मोरङको मिक्लाजुङ गाउँपालिका निवासी कवि यतिबेला चलिरहेको कवितामाथिको पहिलो रियालिटी शो “द पोइट आइडल”को मञ्चबाट भर्खरै बाहिरिनु भएको छ । गत चैत २३ गते बिहीबार प्रसारित आइडलको २९ औँ एपिसोडबाट उहाँ बाहिरिनु भएको हो । उहाँ आइडलको उत्कृष्ट ७ सम्म पुग्न सफल हुनु भएको थियो । कैलालीकी कवि मुनु अधिकारीसँग कवि गगन रेडजोन अर्थात बटम टुमा पर्नु भएको थियो । पोइट आइडलको भोटिङ राउण्ड सुरु भएदेखि यता कवि गगन पहिलो पटक रेडजोनमा पर्नु भएको थियो । कवि मुनुसँगको अन्तिम प्रतिस्पर्धामा जम्मा एक अङ्कको मात्र अन्तरले कवि गगन पराजित हुनु परेको थियो ।
दिइएको विषयवस्तुमाथि आधा घन्टाभित्र कविता लेख्ने क्रममा कवि मुनुले १५६ र कवि गगनले १५५ अङ्क प्राप्त गर्नुभएको थियो । पोइट आइडलको “आशु कवि राउण्ड”मा यति कम अङ्कको अन्तरले हार जित भएको यो पहिलो पटक पनि हो । यसमा २ सय पूर्णाङ्क रहने गरेको छ । यो अन्तरवार्ता तयार पार्दासम्म कवि मुनु पनि आइडलको मञ्चबाट आउट भइसक्नु भएको छ । यतिबेला आइडलको उपाधिका लागि ४ जना कविहरू फाइनलमा प्रवेश गरिसकेका छन । जसमा मिल्सन राई (भोजपुर), नीलम गुरुङ (सिक्किम, भारत), पल्लविब (दार्जीलिङ, भारत) र न्याथन रायन (कञ्चनपुर) रहनु भएको छ । बैशाख १ गते शुक्रबार प्रसारित आइडलको ३२ औँ एपिसोडमा फाइनलमा पुगेका ४ कविहरूको अन्तिम प्रस्तुति पनि सम्पन्न भइसकेको छ । अब उपाधि कसको हातमा जान्छ ? त्यसको छिनोफानो आइडलको अन्तिम तथा ३३ औँ एपिसोडमा हुनेछ ।
पोइट आइडल AP1 टेलिभिजनमा हरेक बिहीबार र शुक्रबार नेपाली समय राती ८:३० बजे प्रसारण हुँदै आएको थियो । साथै यसलाई OSR रियालिटीको युट्युब च्यानलमा पनि हेर्न सकिनेछ । “डन डिरेक्टर”को रूपमा परिचित अमन प्रताप अधिकारीले पोइट आइडलको निर्देशन गरिरहनु भएको छ । आइडलमा चर्चित कविद्वय उपेन्द्र सुब्बा र विप्लव प्रतीक, रङ्गकर्मी अनुप बराल र नायिका सुरक्षा पन्त निर्णायकमा हुनुहुन्छ । त्यसैगरी आइडलको उद्घोषकमा नायक दिव्यदेव हुनुहुन्छ । गामबेँसीका कवि क्षेत्र प्रताप अधिकारीको सम्झनामा उहाँका छोरा अमन प्रतापले पोइट आइडल निर्माण गर्नुभएको हो ।
समग्रमा पोइट आइडलको यात्रा कस्तो रह्यो ? भन्ने विषयमा कवि गगन योक्पाङ्देनसँग गरिएको कुराकानी प्रस्तुत गर्नुभन्दा पहिले उहाँको बारेमा थोरै केही भनौँ होला ।
