साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई डा. दीपक भट्टराईको आत्मकथा ‘सकिन्छ गर्न, यही मुलुकमा गर्नुपर्छ’ प्राप्त भएको छ ।
यसमा ‘विद्वतपरम्परा’, ‘शिक्षादीक्षा’, ‘शिक्षण संस्था खोल्ने सोच’, ‘सन्तुष्टिको पाटो’लगायत १२ वटा शीर्षक समावेश छन् । २ सय ७१ पृष्ठमा बुनिएको यस संस्मरणात्मक कृतिमा लेखकको जन्म, बाल्यकाल, अध्ययन, इन्जिनियरिङ पेसामा भोगेका अनेकौँ तितामिठा अनुभूतिहरू, क्यान्सर जस्तो प्राणघातक रोगसँग जुध्दै गरेका जीवन-मृत्युका बहुमूल्य क्षणहरूको उल्लेख गरिएको पाइन्छ ।
“आफ्ना अनुभवलाई सार्वजनकीकरण गर्नु आफैँमा ठुलो चुनौती हो भन्ने मलाई लाग्छ । त्यसपछि ती अनुभवहरूलाई अध्ययनका लागि उपयोगी हुने गरी जिम्मेवारीपूर्वक प्रस्तुत गर्नु अर्को कठिन कार्य हो ।” भूमिकामा प्रा.डा. राजेन्द्रप्रसाद अधिकारी लेख्छन्, “यस पुस्तकमा इन्जिनियरिङ शिक्षा र आयोजना/निर्माण व्यवस्थापनको क्षेत्रसँग सम्बन्धित आशा र राम्रो गर्न सकिने सम्भावनाहरूलाई लेखकले आफ्नो अनुभवको माध्यमबाट राम्रोसँग प्रस्तुत गर्नुभएकाे छ र ‘सकिन्छ गर्न’ भन्ने सन्देश दिन खोज्नुभएको छ । कतिपय विसङ्गति र यस क्षेत्रमा देखिएका र रहेका नराम्रा पक्षलाई पनि लेखकले आफ्नो अनुभवको माध्यमबाट स्पष्ट राखिदिनुभएको छ । यद्यपि, केही विवरण र सन्दर्भ लेखकका आफ्ना निजी टिपोट र आफ्नै वैयक्तिक कुराजस्ता पनि लाग्छन् । तर पनि, पढ्दा कौतूहल जगाउन यो पुस्तक सफल छ र कथा नै पढेजस्तो भान हुन्छ ।”
“यो अनन्तकालको समूह नै कालपुरुष हो । यो सम्पूर्ण विश्व कालबाट नै उत्पन्न र कालमा नै विलीन हुन्छ । त्यस्तो कालको गर्भमा उत्पन्न हुने मानव जाबाको जीवनीको केको महत्त्व ? यस्तो क्षुद्र मानवजीवन पाएको व्यक्तिले केको आत्मकथा लेख्नु, अनन्तकालको गर्भमा मानव जन्म कति बेरको छ र ? वर्षाको पानीको फोकाजस्तो, निस्क्यो कि फुट्यो । (प्रा. गोविन्दप्रसाद भट्टराईको आत्मवृत्तान्तबाट)” प्राक्कथनमा लेखिएको छ, “त्यस्तै लाग्छ । यो ब्रह्माण्ड (Space) र काल (Time) का बारेमा जति खोज गर्दै गयो त्यति नै गहन, गहिरो हुँदै जाने रहेछ । त्यस्तै भन्दछन् वैज्ञानिकहरू । यो ब्रह्माण्डजगतको तुलनामा हाम्रो सौर्यमण्डल नै कहाँ हराउँछ कहाँ । पृथ्वीको त कुरै नगरौँ, खोज्नै कति कठिन होला । त्यो पृथ्वीको एउटा कुनामा ‘नेपाल’ भन्ने देशमा जन्मिएको मजस्तो सामान्य व्यक्तिले आत्मवृत्तान्त वा आफ्नो अनुभवलाई लेखाङ्कन गरे पनि के नगरे पनि के जस्तो लागिरहन्थ्यो । लेख्ने विचार कहिल्यै आएन । ‘जे भोगियो सो सकियो’ भन्ने सम्झन्थेँ । तर होइन रहेछ ।”
उत्कृष्ट प्रकाशन प्रा.लि.ले बजारमा ल्याएको यस पुस्तकको मूल्य ३ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।