट्टीको रुपमा आफ्नो इतिहास कायम राख्ने कुरा सुनिश्चित छ तर यसको सबल पक्ष उहाँ स्वयंको समुपस्थितिमा यो सत्कार्य भइरहेको हुँदा यसले दीर्घकालसम्म प्रभाव पार्ने एक अमिट छाप छोड्नेछ भन्ने कुरामा म पूर्णतः विश्वस्त छु । गायिका मथुराजीले आफ्नो जीवन, सङ्घर्ष र सफलता असफलतालाई एक चुलीमा हेर्नुभएको छ । अनुभव र अनुभूति यसमा नहुने त कुरै भएन तर त्यसबाहेक यसमा काल चिन्तन, सङ्गीतको किस्सा अनि समयको तस्बिर छरपस्ट देखिएको छ जसलाई सुधीजनले एक नाम दिनेछन् वा नामसँगै एक सम्मान दिनेछन् त्यस कुरामा म शतप्रतिशत आशावादी छु ।”
त्यसैगरी पुस्तकमा लेखक मथुरा प्रधान लेख्नुहुन्छ, ”मानिसको जीवन भोगाइको कथा व्यक्त गरिएन भने अनमोल भोगाइहरू त्यसै बिलाएर जान्छन् । मैले भोगेको जीवनको कथा कहाँ काम लाग्छ थाहा छैन, तर जन्म र मृत्युबिचको समय मानिसको सबैभन्दा ठुलो सम्पत्ति हो भन्ने मलाई लाग्छ । त्यसकारण भोगाइहरूलाई शब्दमा उतार्ने प्रयत्न गरें । यो किताबले हाम्रो पुर्खाको इतिहासलाई मात्र होइन नेपाली समाजको समयलाई पनि कैद गरेको छ । हाम्रो परिवारबाट मैले जीवनी लेखनमा सुरुवात गरेकी छु । यहाँ परिवारका सबै मान्यजन र स्नेहीजनको सम्बोधन हुन सकेको छैन । त्यसप्रति क्षमाप्रार्थी छु ।”
पुस्तकलाई पाइन प्रकाशनले बजारमा ल्याएको हो । दुई सय ३० पृष्ठमा फैलिएको पुस्तकको मूल्य चार सय ९९ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










