“गगन भाइ कता छौ ?”
“घरमै छु दाजु ।”
“के गर्दै छौ ?”
“के गर्नु हौ दाजु गाउँमा ! त्यस्तै त हो नि, घाँस काट्यो, मकै गोड्यो, सुपारीलाई मल हाल्यो, कुखुरालाई चारो दियो ।”
प्रायः गगनलाई फोन गर्दा यसै भनिरहेका हुन्छन् । गाउँमा बस्छन् । गाउँले जीवन बिताउँछन् । सखुवाका थाम टेकेर उभिएको उनीभन्दा जेठो टाँडे घर छ गाउँमा उनको । उमेर र कपाल दुवै पाकिसकेकी आमाको काख न्यानो छ उनलाई । उनका पनि दुई छोरी छन् मसिना सेसेफुङ र नुमाफुङ, जसलाई शिक्षा दिनु छ, हुर्काउनु छ । श्रीमती भूमिका वैदेशिक रोजगारीका लागि बाहिर छिन् । अहिले त नानीहरूका लागि गगनले आमा र बुबा दुवै जनाको जिम्मेवारी निर्वाह गर्नु छ ।
पूरा तेतीसवटा हिउँद छिचोलिसकेका गगनको परिवार उनी जन्मिनुभन्दा पहिलादेखि नै अभाव र संघर्षको ठिहीसँग लडिरहेको छ । उनको घर भएको कालीदह भन्ने ठाउँ, मोरङ जिल्लाको मिक्लाजुङ गा.पा. वडा नं. ४ मा पर्छ । उनकी आमा कान्छीमाया लिम्बू नेपाली प्रष्ट बोल्न सक्नुहुन्न अर्थात् उहाँको जिब्रोलाई पर्वते भाषामा भन्दा लिम्बूभाषामा फड्कारिन सजिलो हुन्छ । उहाँ आधाउधी लिम्बु भाषा मिसाउँदै भन्नुहुन्छ, ‘म त १२ जना छोराछोरीको आमा पो त, तर सप्पै बाँचेनन् र पो ।’
सप्पैभन्दा कान्छो सन्तान हुन् गगन । त्यसको पनि आफ्नै कथा रहेछ । गगन जन्मिनुभन्दा पहिला टाँडीको धोबेनी भन्ने ठाउँमा थियो घर । तर त्यहाँ बस्दा जन्मिएका नानीहरू प्राय नबाँचेपछि गगनभन्दा पहिला जन्मिएको नानीको सतगत् गर्न भेला भएका मलामीहरूले नै धोबेनीको घर भत्काएर त्यहाँको सबै खाँबा–बला बोकेर तल कालीदहमा सारिदिएका रहेछन् । त्यसपछि जन्मिएर बाँचेका हुन् रे गगन ।
तर त्यसपछि पनि आमा कान्छीमायाको दुःखको डिग्री तल झरेन । परिवार बिग्रियो । गगन जन्मिएको केही समयपछि नै उनका बुबा चन्द्रबहादुर लिम्बूले मन बिगार्नुभयो । घरको हालत असहज भएकै बेला उहाँ अर्की बिहे गरेर कता जानुभयो पत्तै भएन । गगनलाई आफू सानो छँदा बुबाको हात समाएर हिँड्ने सौभाग्य नै जुरेन । उनले बुबालाई निक्कै ठूलो भएपछि चिने तर बहुत नराम्रो गरी चिने । भयो के भने, कालीदहमा घर ऐलानी जग्गामा थियो । घरमुली नभएकाले घर निक्कै बिस्याहार भएको थियो । खाँबाखुट्टी फेर्नुपर्ने भएको थियो । त्यसका लागि आमाले त्यही ऐलानी जग्गामा रहेको घर छेउकै कदमको रुख काट्न लगाउनुभएको थियो । बुबा राडीको व्यापार गर्दै हिँड्नुहुँदो रहेछ । उहाँलाई कान्छी श्रीमती लिएर घर आउन नपाएको झोक रहेछ । गएर वन कार्यालयमा आफ्नै श्रीमती र छोराछोरीका विरुद्ध अनाधिकृत रूपमा वन फाँडेको भनेर उजुरी दिनु भएछ । त्यो मुद्धाले गगनकी आमालाई यति धेरै सतायो कि, गगन भन्छन् ‘वन मुद्धा त ज्यान मुद्धाभन्दा गाह्रो हुँदोरहेछ ।’
बल्ल तल्ल त्यो मुद्धा सल्टिएको थियो, उनका बुबाले फेरि ‘आफ्नै घर जान श्रीमतीले नदिएको’ भनेर थानामा उजुरी हाल्नुभएछ । ती मुद्धाहरूका कारण घरको सम्पत्ति, आम्दानी त सकियो सकियो, आमालाई माइतीले दिएका सुनचाँदीका गरहगना पनि सबै सकिए । त्यसै पनि एक काँधे भइसकेको परिवार, झन् थला पर्यो । गगनका लागि भने बुबाआमा जे भने पनि आमा कान्छीमाया लिम्बू नै हुनुहुन्छ ।
