साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई लेखक प्रोल्लास सिन्धुलीयकाे भैरव अर्यालको जीवनीमा आधारित “भग्न भैरव” प्राप्त भएको छ । लेखकले रोचक घिमिरेलाई कथावाचक बनाएर भैरव अर्यालले भोगेका जीवनका उतारचढावलाई रोचक शैलीमा प्रस्तुत गरेका छन् ।

“कुशल हास्य-व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीको आख्यानात्मक चित्र मात्र नभई यौटा पुस्ताका तपस्वी स्रष्टालाई उज्जीवित गर्ने अर्को पुस्ताका स्रष्टाको तपस्याको परीक्षाफल हो – भग्न भैरव ।” पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा लेखिएको छ, “जीवनी र आख्यानलाई एक साथ प्रस्तुत गरिएको नवीन ढङ्गको यस उपन्यासको भाषा आकर्षक र शैली मनोहारी छ । समकालीन कवितको रूपमा पृथक र प्रभावशाली छवि बनाउँदै आएका प्रोल्लास सिन्धुलीयलाई पनि यो तपसले आख्यानको राजमार्गको समर्थ धावक पक्कै साबित गरिदिनेछ ।”

प्रोल्लास सिन्धुलीय लेख्छन्, “मैले सशरीर भैरव अर्याललाई देख्न-भेट्न पाउने सम्भावनै थिएन । तर, त्यो सन्नयासले मलाई उहाँसित ‘प्रत्यक्ष भेट भएको’ अनुभूति दिलायो । हृदयलाई नढाँटी भन्दा ‘भैरव आर्याल भनेका मैले देखे-भेटे-सङ्गत गरेकै मान्छे हुन्’ जस्तो लाग्न थाल्यो । एक पटक अर्यालकै प्रसङ्ग चल्दा रोचक घिमिरेको कुरा उठ्यो । मैले अनायास भनेछु, ‘उहाँलाई त मलाईभन्दा बढ्ता थाहा छ ।’”

पुस्तकलाई बुकहिल पब्लिकेसनले बजारमा ल्याएको हो ।