मोरङको मिक्लाजुङमा २०४८ साल माघ २१ गते कवि गगनको जन्म भएको थियो । माता कान्छीमाया लिम्बू र पिता चन्द्रबहादुर लिम्बूका उहाँ कान्छो र एक मात्र छोरा हुनुहुन्छ । मिक्लाजुङमै बसोबास गर्दै आउनु भएका कवि गगनले स्कुले जीवनबाटै कविता लेखनको यात्रा प्रारम्भ गर्नुभएको थियो । कवितासँगै निबन्धमा पनि उहाँ उत्तिकै सक्रियताका साथ कलम चलाउनु हुन्छ । उहाँले स्नातक तहसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएको छ । उहाँ मिक्लाजुङ साहित्य समाजका अध्यक्ष र नेपाली साहित्य समाज उर्लाबारीका उपाध्यक्ष हुनुहुन्छ । त्यसअघि उहाँले टाँडीकुञ्ज परिवारको संस्थापक अध्यक्ष भएर काम गर्नु भएको थियो । त्यसको स्थापना २०७१ सालमा भएको थियो । “जरुवा” साहित्य चाैमासिक पत्रिकाको उहाँले प्रकाशन र सम्पादनसमेत गर्नुभएको छ ।
हालसम्म एकल कृति प्रकाशित नभए पनि संस्थागत रुपमा प्रकाशित कृतिहरूमा उहाँका सिर्जनाहरु समावेश हुँदै आएका छन् । २०७९ सालमा सुनसरीको धरानमा आयोजित राष्ट्रिय कविता महोत्सवमा उहाँले दोस्रो स्थान हासिल गर्नुभएको थियो । त्यसका अलावा स्थानीय स्तरमा अन्य थुप्रै पुरस्कारहरु उहाँले प्राप्त गर्नुभएको छ । मान्छे बन्नकै लागि भए पनि कविता लेखनमा आएको बताउने कवि गगन लेखनसँगै कृषि पेशामा आबद्ध हुनुहुन्छ । कुनै निश्चित परिभाषाभित्र राखेर कवितालाई सङ्कुचित पार्न नचाहने कवि गगन अभिव्यक्तिको सबैभन्दा सुन्दर र विशिष्ट माध्यम कविता हो भन्ने ठान्नुहुन्छ । “कविले बाँचेकाे जीवन र उसले अङ्गिकार गरेको वैचारिकीमा धेरै फरक हुनु हुँदैन। कवि सधैँ इमानदार हुनुपर्छ। राष्ट्र र समाजप्रति उत्तरदायी हुनु जरुरी पनि छ । कविता लेख्दैमा मात्र काेही कवि हुँदैन । उसकाे जीवनशैली, उसकाे वैचारिकी, समाज र राष्ट्रप्रतिकाे जिम्मेवारीले मात्रै ऊ कवि हुन्छ ।” उहाँ भन्नुहुन्छ ।
===
अब लागौँ कवि गगन योक्पाङ्देनसँग गरिएको कुराकानीको सम्पादित अंशतर्फ….
पोइट आइडलमा लामो समय बसेर अहिले घर फर्किनु भएको छ । आइडलको धङ्धङीले छोडिसक्यो कि बाँकी नै छ ?
– पाेइट आइडलकाे क्रिएटिभ टिमसँग सहकार्य गर्दै त्यति भव्य र सभ्य मञ्चमा हरेक हप्ता कविता प्रस्तुत गरिरहन पाउनु आफैँमा दुर्लभ अवसर थियो । मञ्च र क्रिएटिभ टिमप्रतिकाे माेह नभएको भने होइन । मैले त्यस मञ्चलाई अवसरकाे रूपमा ग्रहण गरेको थिएँ, दुर्वेसनकाे रूपमा होइन । त्यसैले तपाईंले भने जस्तो ममा धङधङी छैन । यदि थियो भने पनि मैले त्यसै मञ्चमा छाेडी आएँ ।
पोइट आइडलको विभिन्न चरण पार गर्दै उत्कृष्ट ७ सम्म आइपुग्नु आफैँमा ठुलो कुरा थियो । त्यहाँसम्म आइपुगेर मञ्चबाट बाहिरिनु पर्दाको पीडाले चाहिँ कत्तिको गाह्रो महसुस गरायो ?
