‘एक देहधारी जीव छ यहाँ जो हमेसा
पाँच तत्त्वको जिग्–स पजल खेलिबस्छ’
– ‘पिञ्जराभित्र–बाहिर–भित्र’ (१२९)
यी दुई पङ्क्ति मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम’ कवितासङ्ग्रहको अन्तिम कविताका शुरुका दुई हरफहरू हुन् । खासमा यो सङ्ग्रहको खेल यही अन्तिम कविताबाट शुरु हुन्छ । यो कविता नै आम मानिस र सर्जकहरूको चिन्तन हिँड्ने बाटोभन्दा अलग्गैबाट हिँडेको छ । शायद यो कविताको भाव हिँडेको बाटोमा जीवनको रहस्य खोजी गर्न हिँडेका दार्शनिकहरू कहिलेकाहीँ हिँडे पनि होलान् तर कवि मनप्रसाद सुब्बा जसरी नै त्यही बाटो हिँडेर त्यही बाटो फर्किन सके कि सकेनन् ? यदि फर्किहाले भने पनि सकुशल फर्किएनन्, उनीहरू लर्बरिँदै फर्किए होलान् ।
दर्शनका हाँगाहरूबाट जीवन टिपेर जीवन नै लेख्न सक्नु कविहरूको कला हो । त्यही गरेका छन् मनप्रसाद सुब्बाले । ‘पञ्चतत्त्वको पालाम’ कविता कृतिको नामसम्म आइपुग्न पनि समय लाग्छ । यो आफैँमा भावहरूको विशाल ब्रह्माण्ड हो । यहाँ ‘पञ्चतत्त्व’ र ‘पालाम’ लाई अलग अलग बुझ्नुपर्ने हुन्छ । तर बुझ्ने कति र कसरी भन्ने कुरा पनि महत्त्वपूर्ण छ । पञ्चतत्त्वलाई गहन गरी बुझ्ने हो भने सयौँ ग्रन्थहरूको सघन अध्ययन गर्नुपर्ने हुन्छ । पालामका बारेमा अध्ययन गर्न पनि लिम्बूहरूको मुन्धुमको त्यति नै अध्ययन गर्नुपर्ने हुन्छ । यी दुवै शब्दहरूको पूरापुर अध्ययन गरेर स्वअध्ययनले तृप्त हुन सामान्य व्यक्तिको त जीवनले पुग्दैन । तथापि चिनारीसम्म गर्न सकिन्छ ।
‘पञ्चतत्त्व’ सबै हिसाबले विशाल शब्द हो । यसैभित्र आम सजीव तथा निर्जीव वस्तुहरूको अस्तित्व निहित छ । ‘पञ्चतत्त्व’ शब्द संस्कृतको पञ्च (पाँच) र तत्त्व अर्थात् सारवस्तु वा कुनै पनि वस्तुलाई अस्तित्व प्रदान गर्ने भौतिक वा अभौतिक मूल कारणको रसायनबाट बनेको शब्द हो । पञ्चतत्त्वलाई जुन दृष्टिकोणले हेर्दा पनि महसूस गर्न सकिन्छ । जस्तै, वैदिक दर्शन, विज्ञान, योग, आयुर्वेद, साङ्ख्य, वास्तुशास्त्र र तन्त्र आदि । यी बाटाहरू जहाँबाट हिँडे पनि पञ्चतत्त्वमै पुगिन्छ । यी प्रत्येक बाटाहरूको आयाम खोज्न थाल्दा हामी यही हराउँछौँ ।
पञ्चतत्त्वलाई सजिलो गरी बुझ्नलाई ‘पृथ्वी, जल, तेज, वायु, आकाश’ भन्दा भइहाल्छ । तर ब्रह्माण्डका हरेक वस्तुको अस्तित्वका लागि हामीले पहिचान चैँ कसरी गर्ने भन्ने कुरा मुख्य हो । पृथ्वीलाई हामीले माटो र ढुङ्गा भनेर चिन्छौँ । योसँगै यसको गुण स्थिरता, गहनता, कठोरतासँग जोडिन्छ । कुनै पनि वस्तु सड्नु, गल्नु, कुहिनु, गन्ध आउनु पृथ्वीकै गुण हो । मान्छेको शरीरमा पृथ्वीको खोजी गर्नुपर्दा हड्डी, मांसपेशी, नङ, छाला, कपाल आदि हुन् ।
