साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई  साहित्यकार युवराज मैनालीकृत बृहत् आयामको लघुकथा सङ्ग्रह ‘पृथक् बाटो’  प्राप्त भएकाे छ ।

यसमा ‘अनिष्ट’, ‘गन्तव्य’, ‘छ-छ, छैन’, ‘जलन’, ‘पद’, ‘फल’, ‘मोह’, ‘व्यापार-अपार’, ‘हो र त्यो आउँदै छ ?’लगायत २ सय ३३ वटा लघुकथा सङ्ग्रहित छन् । सरल भाषाशैलीबाट अनेकानेक, फरक-फरक विषयवस्तुको कथात्मक प्रस्तुति पाइन्छ । वर्तमान नेपालको वास्तविक चित्रण गरिएको छ । कतिपय लघुकथामा स्वैरकल्पनाको पनि प्रयोग गरिएको छ ।

“युवराज मैनालीको यस सङ्ग्रहमा सङ्कलित लघुकथाको उल्लेख्य पक्ष प्रयोगशीलता हो । यो कथ्य र शिल्प दुवै क्षेत्रमा पाइन्छ । यिनका कतिपय  लघुकथामा कविता, निबन्ध र नाटकको सम्मिश्रण भेटिन्छ भने कतिपय कथामा परम्परालाई भत्काइएको भेटिन्छ । यही प्रयोगशीलताका कारण यिनका कतिपय लघुकथा सामान्य पाठकका लागि अलि क्लिष्ट र दुर्बोध पनि हुन पुगेका छन् ।” प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल लेख्छन्, “यिनका लघुकथाबाट विरेचन प्राप्त गर्न मन र मस्तिष्क दुवैको सन्तुलित प्रयोग गरिनुपर्छ । यसमा कुनै तत्काल करेन्ट लाग्ने खालका छन् भने कुनै निकै पछि मात्र सुस्तरी करेन्ट लाग्ने खालका छन् । समग्रतः यस सङ्ग्रहमा सङ्कलित लघुकथालाई हेर्दा अनेकौँ लघुकथाको कथ्य र शिल्प दुवै प्रचलित परम्पराभन्दा पृथक् र नवीन बाटोतर्फ उन्मुख भएकाले यसको मूल शीर्षक पृथक् बाटो सान्दर्भिक एवं सामञ्जस्यमूलक छ । यी सबै सन्दर्भबाट हेर्दा मैनालीको लघुकथाकारिता उल्लेख्य रहेको छ ।”

यस पुस्तकलाई तन्नेरी प्रकाशनले बजारमा ल्याएको हो ।