साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई उपन्यासकार जया ओझाको सामाजिक विषयवस्तु समेटिएकाे तेस्रो उपन्यास “रुमानी” प्राप्त भएकाे छ ।

पुस्तककाे पछिल्लो पृष्ठमा लेखिएको छ, “‘आवरण’ र “अनुराग’ उपन्यासका पाठकलाई थाहा छ- लैङ्गिक विषय, यौनिक सन्दर्भ, प्रेमका आरोह-अवरोह र मानवीय व्यवहारलाई नढाँटीकन प्रस्तुत गर्नु जया ओझाको प्याटेन्ट शैली हो । यो शैली उनले ‘रुमानी’ मा पनि कायम राखेकी छिन्‌ । विभेदपूर्ण समाजको संरचना भत्काउनका लागि गरिएको भगीरथ सङ्घर्षको कथा यस उपन्यासमा पाइन्छ । उपन्यासकी प्रमुख नारी पात्र हेभेनको अनुहारमा कल्पनाको खोल देखिँदैन । बरु, यथार्थको प्रतिबिम्ब भेटिन्छ । हेभेनजस्ता नारी पात्रहरू यही समाजमा छन्‌ र उनीहरू कसैको दयामायाको भिख नमागी जित्नका लागि साहसको मैदानमा उत्रिरहन्छन्‌ । उपन्यासमा आएका रसिक, आशुतोष, पुष्प, हृदयशमशेर, सुशीला, इन्दु, देवीलगायत अन्य पात्रहरू हाम्रै समाजका विभिन्न स्वभावका प्रतिनिधि हुन्‌ । प्रेम, विद्रोह, सङ्घर्ष र सम्बन्धहरूको संसारमा सङ्गतिको खोजी गर्नु यस उपन्यासको केन्द्रीय ध्येय हो।”

बाँकी कुरामा लेखिका लेख्छिन्, “म महिलावादी या पुरुषवादी हैन । समाजमा जे भएको छ, त्यही नै देख्छु र लेख्छु । आजकल नारी र पुरुषबिच भेदभाव अनि लैङ्गिक हिंसासम्बन्धी घटना खूब सुनिन्छ, देखिन्छ, लेखिन्छ र पढिन्छ । सबैले आआफ्ना पक्ष र विपक्षमा राय व्यक्त गर्छन्‌ । यही विषयमा मलाई केही भनूँ झैँ लागेकोले उपन्यासको माध्यम चुनेँ । यस पटक नयाँ स्वाद पस्किने जमर्कोमा ‘रुमानी’ जन्माएकी छु ।

पेज टर्नरबाट प्रकाशित रुमानीको मूल्य ६४० रुपियाँ रहेको छ ।