साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई पुस्तकालयकर्मी भोलाकुमार श्रेष्ठकृत पुस्तक “पुस्तकालयसँगको जीवन यात्रा” प्राप्त भएकाे छ ।

एक लाइब्रेरियनको आत्मवृत्तान्तमा आधारित यस पुस्तकले नेपालको पुस्तक-संस्कृतिबारे पर्याप्त ज्ञान प्रस्तुत गरेको छ ।

कुन देशमा कस्ता पुस्तकालय छन् र त्यसबाट नेपालमा के सुधार गर्न सकिन्छ भन्ने भ्रमणको उद्देश्य बोकेर लेखक विभिन्न देशको यात्रा गरेका छन् । संसारको सबभन्दा ठूलो पुस्तकालय लाइब्रेरी अफ कङ्ग्रेस अर्थात् अमेरिकाको राष्ट्रिय पुस्तकालयसम्म पाइला टेक्न पाउनु एक लाइब्रेरियनको सपना पूरा भएको हो भनी लेखकले उल्लेख गरेका छन् ।
लेखक लेख्छन्, “त्यो समयमा पुस्तकालय पेसालाई हेयको दृष्टिकोणले हेरिन्थ्यो । हेपिएको पेसा थियो । पढेलेखेका मानिसहरूमा समेत सकारात्मक भावना थिएन । आखिर अन्तरमनले भन्यो तिमीले यो हेपिएको पेसालाई नै जीवनको लक्ष्य बनाउनु पर्छ । पुस्तकालयको महत्त्व गाउँगाउँ पुर्‍याउनुपर्छ । अन्तरमनको आवाजले जित्यो । यही पेसालाई नै जीवनको लक्ष्य बनाइयो । यो पेसाको विकासमा लागिरहेको पनि चार दशक नाघिसक्यो । सकुन्जेल निरन्तर लागिरहने नै छु । सन्तोष छ । खुसी छु ।”

बुक प्यालेसद्वारा प्रकाशित पुस्तक आवरणसहित २५६ पृष्ठको रहेको छ ।