अर्को तत्त्व हो जल अर्थात् पानी । यस तत्त्वले पहिचानका लागि यसले तरल गुणको बोध गराउँदछ । पानी जीवनको अस्तित्वको एक हिस्सा हो । यसको पहिचान तरलता, शुद्धता, सञ्चारका रूपमा गर्न सकिन्छ । मान्छेको शरीरमा रगत, आँशु, थुक, पसिना, मूत्र आदिका रूपमा जल तत्त्वले आफ्नो अस्तित्व कायम गरेको हुन्छ ।
अर्को तत्त्व हो तेज अर्थात् अग्नि तत्त्व । यो आँखाले नदेखिने तर महसूस गर्न सकिने अवस्थामा छ । म कतिको मोटो या पातलो छु भनेर सबैले देख्न सक्छन् तर म कति शक्तिशाली छु कसैले पनि हेरे भन्न सक्दैनन् । सजिलो गरी बुझ्दा यो मान्छेको शरीरमा तातोपना अथवा उर्जाका रूपमा रहेको हुन्छ । यही अग्नि तत्त्वकै कारण शरीरले पाचनप्रक्रिया सञ्चालन गर्दछ । जबसम्म हाम्रो शरीरमा तातोपना रहन्छ तबसम्म मात्र हामी बाँच्न सक्छौँ । जब शरीरबाट अग्नितत्त्व निस्केर जान्छ तब शरीरले आफ्नो अस्तित्व पनि गुमाउँछ ।
वायुको गुण अदृश्य, हलुका र गतिशील हुन्छ । यसले हामीलाई आन्तरिक र बाह्य दुवै रूपमा स्पर्श गर्छ । हाम्रो शरीरका प्रत्येक कोष कोषमा जलतत्त्व अर्थात् रगतसँग मिसिएर डुलिरहने वायुलाई हामी प्राणवायु भन्छौँ । विज्ञानले यसैलाई अक्सिजन भन्छ । प्राणवायु यो ब्रह्माण्डमा पाइने उनन्चास प्रकारका वायुमध्ये एक हो । तर हाम्रो जीवन र मृत्यु दुवैसँग यी सबै प्रकारका वायुले बराबर सम्बन्ध राख्छन् । मानव शरीरमा हामीले स्वास फेर्नु नै वायु तत्त्वको सबैभन्दा ठूलो क्रियाकलाप हो ।
आकाश तत्त्वले कुनै पनि चिजवस्तुले ओगटेको वा ओगट्न बाँकी खाली भागलाई बुझाउँछ । आकाशले कुनै पनि चिज वस्तुलाई अस्तित्व प्रदान गर्न ऊ अटाउने खुल्ला ठाउँ दिएको छ । हाम्रो शरीरभित्रै पनि आकाश छ । जस्तो कि, नाकको प्वाल, आँखा, कान, पेट, छाती आदिभित्रको खाली भाग । यदि आकाशले कुनै पनि वस्तुलाई खाली ठाउँ प्रदान नगर्ने हो भने स्वतः त्यो अस्तित्वविहीन हुन्छ ।
यसरी पञ्चतत्त्वलाई एकदमै सतहमा हेर्न सकिन्छ । गहिराईमा बुझ्न हामीले यी प्रत्येकका आ–आफ्नै ग्रन्थहरूको अध्ययन गर्नुपर्छ ।
पालमको पाटो अलग्गै छ । यो लिम्बू समुदायको प्राचीन लोकभाका, संस्कृति, मायाप्रेमको अनुशासित अभिव्यक्तिको माध्यम हो । तर पालामको पूर्ण व्याख्या यतिमा मात्रै सम्भव छैन् । यो विशेषतः लिखित र मुद्रितभन्दा पनि मौखिक र मौलिक परम्परा हो । ‘पालाम’ पूर्वी नेपालको लिम्बू जातिको मौलिक लोकगीत वा लोकगायन परम्परा हो । पालाम केवल गीत मात्रै होइन, यो संवाद हो, प्रेम हो, लिम्बू समुदायको पहिचान हो, संस्कृति हो, इतिहास हो । एउटा परम्परागत निश्चित लयमा दुई पक्ष भएर विभिन्न विषयमा, जस्तै पारिवारिक, प्रेम, दर्शन, जीवन, अध्यात्मिक, पीडा अथवा शोकको अभिव्यक्ति, पछिल्लो समय राजनैतिक तनाव आदिको अभिव्यक्ति गर्दै संवादतात्मक गायन हो । पालाम गाउँदा उभिएर एक अर्काको हात समातेर वरिपरि घुम्दै पनि गाइन्छ, बसेर अलगअलग दुई पक्ष भएर पनि गाइन्छ । च्याब्रुङ, मादल आदि वाद्यवादनसँग पनि गाइन्छ र बिना वाद्यवादन पनि गाइन्छ पालम । सामान्यतः पालामको परिचय हो यो । अहिले हामी यसका धेरै आयाम र गहिराईमा जान सक्दैनौँ ।
