कवि विमल गुरुङ मिर्मिरेमा झरेको तारा – चन्द्र गुरुङ

कवि चन्द्र गुरुङले स्वर्गीय कवि विमल गुरुङको जीवनीलाई समेटनु भएको पुस्तक हो ‘कवि विमल गुरुङ मिर्मिरेमा झरेको तारा’ ।

”आएको थिएँ प्रमुख अतिथि भएर फर्कदैछु पोखरा विमलभाइको दाइ भएर ।”  पुस्तकमा सरुभक्त लेख्नुहुन्छ, म विमलभाइ‌लाई कविता हरुमा भेटिरहन्थे । उनको स्मृति पुस्तकालयमा प्रवेश गर्दा र स्मृति कार्यक्रममा सहभागी हुँदा अरू बढी भेट्न पाएको अनुभूति भईरहेछ ।

म आएँ

मैले देखें

तर मैले जित्तिन मात्र हारें

पुण्यात्मा विमलका प्रिय बाबुआमा, मेरो हृदयमरिको प्रणाम ! ”

त्यसैगरी पुस्तकमा लेखक चन्द्र गुरूङ लेख्नुहुन्छ, ”बुद्धचोक स्थित कवि विमल स्मृति पुस्तकालय आज काव्यप्रेमीहरूको मन्दिर बनेको छ । पुस्तकालय केवल किताबको सङ्ग्रहालयमात्रै होइन । त्यो विमलको अधुरा इच्छाहरुको अभिलेख पनि हो । यहाँ मानिसहरु केवल पढ्न होइन, बुझ्न आउँछन् । जीवन बुझ्न, पीडा बुझ्न । आशा र समर्पण बुझ्न आउँछन् । विमल पुस्तकालयमा एउटा पुरानो आलमारी छ । जहाँ विमलले लेखेका लेखहरु, डायरीहरु र विमलले पढ्‌ने गरेका किताबहरु राखिएका छन् । थुप्रै हस्तलिखित पानाहरु पनि छन् त्यसभित्र । विमलसित जोडिएका अधुरा लेखरचनाहरु पनि छन् । यी सब विमलको अधुरो जीवनजस्तो लाग्छ । तर त्यस अधुरोपनाभित्र नै पूर्णता लुकेको छ । विमलको परिवारले उनको स्मृतिमा स्थापना गरेको पुस्तकालयलाई बेहिसाब माया दिएको छ । बहिनी शान्ति गुरूङ अहिले आफ्‌नो परिवारसित काठमाडौंमा बस्छिन् । आमा बितेपछि बाबा पूर्णबहादुर गुरूङ एक्लै यस पुस्तकालयको हेरचाहमा खटिरहेका छन् । उनलाई यस पुस्तकालयले गर्दा आफ्‌नो जीवनले सार्थकता पाएको महसुस गर्छन् । दैनिकी जीवन पुस्तकालयवरिपरि बिताइरहेका पूर्णबहादुर भावुक हुँदै भन्छन् ”यहाँबाट टाढा कता जानु छ अब ? यही हो मेरो संसार । विमल एक व्यक्तिको आवाजमात्रै थिएन, त्यो आवाज विमलले बाँचेको र भोगेको सि‌ङ्गो पुस्ताको, अझ भनौँ युगकै थियो, जसले पञ्चायतकालको अन्याय देखेको थियो । जसले विभेद र विसङ्गतिहरुबीच पनि बाँच्न सङ्घर्ष गरेको थियो । विमलका शब्दहरु ती सबैका आवाज बनेका छन् । विमलको अल्पायुमै मृत्यु भए पनि उनको चेतनाले धेरैलाई प्रभावित बनाएको छ । उनका बाबु, जसले जीवनमा पढ्‌नै पाएनन्, अहिले यही पुस्तकालयरूपी मन्दिरको पुजारी बनेका छन् । उनी पुस्तकालयमा आउने हरेकलाई भनिरहेका हुन्छन् ”यो किताब मात्र होइन, मेरो छोराको हृदय पनि हो । हेर त, उसले कस्तो लेखेको छ बाबु  ?”

पुस्तकलाई विमल गुरुङ स्मृति पुस्तकालयले प्रकाशन गरेको हो । एक सय ८० पृष्ठमा फैलिएको पुस्तकको मूल्य तीन सय ९९ रुपियाँ रहेको छ ।