आठ कक्षा पढ्दासम्म गुमानसिंह नाम भएका गगनलाई आफ्नै नाम मन परिराखेको थिएन । उनी अलिक फरक खालको नाम बनाउन चाहन्थे तर नयाँ नाम सुझिरहेको थिएन । कक्षा आठमा जिल्ला स्तरीय परीक्षाको फारम भर्ने बेलामा उनले नाम फेर्ने निधो गरे । गाउँकै एकजना दिदीले नाम चै ‘ग’ बाटै जुराउनुपर्छ भनेर गगन राखिदिइन् । आठ नौ कक्षा पढ्दाताका विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुन थालिसकेकाले उनलाई ‘गगन’ नामबाट परिचित हुन कति पनि समय लागेन । एकाएक हराए गुमानसिंह गाउँ–विद्यालयबाट र उदाए गगन ।
गगन सानो छँदा नै खेल्दा खेल्दै पुस्तकको सङ्गतमा पुगेका थिए । अन्तर्मुखी स्वाभावका उनलाई किशोर उमेरमै पुस्तक पढ्ने लत लाग्यो । रेडियोमा साहित्यिक कार्यक्रम सुन्ने, सिर्जनाका पुस्तकहरू खोजीखोजी पढ्ने बानीका कारण पूर्वका विभिन्न सर्जकहरूसँग कलिलो उमेरमै जोडिँदै गए । उन्नाइस बीस वर्षको उमेरसम्ममा त उनी नेपाली साहित्यको गहिराई बुझ्ने भइसकेका थिए ।
गगन योक्पाङ्देनले स्नातक पढ्दै गर्दा भूमिका लिम्बूसँग विवाह गरे । विवाहपछि भने उनी पारिवारिक बन्धनमा बाँधिए । स्नातक अन्तिम वर्षको परीक्षा दिन पाएनन् । आर्थिक अवस्था निक्कै जटिल भएपछि विदेश जान कोशिश गरे, स्वास्थ्य परीक्षणमा फेल भए । घर सल्लाह गरेर ट्याक्टर किनेर त्यसैमार्फत जीवन चलाउने निधोमा पुगे । ट्याक्टर निकाल्न पनि आफूसँग नगद रुपैयाँ थिएन । ऋण लिनलाई बन्दकी राख्ने नम्बरी जग्गा थिएन । अर्काको जग्गा बन्दकी राखेर ट्याक्टर निकाले र त्यसैमा काम गर्न थाले । सोझो मान्छेलाई ट्याक्टर चलाउन पनि सजिलो थिएन । जसो तसो चल्दै थियो । ट्याक्टर किनेको तेस्रो वर्षमा जग्गा धनीले जग्गा बेच्ने भए । त्यसो गर्दा धनीपूर्जा उकासिदिनुपर्ने भयो । उनले सस्तैमा ट्याक्टर बेचिदिए र धनीपूर्जा त उकासे तर ऋण चुक्ता भएन । आर्थिक दबाव झन् बढ्यो । फेरि विदेश जान खोजे, स्वास्थ्य परीक्षणमा उही समस्या । नेपालमा केही काम पाइरहेका थिएनन् । के काम गर्ने पनि उनलाई थाहा थिएन । जानेको काम लेख्नेपढ्ने थियो । त्यस्ता काम नेपालमा कहाँ पाउनु । बल्लतल्त दिदी र दिदीका छिमेकीको सहयोगमा एउटा छुर्पी प्याकेजिङ गरेर विदेश पठाउने उद्योगमा काम पाए ।
शुरुमै उनलाई उक्त काम आफ्ना लागि होइन भन्ने लागि सकेको थियो । दिमागले खतरा महसुस गरिरहेको थियो । तर बल्ल पाएको काम किन नगर्नु भन्ने भयो । काम गर्ने निधोमा पुगे । पहिलो दिन राम्रै काम भयो । काम पाइएकोमा परिवारका सबैजना खुशी पनि थिए । तर दोस्रो दिन राम्रो भएन । छुर्पी काट्ने मेसिनले हात काट्यो । काट्यो पनि कसरी भने, उनको दाहिने हातको बूढी औँला नङ पलाउने ठाउँमै चर्लप्पै छिनायो । निक्कै पीडादायी समय थियो त्यो । उनी भन्छन्, “मलाई हात काटेर जति दुखेको थियो, त्योभन्दा धेरै चैँ ‘अब मेरो हातले लेख्न मिल्दैन कि’ भनेर आत्तिएको थिएँ ।” औँला काटिएका एकलव्यले कसरी गर्नु धनुवाणको युद्ध !