सतहमै सही पालाम र पञ्चतत्त्वका बारेमा यति बुझिसकेपछि अब ‘पञ्चतत्त्वको पालाम’ को कुरो गरौँ । किनकि अब हामीलाई कविताहरूमा छिर्न सजिलो हुनेछ ।
मलाई लाग्छ, कवितासङ्ग्रहको नाम ‘पञ्चतत्त्वको पालाम’ मनप्रसाद सुब्बाले बाहेक शायदै अरुले राख्न सक्थे । मलाई थाहा छैन, आजसम्म यसरी पञ्चतत्त्वलाई अलग अलग केलाएर यसरी गम्भीर भएर कुनै स्रष्टाले यति गहिरोसँग सोचेको छ । सिद्ध महात्माहरूले, तान्त्रिकहरूले, ज्योतिषविज्ञानका ज्ञाताहरूले, ठूल्ठुला ऋषिमुनिहरूले मात्रै पञ्चतत्त्वका बारेमा गहिरिएर महसूस गरेका छन्, बुझेका छन् । यस विषयलाई गहिरिएर उत्खनन् गरेका छन् । तर यो विषय समान्य मानिसको पहुँच बाहिरको कुरा हो । मनप्रसाद सुब्बाले मात्रै यसरी पञ्चतत्त्वको अन्तर्लाप, प्रलाप, विलाप, कुण्ठा, शोक, रिस, आवेग, संवाद सबैलाई दशकौं महसूस गरे, छामे । उनले यिनीहरूलाई सुमसुम्याए र तिनीहरूले गाएको पालाम प्रेमले हामीलाई सुनाए ।
उनी पञ्चतत्त्व बुझ्छन् त्यो उनको चेतना हो र उनी पालाम जान्दछन् त्यो उनको संस्कृति हो । उनले बुझेका पञ्चतत्त्वलाई उनी सजिलोसँग पालाम सुनाउन सक्छन् र तिनीहरूले गाएको पालाम टपक्कै टिपेर हामीलाई सुनाउन सक्छन् ।
हामीले पञ्चतत्त्व भन्ने बित्तिकै ‘पृथ्वी, जल, तेज, वायु, आकाश’ कण्ठ पारेका छौँ । पञ्चतत्त्वलाई धेरैले यही क्रममा बुझ्छन् । हाम्रो जिब्रो यसरी नै क्रमशः फड्कारिन्छ । पञ्चतत्त्वलाई कुन क्रममा राख्दा वैज्ञानिक न्याय हुन्छ यी पङ्क्ति लेखिरहँदासम्म मलाई जानकारी छैन । तर मनप्रसाद सुब्बाले ‘पञ्चतत्त्वको पालाम’ कवितासङ्ग्रहमा आकाशलाई पहिलो नम्बरमा राखेका छन् । दोस्रोमा हावालाई, तेस्रोमा तेजलाई चौथोमा पानीलाई र पाँचौँमा पृथ्वीलाई राखेका छन् । कविले यो क्रममा पञ्चतत्त्वलाई राख्नुको तर्क त पेस गरेका छैनन् तर यसको गहिरो अर्थ हुनसक्ने अनुमान गर्न सकिन्छ । शायद यो आलेख पढेपछि उनले त्यो तर्क पनि पक्कै दिने छन् । हरेकले एउटै बाटो हिँड्नुपर्छ भन्ने पनि छैन ।
मनप्रसाद सुब्बाले आकाशका लागि नौवटा कविता समपर्ण गरेका छन् । र सङग्रहको पहिलो शीर्षक नै गपजको छ, ‘तानमा बुनेको आकाश’ । मैले हरेक ठाउँमा भन्ने गर्छु ‘कविता चेसको घोडाजस्तो हिँडोस्’ यो कविताको शीर्षकमै चेसको घोडा हिँडिरहेको अनुभूत हुन्छ । आकाशको अर्को कविता ‘मेरो आकाश’ को शुरुमै लेख्छन्ः
‘म जन्मँदा
मेरा दुई चिम्म आँखामा चेपेर ल्याएको आकाश
मैले आँखा उघार्न थालेपछि
टाँगिँदै गो मास्तिर
अझ मास्तिर…..