– मलाई रियालिटी शाेकाे चरित्र र स्वभाव कस्तो हुन्छ भन्ने कुराकाे जानकारी धेर थाेर थाहा थियो। यस्ता कार्यक्रमका लागि म कत्तिको उपयुक्त पात्र हुँ / होइन भन्ने कुराकाे पनि मलाई हेक्का थियो । याे एउटा प्रक्रिया हाे । हरेक हप्ता याे प्रक्रिया अन्तरगत काेही न काेही बाहिरिनु नै पर्थ्याे । जस्तोसुकै आउने परिणामकाे सामना गर्न म मानसिक रूपले तयार थिएँ । फेरि म उपाधि जित्नै पर्छ भनेर सहभागी भएको थिइनँ । कविकाे रूपमा आफ्नाे परिचय दिनु थियोे । केही हदसम्म मेरो उद्देश्य पूरा पनि भइसकेको थियो । त्यसैले बाहिरिँदा उस्ताे बिस्मात लागेन।
पोइट आइडलको उत्कृष्ट १४ मा परेदेखि यता उत्कृष्ट ७ सम्म आउपुग्दा एक पटक पनि रेडजोन अर्थात बटम टुमा नपर्ने दुई कविमध्ये एक तपाईं पनि हो । तर पहिलो पटक रेडजोनमा पर्ने बित्तिकै तपाईं आउट हुनुभयो । कविताको बलले कम्तीमा एक पटक भए पनि आफूलाई जोगाउन सकेको भए फाइनलमा प्रवेश गर्ने सम्भावना रहन्थ्यो होला नि ?
– मेरो प्रतिभा र क्षमतामा विश्वास गरेर विभिन्न महानुभावहरूले देश विदेशबाट मलाई सहयोग गरिरहनु भएको थियो । उहाँहरूकाे माया र साथले म एक पटक पनि बटममा परेको थिइनँ । जब बटम टुमा परेँ, तब कविताको सामर्थ्यले म सुरक्षित हुन्छु भन्ने लागेको थियोे । तर परिणाम मेरो अनुकूल आएन । मैले यी सबै घटनाहरूलाई सामान्य रूपमा लिएको छु ।
हरेक हप्ता रेडजोन अर्थात बटम टुमा परेपछि दुई कविबीच हुने अन्तिम प्रतिस्पर्धामा जम्मा एक अङ्कको मात्र अन्तरले पराजित हुनु पर्यो तपाईं । यो प्रतिस्पर्धालाई कसरी हेर्नुहुन्छ ?
– कति अङ्कले अन्तर पार्याे भन्ने विषयले भन्दा पनि पाेइट आइडलकाे मञ्चमा कसले निरन्तरता पायाे र कसकाे यात्रा टुङ्गियाे भन्ने विषय चाहिँ महत्त्वपूर्ण हाेला । निर्णायकज्यूहरूले मेरो भन्दा पनि मेरो प्रतिद्वन्द्वी कविकाे कवितालाई विश्वास गर्नुभयो । मूल्याङ्कनकर्ताहरूले कविताको निष्पक्ष मूल्याङ्कन गर्नुभयो हाेला भन्ने नै लागेको छ ।
“अलिकति बेसी बल गरेको भए त जितिने रैछ नि !” भन्ने पनि लाग्यो होला पछि ?
– मलाई माया गर्ने शुभेच्छुकहरूबाट साथ सहयोग प्राप्त गरिरहेको थिएँ । मैले पनि इमानदार रुपमा प्रयत्न गरिरहेको थिएँ । म मेरो शुभेच्छुक र मेरो परिश्रमकाे अर्को ढङ्गले मूल्याङ्कन गर्न चाहन्न ।
पोइट आइडलमा त्यसअघि दुई पटक रेडजोनमा परेर आफूलाई सुरक्षित गर्न सफल कवि मुनु अधिकारीसँग आफू रेडजोनमा परेर अन्तिम प्रतिस्पर्धा गरिरहँदा आइडलको मञ्चमा आफ्नो आगामी यात्रा बारे के ख्याल आएको थियो त्यतिबेला ?
