साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई  कवि तारादेवी सुनुवारको नवीन कविता कृति ‘अविरल’  प्राप्त भएकाे छ ।

९९ पृष्ठमा बुनिएको यस पुस्तकमा ‘नारी बिनाको संसार’, ‘हक’, ‘बानी’, ‘पीडा’, ‘यौवन’, ‘बादल’लगायत ५१ थान कविता सङ्ग्रहित छन् ।

शुभकामनामा चन्द्र रानाहँछा लेख्छन्, “जुन कविले आफ्ना रचनामा आमा मानिसका तप्त कथाको समस्यागत चित्रण गर्दै ऊ पुनः त्यसलाई मेटाउने यत्नमा लाग्छ । जुन कविले मौलिक भाषाशैली आविष्कार गर्दै कवितामा सत्यसित जोडिएका नवीन रहस्योद्घाटन गर्नुको अलावा आफूलाई त्यसको अन्तिम व्यवस्थापन तर्फ उन्मुख गराउँछ, तिनै कवि र कविता नै सर्वप्रिय हुन्छ । यही कोटिका कवि हुन् तारादेवी सुनुवार ।”

“अविरल कविता सङ्ग्रहभित्र साँच्चिकै अविरल यथार्थका सङ्लो कलकल कवितामय जल अविरल बगिरहेको छ । वास्तवमा यो पुस्तक कवयित्रीको जीवन भोगाइका यथार्थ यात्रा स्पर्श हो ।” भूमिकामा काःत लेख्छन्, “पाठकलाई कतै पनि कवित्व छाँटेर शब्दको भारी बोकाएको महसुस गर्न दिँदैन पुस्तकले । अविरलभित्र कवितामा स्थानीयता अर्थात् रैथाने शब्दका स्वाद छ्याल्ल पाउँछौँ । लाग्छ कविताहरूको रसास्वादन गर्दा पाठकहरू कहिले जुम्ला पुग्छन् कहिले रुकुम रोल्पा त कहिले कुश्मा कहिले काठमाडौँ, दोलखा । अचम्मको अविरल काव्यिक यात्रा महसुस हुन्छ ।”

इन्द्रमणि अधिकारीद्वारा प्रकाशित पुस्तकको मूल्य २ सय २५ रुपियाँ रहेको छ ।