कस्तो गजपको काव्यिक उठान । ‘यसरी पनि आकाशलाई हेर्न सकिन्छ’ कसले सोचेको होला ? उनी यही कविताको अन्तिममा लेख्छन्,
तर तिमी त
मेरो यो आकाशलाई टुक्रा… टुक्रा च्यातेर
तिम्रो डिपार्टमेन्टल स्टोरमा सौदा पोको पार्ने
थैलाहरू पो बनाउन खोजिरहेका छौ त !
हँ ?
— ‘मेरो आकाश’
कविता कहाँबाट उठान भयो र कुन मर्म पोखिएर सकियो । कविता चेसको घोडा जसरी हिँडिरहन्छ । मान्छेभित्र आकाश छ, ऊ बाँच्नका लागि पनि आकाश स्वस्थ हुन आवश्यक छ । तर त्यो आकाश अहिले घाइते छ, शिथिल छ, रोगी छ । यही आकाशमा पड्काइएको छ बम, उडाएको छ धुवाँ । यही कुरा मनप्रसाद सुब्बा आफ्ना आकाश सम्बन्धि नौवटा कवितामा पोखिएका छन् । दुःखेका छन् । रोएका छन् । चिच्याएका छन् । यहाँ प्रत्येक कविताको शक्ति उत्तिकै फराकिलो छ । आकाश सम्बन्धी अरु कविताहरूमाः शहरमा आकाश, ओ आकाश !, आकाश –१, आकाश –२, आकाश –३, आकाशको नीलो आख्यान, चेतनाको आकाश अन्तरिक्ष आदि । सबै कविताहरूले उही शक्तिका साथ उभिएर आकाशलाई बोकेका छन् ।
वायु अर्थात् हावा तत्त्वका कविताबारे बोल्नुपर्दा मलाई व्यक्तिगत रूपमा यस सङ्ग्रहमा सबैभन्दा विशेष लागेका कविता नै हावाका हुन् । पञ्चतत्त्वको दोस्रो क्रममा राखेको हावा सम्बन्धी पनि मनप्रसाद सुब्बाले नौवटा नै कविता लेखेका छन् । हावा–२, हावा–१, हावा यसरी चल्यो, आख्यान वायुको, यो एकनासे हावा, वायुकणदेखि वायुदेवसम्म, लखतरान वायु, हावाको त्यो हावा कथा र हावाको श्राप ।
हावाले के के बोकेर हिँड्न सक्छ ? हावामा के के मिसिएर हामीसम्म आइपुग्छ ? यी कविताहरूले दिमागलाई रनन घुमाउँछन् । हावा–१ कविता नै यति शक्तिशाली छ कि, यो कविताले सदियौँदेखि बन्द दिमागको ढोका ह्वात्तै खोलिदिनसक्छ । घमण्डी, अटेरी, शासक कसैलाई पनि छोड्दैन यो कविताले । जस्तो किः
हावा न हो
कुनै पनि बेला
आफ्नो दमित अवचेतनको अँध्यारो गुफाबाट उम्केर
थाम्नै नसकिने पाराले हुर्रिदै हुइँकिन सक्छ
त्यसबेला यसका अनगिन्ती हातहरू हुनेछन्
र हावाका हातको एक–एक धक्कामा
ढल्नेछन् बाटो रोकेर बसेका ती ढीट स्तम्भहरू,
ढल्नेछन् धमिराले ध्वान्द्रो पारेका रूखहरू–
हो, हावाका हज्जारौं हातहरूले
धागोजस्तै सोहोर्दै लानेछ निषेधका काँडेतारहरू,
पाले उभिएका छेकाबारहरू ।
– ‘हावा १’ (३३)
यो कविताले चेतावनी गरेका ती ढिट स्तम्भहरू को हुन् ? धमिराले ध्वान्द्रो पारेका रुखहरू को हुन् ? काँडे तारहरू, पालेहरू को हुन् ? के के को हावा चल्न सक्छ ? के के ले आँधीको रूप लिन सक्छ ? ओहो ! क्या गजप कविको चेतना ।
हावा–२ कविताको दोस्रो अनुच्छेदमा उनले लेखेका छन्ः
तर खोइ अचेल त्यो बैंसालु हावा
जसको स्वर सुनेर बूढा कानहरू पनि ठाडा हुन्थे ?