हात काटिइएको बारेमा आमालाई सुनाउने हिम्मत गगनसँग थिएन । लामो समय आमालाई सुनाएनन् । बिस्तारै फलैँचा इन्टरटेन्मेन्टमा जोडिए । लगभग डेढ वर्ष त्यहाँ स्कृप्ट लेख्ने काम गरे । सबै ठिकै थियो । त्यही बेला कोरोनाको कारण लकडाउन भयो । लकडाउनपछि सबै क्षेत्र आर्थिक दबाबमा पर्यो । उनी फेरि बेरोजगार भए ।
केही काम नभएपछि उनले घर बनाउने मिस्त्रीको सहयोगीका रूपमा काम गर्ने निधो गरे । तर पढेलेखेका मान्छेलाई ठेकेदारहरूले तत्कालै त्यस्तो काममा राख्दा रहेनछन् । उनी भन्छन्, ‘बल्ल तल्ल एउटा ठेकेदारले काम त दिए, तर हामीले जति नै काम सानो हुँदैन भनेर आदर्शका कुरा गरे पनि हामीलाई हिनताबोध हुँदोरहेछ । सँगै पढेका साथीहरूले देखेर के भन्लान भन्ने लाग्दोरहेछ । त्यस्तो काम पनि निरन्तर नपाइने ।’
केही सीप चलेन, गगनले फेरि विदेश जाने निधो गरे । फेरि पनि स्वास्थ्य परीक्षणमै फेल । अब भने श्रीमती भूमिकाले विदेश जाने मन गरिन् । फूलका कोपिलाजस्ता कलिला नानीहरूलाई छाडेर नजाऊ त भने उनले, तर भूमिका विदेश गइन् ।
++ +
गगनको सवालमा भन्नै पर्ने थुप्रै प्रसङ्ग छन् । त्यो मध्ये एउटा हो उनलाई धेरैले ‘पोएट आइडलको उत्पादन’ भन्ने गर्छन् । हुन त कति पोएट आइडलको फ्रेमभित्र छिरेर निस्किएकाहरूलाई आफ्नो नामसँग पोएट आइडल जोडिएकोमा वर्ग महसुस होला तर गगनको हकमा पोएट आइडलको उत्पादन भन्नु, छातीभित्र सिर्जनाको आगो बोकेको सर्जकलाई सम्मान गर्नु होइन । पोएट आइडल एउटा प्लेटफर्म हो, अवसर हो तर गगनको हकमा सर्जक उत्पादक होइन् पोएट आइडल । गगन त त्यहाँ जानुभन्दा पहिला नै एउटा विशिष्ट पहिचान बनाइसकेका सर्जक थिए । उनी कविता सङ्ग्रहको अन्तिम तयारीमा थिए ।
म गगन योक्पाङ्देनलाई त्यो बेलादेखि जान्दछु, जतिबेला उनी भरखर साहित्य लेखन शुरु गरिरहेका थिए । उनी यसरी आएका थिए साहित्यमा कि, उनको छातीभित्र साहित्यको आगो भरभराइरहेको थियो । हाम्रो परिचय भएको धेरै भएको थिएन । मलाई उनको पारिवारिक अवस्था, सिर्जनात्मक अवस्था राम्रोसँग थाहा भइसकेको थिएन । एकदिन दमक जेसिजले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम भएछन् । ठ्याक्कै मिति त थाहा छैन तर बाह्र–तेह्र वर्ष अगाडिको कुरा हो । पुरस्कार थाप्दा निधारमा लगाइदिएको अबिर पनि नपुछी, प्राप्त उपहारको र्यापिङ पेपर पनि नखोली, हाम्रो छापाखानमा आइपुगेका थिए । आफूले पाएको पुरस्कारको राशि रकम जस्ताको तस्तै मलाई दिँदै भने “दाइ, टाँडीकुञ्ज परिवारको प्रस्तुतिको रुपमा ‘जरुवा’ नामक साहित्यिक पत्रिका प्रकाशन गर्नु छ । यो पैसा राख्नू, अरु कति खर्च लाग्छ म व्यवस्थापन गर्छु ।”
