
दमक । साहित्यकार कृष्ण उदाशीको नयाँ कवितासंग्रह ‘पानीको पर्खाल’ पाठकमाझ आउने भएको छ।
पेज टर्नर प्रकाशन प्रा.लि.ले उक्त संग्रह जेठको दोस्रो साता बजारमा ल्याउने जानकारी दिएको छ । सम्पादनको काम अन्तिम चरणमा पुगेको र छपाइको प्रक्रिया सुरु हुन लागेको उदाशीले बताउनुभएको छ ।
चालीस कविता समेटिएको यस संग्रहमा जीवन, प्रकृति, मानवीय संवेदना र देशको राजनीतिक विचलन जस्ता विविध आयाम समावेश गरिएका छन्। पाँचथर जिल्लाका उदाशीले वि.स. २०५५ देखि साहित्यिक सिर्जनामा सक्रिय हुनुहुन्छ । उहाँले २०५७ सालमा ‘शायरी’ प्रकाशन गर्दै आफ्नो साहित्यिक यात्रा आरम्भ गर्नुभएको थियो ।
उपन्यास, गजल, गीत, कथा र कविता जस्ता विविध विधामा समान दक्षता राख्ने उदाशीका ‘दाइजो’ (उपन्यास, २०६४), ‘दोभानपारि बाबरी’ (गजलसंग्रह, २०६७) र बबिता घिमिरेसँग संयुक्त रूपमा लेखिएको ‘म हराएको साँझ’ (कथासंग्रह, २०७०) जस्ता कृति प्रकाशित छन्।
उर्लाबारी क्याम्पस साहित्य मञ्चका संस्थापक तथा विभिन्न साहित्यिक संस्थामा नेतृत्वदायी भूमिकामा समेत सक्रिय उहाँले ‘प्रारम्भ’ साहित्यिक भित्तेपत्रिका, ‘सिर्जनाको बगैँचा’ संयुक्त साहित्य संग्रह र ‘सम्बन्ध’ द्वैमासिक साहित्यिक पत्रिकाको सम्पादन गरिसक्नुभएको छ ।
गीतसंगीत क्षेत्रमा पनि उदाशीको पाँच दर्जनभन्दा बढी गीत रेकर्ड भइसकेका छन्। उहाँले रचेको गीत ‘म घुम्टो उघार्छु’ ले २०८० सालमा रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा प्रथम पुरस्कार जितेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