अब यो प्रश्नको उत्तर तिम्रै कट्टुमा सुँघ
जहाँ गुम्सिएर बसेको छ हावा
हिजो राति स्वप्नदोषमा झरेको वीर्यको बासी गन्धसित !
अचेल यो हावा
त्यै बासी गन्ध सास फेर्दै हिँड्छ
अनि त्यै गन्धे कट्टुको झन्डा बोकेर
हावा डुलिहिँड्छ हावा पिट्दै जताततै
— ‘हावा २’ (३६)
कविले गरेका सङ्केतहरूको आयाम बहुत फराकिलो छ । आम मानिसहरूको लागि यो एउटा कट्टुको झण्डा मात्रै पनि हुनसक्छ । तर यो कविताले कविको आँखाबाट हामीलाई देखाइरहेको छ कि त्यही कट्टुको झण्डाले कसरी दुषित बनाइरहेको छ कुनै निश्चित भूगोल, कुनै निश्चित देश अथवा सिङ्गो पृथ्वीको राजनीति ?
मनप्रसाद सुब्बाले हावाका कविताहरूमा राजनीतिको चेतना मिसाएका छन् । विश्वको विकृत राजनीतिको अहम्ले हावा प्रदुषित गरिरहेको कठोर सत्यलाई उल्लेख गरेका छन् । हामी देखिरहेका छौँ, सुनिरहेका छौँ, संसारमा युद्ध नै युद्ध छ । अहिलेका युद्धहरू उहिले जस्तो तरबार, भाला र धनुबाणका हुँदैनन् । बम, बारुद, बन्दुक, अणुबम, परमाणुबम, जैविक हतियार आदि जताततै फालिन्छन् । यिनीहरू सबैथोक हावामा नै मिसिने हुन् । र हावालाई अस्वस्थ बनाउने हुन् । जब हावा साच्चै बिरामी हुने छ, रोगी हुने छ, सिथिल हुने छ, हावाले आफ्नो उपचार खोज्ने छ । त्यो बेला हावा बहुलाउने छ । त्यसले बम पड्काउने, बन्दुक बोक्नेहरूलाई मात्रै उडाउने छैन, आमाकै गर्भभित्रका भ्रूणहरू, भरखर गर्भबाट बाहिर निस्केका शिशुहरू, चराहरू आँखै नखोलिएका बचेराहरू, अन्य निर्दोष जीवहरू, वनस्पतिहरू सबै सबै उडाउने छ ।
अनि हठात एक दिन –
अर्को दिशाबाट अर्कै हावा चल्यो
हावा के चल्यो, कुहिएको माछाको दङदङ गन्ध चल्यो…
यत्ति कडा गन्हाउने हावा थियो त्यो
कि हरिकेन र हुरीको होशै हरायो ।
ती हंसहरूका हंस उडेर अलल्लिए ।
अनि हंस उडेर सास बढ्ने बेथा लागेपछि
अचेल त्यै गन्हाउने हावालाई इन्हेलरको रूप दिई
उपभोक्ताहरूको लागि कर्पोरेटले मार्केटभरि फैल्याएको छ
उः हेर्नुहोस् न, किन्नेहरूको छाडा भीडले
जहिल्यै पनि ट्राफिक जाम छ ।
– ‘हावाको त्यो हावा कथा’ (५४)
कवि मनप्रसाद सुब्बाले तेस्रो क्रममा राखेको तत्त्व हो ‘तेज’ । तेजसम्बन्धी उनले एघारवटा कविता समावेस गरेका छन् । मुक्त महाज्योति, जब उज्यालो खस्छ, उज्यालोको आँखा, ज्योति जियालोपनको, म आगो तिमी मान्छेसँग, आगो र आगोको हंस, बदनाम आगोको कथा, नाच्दै छ आगो नाङ्गै, म सूर्य, ओ आगो !, ज्योतिर्मय लगायत शीर्षकमा समावेश छन् कविताहरू ।
आगो, ताप, उज्यालो मान्छेसँगसँगै छ । जीव, जन्तु र वनस्पतिसँगै छ । यो यति सुमधुरसँग श्रृष्टिको सङ्गत गरेर बसेको छ । तर आगो पनि कहिलेकाहीँ रिसाउँछ र भड्किन्छ । मान्छेहरूले आगोलाई भ्रममा पारेर फसाएका छन्, झुक्याएका छन्, ढाँटेर दुरूपयोग गरिरहेका छन् । आगोलाई बमभित्र कोचेर उसकै साथीसङ्गतिका विरुद्ध पोखेका छन्, जथाभावी भड्काएर विनाश गराउन बाध्य बनाएका छन् ।
ओ मान्छे !