‘के के समावेश हुन्छ पत्रिकामा, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक कस्तो पत्रिका प्रकाशना गर्ने ? भनेर हामीले सबै छलफल गर्यौँ । अन्तिममा उनले त्यहीँ निर्णय गरे ‘जुरुवा चौमासिक’ । प्रधान सम्पादक उनी थिए र मलाई नै अतिथि सम्पादक बसिदिन आग्रहग गरे । जरुवाको पहिलो अङ्क उनको घर नजिकैको प्रावि स्कुलमा राम्रो कार्यक्रम आयोजना गरेर विमोचन भयो । उक्त कार्यक्रममा नेपालको साहित्यिक इतिहासमै पहिलो ‘एकल केस्रा वाचन’ गरिएको थियो र त्यसका लागि केस्रा अभियन्ता दिलीप राई ‘सगर’लाई उभ्याइएको थियो । तर केही अङ्क प्रकाशनपछि आर्थिक असुविधाकै कारण उनले त्यो पत्रिकालाई निरन्तरता दिन भने सकेनन् । पत्रिका प्रकाशन रोकिए पनि टाँडीकुञ्जको प्रस्तुतिमा विशेष र वौद्धिक कार्यक्रमको आयोजना सञ्चालन गरिरहे उनले । त्यो बेला उनको नेतृत्वमा भएका उल्लेखनीय कार्यक्रमहरूमा ‘कवि हिरा आकाश र उनका सिर्जना’, ‘दान खालिङ परिचर्चा’, ‘उपेन्द्र पागल परिचर्चा’ लगायत फराकिलो वौद्धिक आयाम भएका दर्जनौँ कार्यक्रम पर्दछन् । पोएट आइडलसम्म पुग्नुभन्दा पहिला नै उनी नेपालमा साहित्य लेखिरहेका अधिकांश सर्जकहरूको नजरमा एउटा विशेष कवि र साहित्यिक अभियन्ताको परिचयसहित उभ्भिइसकेका थिए ।
यसरी गगन योक्पाङ्देन अध्ययन र क्रियाकलाप दुवैले खारिँदै जाँदा कविता सङ्ग्रह प्रकाशन गर्ने मानसिकतामा पुगेका थिए । त्यही बीचमा शुरु भएको पोएट आइडलको पहिलो संस्करणमा उनी सहभागी हुन पुगे । त्यहाँ पनि उनी आफ्ना कविताहरूका शक्तिकै कारण चर्चामा रहेका थिए । उनले त्यहाँ प्रस्तुत गरेका हरेक कविताको आयतन विशाल भएकैले उलाई आम स्रोताले समेत मन पराएका थिए । उनका कविता उत्कृष्ट भएकै कारण उनी तिनचोटिसम्म ‘प्रफमर अफ द डे’ र एकचोटि ‘लाइन अफ द डे’ भएका थिए । उनको ‘उन्छेन उन्छेन’ कविता त यति लोकप्रिय भएको थियो कि, नेपाली भाषाका दिग्गज दिग्गज कविहरूले समेत ‘उन्छेन उन्छेन’ शीर्षकमा कविता लेखेका थिए । बाटो हिँडिरहेको यात्रीले ‘शीतल चौतारी देख्यो, एकछिन् आराम गर्यो’ भन्दैमा यात्रीलाई ‘त्यही चौतारीमा उम्रिएको बिरुवा हो’ भन्न मिल्दैन ।
एउटा मान्छेले सग्लो नामसँग उभिन हरपल कोशिश गरिहेको हुन्छ । त्यसरी आफ्नै परिचयले सग्लो उभिएको स्वाभिमानी सर्जकलाई विभिन्न सहायक परिचयको टेवा लगाउनु आवश्यक हुँदैन । कुनै पनि क्षेत्रमा गगनको परिचय दिँदा ‘पोएट आइडलको उत्पादन हो’ भन्ने भावमा परिचय दिइरहनु गगनको स्वाभिमानलाई कमजोर बनाउनु हो, मलाई लाग्छ । एउटा कविको थुप्रै क्रियाकलापमध्ये एउटा क्रियाकलाप थियो त्यो ।
