मोरङ । समाजमा कहिलेकाहीँ देखिने सकारात्मक पहलले सिङ्गो देशलाई नै उदाहरण दिन सक्छ । यस्तै उदाहरण दमक–४, सम्बन्धटोलका बासिन्दाले प्रस्तुत गर्नुभएकाे छ  । उहाँहरूले आफ्नै टोलमा बस्ने सर्जक कृष्ण उदाशीको पछिल्लो कविता सङ्ग्रह ‘पानीको पर्खाल’ एक–एक प्रति खरिद गर्दै पठन संस्कृतिको प्रवर्द्धनमा उल्लेखनीय योगदान दिनुभएकाे छ ।

टोलवासीहरूले सर्जकलाई सामूहिक रूपमा साथ र हौसला प्रदान गर्ने उद्देश्यले यो अभियान थालेको सदस्य भरतबाबु कार्कीले बताउनुभयाे । उर्लाबारीमा सम्पन्न ‘पानीको पर्खाल’ को गृह विमोचन कार्यक्रममा नै सम्बन्धटोलले एक सय प्रति पुस्तक खरिद गर्ने घोषणा गरेको थियो । सोहीअनुसार गत पुस १२ गते मोरङको पथरी शनिश्चरे चोक उत्तरस्थित बासेचौरीमा आयोजित वनभोज कार्यक्रममा टोलबासीहरूले सर्जक उदाशीबाट पुस्तक ग्रहण गर्नुभएकाे थियाे  । सो अवसरमा पुस्तकभित्रका कविताहरू वाचनसमेत गरिएको थियो ।

आधुनिकतासँगै पुस्तक पढ्ने बानी घट्दै गएको वर्तमान परिवेशमा सिङ्गो समुदायले नै साहित्यिक कृति खरिद गर्नु पठन संस्कृतिका लागि नयाँ आयाम भएको आयोजकहरूको भनाइ छ । लेखक तथा सर्जक राष्ट्रका सम्पत्ति भएकाले उनीहरूको संरक्षण र संवर्द्धन समाजकै दायित्व भएको भन्दै यो अभियान अघि बढाइएको संस्थाका अध्यक्ष इन्द्रकला पण्डित र सचिव भीमबहादुर थापाले बताउनुभयाे  ।

पूर्वी नेपालमा लामो समयदेखि साहित्यिक गतिविधिमा सक्रिय सर्जक उदाशीको यो चौथो कृति हो । ‘पानीको पर्खाल’ को पहिलो विमोचन गत कात्तिक २२ गते काठमाडौंमा तथा कात्तिक २९ गते उर्लाबारीमा गृह विमोचन गरिएको थियो । टोलबासीबाट सामूहिक रूपमा पुस्तक खरिद भएपछि खुसी व्यक्त गर्दै उदाशीले यसलाई नेपालमै दुर्लभ र सम्भवतः पहिलो उदाहरण हुनसक्ने बताउनुभएकाे छ ।

उदाशीको पहिलो कृति २०६४ मा प्रकाशित उपन्यास ‘दाइजो’ हो । त्यसपछि २०६७ मा गजल सङ्ग्रह ‘दोभानपारि बाबरी’ र २०७० मा श्रीमती बविता घिमिरेसँगको संयुक्त कथा सङ्ग्रह ‘म हराएको साँझ’ प्रकाशित छन् । उहाँका पाँच दर्जनभन्दा बढी गीतहरू रेकर्ड भई सार्वजनिक भइसकेका छन् ।