म झिलिक्क अनि हुर्र बलेको तिमीले देखेकै दिनदेखि
तिमीसँग छु
तिमीले यो हाम्रो साथको मान राख्न सक्नुपर्छ
यो साथलाई तिमीले यौटा पवित्र थान दिन सक्नुपर्छ
छलकपट नजान्ने म तिम्रो सोझो सङ्गत हुँ
हामी दुईबीचको यो सङ्गतिलाई
जब तिमीले चाहिँदो मान–थान दिन सक्तैनौ,
चुल्हामा तिम्रो भान्से खटिरहेको आगो
म भयङ्कर भड्किउठ्न सक्छु….
– ‘म आगो, तिमी मान्छेसँग’ (६५)
हरेक वनस्पतिलाई चिनीस्टार्च बनाउन चाहिने यही आगो (ताप), प्राणीलाई जीवित राख्न चाहिने यही आगो, ताप, उर्जा । संस्कार अनुसार मान्छे मर्दा जलाउन चाहिने पनि यही आगो । हामी मानिस प्राणीजगतकै सर्वश्रेष्ठ प्राणी तर हामी मानिसकै कारण आगो पनि कुरूप भइरहेको छ । अज्ञानी र प्रतिसोधी भइरहेको छ । कविले आँखा अगाडिको आगोको सुन्दरता देखाएका छन् तर त्यतिमात्रै होइन बरु ब्रह्माण्डको एउटा शक्ति जीवन प्रदायक तेजले मान्छेकै कारण ब्रह्माण्डलाई कुरूप बनाइरहेका किस्साहरू सुनाएका छन् ।
कविले चौथो नम्बरमा राखेका छन् पानी अर्थात् जलतत्त्वलाई । विज्ञानले भन्छ, ‘पृथ्वीको सतहको लगभग एकहत्तर प्रतिशत भाग पानीले ढाकेको छ भने बाँकी उनन्तीस प्रतिशत भाग जमीनले ढाकेको छ ।’ यसको अर्थ पृथ्वीको सतहमा अधिकांश भागमा पानी रहेको छ । पृथ्वीको जस्तै हाम्रो शरीरको पनि बनावट हुन्छ । विज्ञानले भन्छ, ‘मानव शरीर धेरैजसो पानीले बनेको हुन्छ । जुन वयस्कको शरीरको तौलको लगभग साठीदेखि सत्तरी प्रतिशत तरल पदार्थ हुन्छ, बाँकी तीसदेखि चालीस प्रतिशत ठोस पदार्थले भरिएको हुन्छ ।’ मस्तिष्क विशेषज्ञहरू भन्छन्, मानिसको दिमाग त जीवित अवस्थामा पूर्ण रूपमा तरल अवस्थामा नै रहन्छ ।
पञ्चतत्त्वमध्येको यही महत्त्वपूर्ण तत्त्व पानी अर्थात् जलतत्त्वका बारेमा ‘पञ्चतत्त्वको पालाम’ भित्र बाह्रवटा कविता सामेल छन् । पानीको पीडा, पानीको माग अनि वाटर क्यानन, बाथटबको पानी अनि युरेका, पानीको कथा मेरो शहरमा, त्यो खहरे, सिम–धाप अचेल, छोटा रङ्गीत, बडा रङ्गीत अनि टिष्टाको कथा, बहुऔतारी पानी, पानीको प्रश्न, पोखरी अनि डुङ्गा, म काबेरीको पानी आदि ।
कविताहरूमा पानीको सौन्दर्य, पानीको राजनीति, पानी सुक्दै जानुले पर्यावरणमा पर्दै गएको अवर, समाजमा पर्दै गएको असर अझ मानव सभ्यतामा नै देखिँदै गएको असर जस्ता कुरा छन् ।
बडा रङ्गीत अचेल आफैँलाई व्यङ्ग्य भएको छ !