एउटा सत्य चैँ के हो भने गगनलाई पोएट आइडलका कारण चर्चा मिल्यो । तर के गगनको क्षमता नभई पोएट आइडलका कारण मात्रै चर्चित भएका हुन् त ? उनी त्यहाँबाट फर्केपछि थोरै समयमा नै कवितासङ्ग्रह ‘केवाफुङ्को गीत’ सार्वजनिक भयो । त्यसमा समावेश कविताहरूले राम्रो चर्चा पाए । उनले पोएट आइडलको क्याम्पमा बिताएको एक डेढ महीनाकै कारण उनको कविता सङ्ग्रह त्यति परिपक्व भएको हो त ? कवितामा त्यो स्तरको चेतना र चाम निर्माण भएको हो त ? पक्कै होइन ।
+++
गगनको काव्यिक विशेषता कोमलता हो । उनले विद्रोही कविताहरू पनि बढो कोमल तरिकाले लेखेका छन् । सबैभन्दा मुख्य कुरा इमानदारीपूर्वक उनले कवितामा आफूलाई पोखेका छन् । एउटा कविले कविताहरूमा आफूलाई पोख्न सक्नु नै कविको सफलता हो । केवाफुङ्को गीतमा अड्तिसवटा कविता छन् । र कवितामा उनी स्पष्ट छन् । ‘पानीको जीवन’, ‘खतर्नाक भोक’ र ‘अभिषप्त रुख’ कवितालाई हामी पर्याकविताको नमूनाका रुपमा लिन सक्छौँ । ‘छोरीको चकचक’, ‘राष्ट्रिय झण्डाको इज्जत’, ‘एक बागी विचार’, ‘उपेक्षित गीतका हरफहरू’ विद्रोही कविताहरू हुन् । ‘एउटा घरको दिनचर्या’ कविताले हाम्रो समाजको एउटा परिवार सञ्चालन गर्न महिलाको कति र कस्तो भूमिका रहन्छ भन्ने विषय देखाएको छ । ‘परिचय’ शीर्षकको कविताले हामी स्वयंमा कति बनावटी छौँ भन्ने कुरा प्रष्ट पारेको छ । युवाहरू विदेशिएर एक्लो भएको घरको मानसिक र भौतिक पीडा उनले थुप्रै कवितामा प्रस्तुत गरेका छन् । समाजमा रहेको वर्ग व्यवस्थाका विरुद्ध पनि गगन बोलेका छन् । राष्ट्रियताका सवालमा त उनी ‘देशप्रेम’ कवितामै स्पष्ट छन् । यसरी हेर्दा ‘केवाफुङ्को गीत’ कविताहरूको एउटा मिस्रित समुदाय हो । यो कविताको समुदायमा हरेक कविता आफ्नो छुट्टै अस्तित्वका साथ सग्लो उभिएका छन् ।
माथि नै मैले उल्लेख गरेको छु, गगन गाउँमै बसेर साहित्यिक क्रियाकलाप गरिरहेका छन् । साहित्यकै माध्यमबाट उनले मिक्लाजुङलाई राष्ट्रिय स्तरमा परिचित गराएका छन् । उनी मिक्लाजुङ साहित्य समाजका अध्यक्ष हुन् । उनकै नेतृत्वमा मिक्लाजुङ साहित्य समाजले देश विदेशसम्म छुट्टै परिचय स्थापित गरेको छ । उनी प्रधानसम्पादक रहेको र मिक्लाजुङ साहित्य समाजले अघिल्लो वर्ष प्रकाशन गरेको ‘मिक्लाजुङ साहित्य दर्पण’ले मिक्लाजुङको रौँचिरा गरेको छ । उक्त पुस्तकमा मिक्लाजुङका सर्जक, पर्यटन्, संस्कृति, आर्थिक, ऐतिहासिक र स्थानीय भाषा सबै कुरालाई एकदमै मिहिन र अर्थपूर्ण हुनेगरी समावेश गरिएकाले उक्त कृति ऐतिहासिक बनेको छ ।
