साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई बेलायतमा बसेर नेपाली भाषा र साहित्यमा प्रतिबद्ध लेखक रामप्रसाद घिमिरेद्वारा लिखित आख्यान कृति “आरक्षणले मौलाएको विकृति” प्राप्त भएकाे छ ।

३ सय १८ पृष्ठको बेलायति परिवेशमा आधारित यो उपन्यास १६ भागमा संयोजित छ ।

भूमिकामा डा. दुबसु क्षेत्री लेख्छन्, “उपन्यासकार घिमिरेको भाषा सरल, सहज र शिष्ट छ । घिमिरेका पात्रहरूका संवादहरू पनि सरल, स्पष्ट र स्वाभाविक छन् । उनका वाक्यविन्यासमा पनि सरलता र सहजता झल्किएको पाइन्छ । परिवेश र पात्रको चरित्रमा समेत जीवन्तता ल्याउन उपन्यासकार घिमिरे सफल देखिन्छन् । घटना संयोजनमा पनि घिमिरे सावधान देखिएका छन् । चरित्राङ्कनको सघनता र कथानकमा कलात्मक सौन्दर्यको लेपन लगाउन घिमिरेले ध्यान दिएका छन्  त्यसैले यो उपन्यास भावात्मक लहरमा अविरल बहेको छ ।”

डा. त्रिलोचन उप्रेती लेख्छन्, “किताब पढ्न थालेपछि ‘अब के हुन्छ ?’ भन्ने उत्सुकताले अँठ्याउँछ । उपन्यास नसकिएसम्म यसैमा डुबेर मन आनन्दले रमाइरहन्छ । यस उपन्यासका पात्र र तिनका प्रवृत्तिसँग तुलना गर्दा पूर्वीय समाजको संस्कृति, परिवारको सामीप्य, समर्पण भाव, दुःखसुखमा परिवारको साथ, सन्तानमाथि बाबुआमा, हजुरबा, हजुरआमाको माया र वात्सल्य तथा वृद्धकालमा छोराछोरी र नाति-नातिनाबाट प्राप्त सम्मान र सेवाको संस्कारको महत्त्व अझ खुलेर आउँछ ।”

डा. बच्चुकैलास कैनी लेख्छन्, “बेलायती समाजको बनावट र परिवेशलाई कोमल चरिकाले केलाउँदै चाखलाग्दो व्याख्या गरिएको हुनाले बेलायती समाज बुझ्न नसकेको व्यक्तिले समेत सहज रूपमा उपन्यास पढ्न र बुझ्न सक्नेछन् र फरक बेलायत महसुस गर्नेछन् ।”

नन्दकुमारी प्रतिष्ठानले बजारमा ल्याएको यस पुस्तकको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।