खिएर इत्रु भा’को उसलाई
बाख्राको पाठाले पनि फुत्रुक्क उफ्रेर नाघ्छ !
– ‘बडा रङ्गीत अनि टिष्टाको कथा’ (९५)
झटट् पढ्दा यी हरफ केही पनि लाग्दैनन् । तर सोच्नु पर्छ, गहिरिनु पर्छ । कविले सामान्य कुरा त्यसै लेख्दैनन् । कविले लेखिसकेपछि सामान्य कुरा सामान्य भइरहँदैन । अब बडा टिष्टाको कुरा सामान्य छैन । नाम चलेको टिष्टा नदी जलप्रवाहका कारण प्रख्यात नदी हो । तर त्यही नदीलाई पनि बाख्राका पाठाले नाघ्न थालेपछि, टिष्टा सभ्यतासँग जोडिएका माछाका ठूलाठूला कुरहरू, उतिसका रुखहरू, अलैँची बगानहरू, चिया बगानहरू मासिनु पनि हो । टिष्टा नदी अलङ्कार र बिम्वका रूपमा आएको छ । टिष्टालाई बाख्राका पाठाले नाघ्नु भनेको कुनै दिन नाइल नदीलाई पनि बाख्राका पाठाले नाघ्नु हो, ह्वाङ्हो नदीलाई पनि, सिन्धु नदीलाई पनि र सप्तकोशी नदीलाई पनि बाख्राका पाठाले नाघ्नु हो । यदि यी नदीहरू सुके भने नदी मात्रै सुक्दैनन्, नदीसँग जोडिएका सभ्यता पनि सुक्छन् । सभ्यता नै सुक्न थालेपछि धेरैथोक सुक्छन् । यो त सिङ्गो पर्यावरण चक्रको कुरा हो ।
पानी अराजकतावादी पनि हुन्छ उत्तिकै
र यथास्थितिहरू भत्काउँदै अस्मेल भेल बग्छ
झन्डाहरूको छेकाबारलाई च्यातचुत पारिदिन्छ
नाइहिलिस्ट पनि हो पानी र उसले
जुन कुनै धर्मालयका पर्खालहरू फोर्दै हिँड्छ
अनि अमरत्वको टिकेट बेच्दै हिँड्ने सरदारहरूलाई
बगरमा सिनो पल्टाइ राख्न पनि सक्छ ।
— ‘बहुऔतारी पानी’ (९८)
कवि मनप्रसाद सुब्बाले ‘पञ्चतत्त्वको पालाम’मा पृथ्वीलाई अन्तिममा अर्थात् पाँचौँ नम्बरमा राखेका छन् । उनले बाह्रवटा कवितामा पृथ्वीलाई बुनेका छन् । धरती भन्नु, भूमि, मान्छे माटो गन्हाउँछ– २, माटोको एउटा कथा, उदाङ्गो धरती, धरतीको सुगन्ध, बाँझो धरतीको पर्खाइ, तर्सिरहेको धरती, अधीर धरती, उत्तरध्रुव यतिखेर, पृथ्वी अचेल, पृथ्वी/अपृथ्वी आदि ।
पर्यावरणको सबैथोक बोकेर बसेको धरतीले कति धेरै बोझ उठाइरहेको होला ? यो हामी अनुमान गर्न सक्छौँ । विश्व राजनीतिको चक्रव्युहमा यही धरती फसेको छ । यही धरतीले पाल्नु परेको छ चौरासी लाख जीव, जन्तु, वनस्पति र मान्छेहरू । अहम्को बिच्छीविष टाउकामा बोकेर हिँडिरहेका मान्छेहरू केही वर्षको आफ्नो अस्तित्वका लागि चौरासी लाख जीव बोकेर उभिएको पृथ्वीलाई विषाक्त बनाइरहेका छन्, खरानी बनाइरहेका छन् । माटोले बनेको मान्छे माटो गन्हाउँदै, माटोलाई नै बलात्कार गरिरहेको छ । कविको संवेदनशीलता अनुमान गर्न कविताका शीर्षक मात्रै पनि काफी छन् । कविताको गहिराइमा डुबेपछि थाहा हुन्छ, यही तुच्छ मान्छेको एउटा अंश आफू पनि भएकोमा कति पीडाबोध गरेका छन् कविले ?