यसपालि भने उनकै नेतृत्वमा मिक्लाजुङ साहित्य समाजले ‘मिक्लाजुङ बाल मधुरस’ प्रकाशन गरेर सिङ्गो देशलाई एउटा व्यक्तिको दृष्टिकोण र सक्रियताले के गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको छ । ‘मिक्लाजुङ बाल मधुरस’ बाल सहित्यको अध्ययन र रचनाको हिसाबले एउटा विशिष्ट ग्रन्थ हो भन्न सकिने थुप्रै आधारहरू छन् । जस्तै शहरका ठूलाठूला साहित्यिक संस्थाहरूले पनि आफ्नो क्षेत्रका बालबालिकाहरूलाई साहित्यमा प्रेरित गर्न उपलब्धिमूलक काम गर्न सकिरहेका छैनन् । मिक्लाजुङ जस्तो ग्रामीण क्षेत्रका बालबालिकालाई प्रेरित गर्न सजिलो छैन । गगन आफैँ पनि जीवन चलाउन धौधौ अवस्थामा छन् । यस्तो बेलामा आफ्नो काम छोडेर स्कुल स्कुल जानु, विद्यार्थीहरूलाई प्रेरित गर्न शिक्षकहरूसँग सहकार्य गर्नु । तर स्कुलहरूले सोचेजस्तो चासो नै नदिनु, फेरि फेरि पनि जानु, सजिलो थिएन । त्यही अप्ठ्यारो कामलाई सङ्कल्पले पूरा गरेर मिक्लाजुङमा रहेका र साहित्यमा रुचि भएका सबै बालबालिकाहरूलाई पुस्तकमा जोड्ने काम भएको छ । देशभरबाट सङ्कलन गरेर चुनिएका बाल सिर्जनाहरू उदाहरणका लागि प्रस्तुत गरिएको छ । नेपाली बालसाहित्य सम्बन्धी गहिरो अध्ययन गरेर कवि मिश्र वैजयन्तीद्वारा तयार पारिएको आलेख पनि समावेश गरिएको छ । बालसाहित्य भन्नेबित्तिकै अर्ती र उपदेश दिने सिर्जना भेला पर्ने हाम्रो पराम्परालाई ‘मिक्लाजुङ बाल मधुरस’ले बालसाहित्य कस्तो हुन्छ भनेर देखाउने कोशिश गरेको छ ।
एउटा सर्जक गाउँमा बस्छ, गाउँकै कुरा गर्छ, गाउँमै रमाउँछ । हामी धेरैले भन्ने गर्छौं ‘म समयमै फलाना ठाउँमा पुग्न पाएको भए अहिले धेरै प्रगति गरिसक्थेँ ।’ तर प्रगति गर्नलाई ठाउँ होइन इच्छा शक्ति चाहिने रहेछ । गगनले गाउँमा बसेर, हलो जोतेर, सुँगुर, कुखुरा पालेर, धान, मकै, मास, मस्याम आदि फलाउँदै नेपाली साहित्यका लागि जे गरिरहेका छन् यो विल्कुल अनुकरणीय छ । उदाहरणीय छ । प्रशंसनीय छ । मिक्लाजुङको मधुमल्लामा उनको नेतृत्वमा भएका दुई दर्जनभन्दा धेरै कार्यक्रमहरूले राष्ट्रियस्तरको बौद्धिक कम्पन सिर्जना गरिसकेका छन् । तर उनी पनि घरिघरि के के कारण निराश भएको मैले पाउने गरेको छु । यस्ता प्रतिभाहरूलाई हामीले निराश हुन दिनु हुँदैन, हौसला दिइरहनु पर्छ ।
प्रष्ट नेपाली बोल्न नजान्ने आमाका प्रष्ट कविता लेख्ने छोरो हुन् गगन । उनको ‘आमाप्रति’ शीर्षकको कविताको अन्तिम भागः
आज घरव्यवहारको जुवा मेरो काँधमा परेको छ
जोत्नु छ मैले सारा धर्ती
र रोप्नु छ जीवन गह्रा–गह्रा
अचेल आमा मेरा अनिँदा आँखाहरू देखेर
मलाई सम्झाइरहनु हुन्छ
“छोरा पीर नलिई
मान्छेको दुःख त
मरेपछि मात्रै सकिन्छ ।”
उसो भए म बाँच्न चाहन्छु ।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 