ओ मान्छे !
बेफुर्सदीबाट एक्कै छिन हटेर
हेर्नू माटैमाटोको तिमी आफूलाई
अब फेरि दोहो¥याएर भनिरहन नपरोस्
कि मान्छे माटो नै गन्हाउँछ….
– ‘मान्छे माटो गन्हाउँछ –२’ (११३)
जब कुनै सिद्ध कविले पञ्चतत्त्वमाथि कविता लेखेको हुन्छ, ती कविताहरू पक्कै पनि बहुआयामिक हुन्छन् नै । यी माथिका विषय बाहेक अर्को एउटा विशेषता पनि यो सङ्ग्रहमा मैले महसूस गरेको छु । त्यो के भने प्रायः गरेर राई, लिम्बू, तामाङ, मगर समुदायका सर्जकहरूले सिर्जना गरेका कुनै पनि प्रकारका सामग्रीहरूमा सनातनी मिथकहरू पाइँदैनन् । यसको कारण हो उनीहरूले अध्ययन गर्ने गरेका सांस्कृतिक र धार्मिक ग्रन्थहरू । यसो हुनुमा मैले दुई कारण स्पष्ट महसूस गरेको छु । एउटा अध्ययन सामग्रीको उपलब्धता र अर्को पूर्वाग्रह । पछिल्लो समय दोस्रो कारण हावी भइरहेको छ । तर मनप्रसाद सुब्बा यस विषयमा प्रजातान्त्रिक र चेतनाको अर्कै उचाइ हासिल गरेका कवि हुन् भन्ने प्रमाण यो सङ्ग्रहले देखाउँछ । हुन पनि जुन कविले सिङ्गो पञ्चतत्त्वको पालाम गाउनसक्छ, उसलाई झिना मसिना जस्केलाहरूमा छिरेर लुकामारी गर्ने फुर्सद पनि हुँदैन । एउटा विशाल हृदयको कवि विशाल चेतनाले उभिएको हुन्छ ।
यो सङ्ग्रहका सबै कविताहरूका आयामहरू केलाउने हो भने त्यो शोध बन्न सक्छ । पञ्चतत्त्वको पालामका कविताहरूमा प्रत्येक तत्त्वका कविताहरूले ओगटेको आकाश विशाल छ । र ती तत्त्वभित्रका कविताहरूले कहाँ कहाँ उधिनेका छन्, कहाँ कहाँ खोतलेका छन् भनेर एक एक गरेर लेखिरहन यो सानो लेखमा सम्भव नै छैन । कविताको पाठक भएको कारणले विषयको सीमिततालाई योजना नै बनाएर खोज्न आवश्यता ठानिनँ । विषयको गाम्भीरता र प्रस्तुतिको गहनताले सीमितताका दायराहरू घटाएर साना धेरै साना बनाइदिएको छ । अब नाङ्गा आँखाले तिनीहरूलाई देख्न गाह्रो छ ।
पञ्चतत्त्व आफैँमा पर्यावरणको आधार हो । अझ सजिलो गरी भन्ने हो भने पञ्चतत्त्वको समष्टि रूप नै पर्यावरण हो । यदि त्यसो हो भने नेपाली साहित्यमा लेखिएका कुनै पनि पर्यासाहित्यका पुस्तकभन्दा हालसम्मलाई सबैभन्दा माथि र उत्कृष्ट पर्या साहित्यको कृति हो ‘पञ्चतत्त्वको पालाम’ कवितासङ्ग्रह ।
अन्त्यमा, यो आलेख लेख्न जुन कविताबाट शुरु गरेको थिएँ त्यही कवितामा लगेर समापन गर्छुः
पाँच तत्त्वका पाँच औंलाको पकडबाट मात्र होइन
तर समयको अथाह आयामबाटै पनि
उन्मुक्त उभिन्छ ऊ
फेरि यै उन्मुक्तिको कथा भन्नलाई
ऊ घरीघरी
उही पञ्चभूतको पिञ्जराभित्र पसेर
मैना बोलिरहन्छ…
ऊ मैना बोलिरहन्छ… ।
– ‘पिञ्जराभित्र–बाहिर–भित्र’ (१३०)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
सम्बन्धटोलका बासिन्दाले सर्जक कृष्ण उदाशीको ‘पानीको पर्खाल’ एकसाथ खरिद गरे
२९ माघ २०८२, बिहीबार 