– परिणाम जस्तो आए पनि सहजतापूर्वक स्वीकार गर्छु । प्रतिकूल परिणाम आफ्नाे सिर्जनात्मक गतिमा अवराेध बन्नु हुँदैन भन्ने लागेको थियोे ।
तपाईंहरू दुई जना रेडजोनमा परेपछि कविता लेखनका लागि विषयवस्तु दिने क्रममा एक जना मानिस टिनको एउटा पुरानो बाकस बोकेर मञ्चमा आइपुग्छन् । बाकसभित्रका आफ्ना पुराना सामानहरु हेर्दै ती मानिस घरी भावुक बन्छन् । घरी केही सम्झिएझैँ गरी मख्ख पर्छन् । घरी मुसुक्क हाँस्छन् । त्यसरी उनले मौन अभिनय प्रस्तुत गरिरहँदा तपाईंले चाहिँ के के सम्झिनुभयो ?
– मैले आफ्नाे बाल्यकाल र किशोर अवस्था सम्झिएँ । अनि कवितामा आफ्नाे अनुभूति र पात्रकाे भाेगाइलाई समेटेर विषयलाई सम्बाेधन गर्ने प्रयत्न गरेँ ।
लामो समयपछि पहिलो पटक रेडजोनमा परेर त्यसरी दिइएको विषयवस्तुमाथि आधा घन्टाभित्र कविता लेख्नु पर्दाको अनुभव चाहिँ कस्तो रह्यो ?
– कविकाे सिर्जनात्मक क्षमताकाे मूल्याङ्कन गर्ने याे विधि हाम्रो लागि अनाैठाे थिएन । यसभन्दा अघि पनि हामीले अडिसन दिँदा “आशु कवि राउण्ड” मा १५ मिनेटमा कविता लेखेर प्रस्तुत गरिसकेका थियाैँ । केही मिनेटभित्रै प्रस्तुत गरेको विषयमाथि कविता लेख्नु साँच्चिकै सकसपूर्ण थियो ।
पोइट आइडलमा हरेक हप्ता एउटा विषयवस्तु दिएर कविता लेख्न लगाइन्छ । त्यसको साटो आफैँले पहिले लेखिसकेका अथवा आफ्नै इच्छाअनुसार त्यतिबेला लेखेका कविता प्रस्तुत गर्न पाएको भए अझै राम्रो हुन्थ्यो होला भन्ने पनि लाग्यो कहिलेकाहीँ ?
– कविता लेख्ने भन्दा पनि फुर्ने विषय हाे जस्तो लाग्थ्यो । आफूले भाेगेर, देखेर र पढेर कुनै पनि विषयले छुन्छ अथवा जब तीव्र अनुभूति हुन्छ अनि कविता लेख्ने हाे भन्ने मेरो परम्परागत मान्यता थियो । त्यो मेरो मान्यता चाहिँ पोइट आइडलमा आएर भत्कियाे । हामीले हरेक पटक टिमले प्रस्तुत गरेको विषयमा केन्द्रित रहेर कविता लेख्नुपर्थ्याे । मलाई हरेक पटक विषय प्राप्त गरिसकेपछि डर लाग्थ्यो । कस्तो कविता लेखिने हाे ? अनि बाहिरबाट हाम्रो कस्तो मूल्याङ्कन हुने हाे ? भनेर । चुनाैतिकै सामना गर्नु भनेर प्रक्रियामा सहभागी भइसकेपछि चुनाैतिबाट पन्छिने कुरा पनि भएन । फेरि हाम्रो चाहानाले कार्यक्रमकाे ढाँचा परिवर्तन हुने सम्भावना पनि त थिएन ।
तपाईंले पोइट आइडलको मञ्च छोड्दै गर्दा कवि तथा निर्णायक उपेन्द्र सुब्बाज्यूले “पोइट आइडलमार्फत जति फराकिलो परिचय बन्यो त्यो भन्दा अझै फराकिलो परिचय बाहिर बसेरै बनाउने हो । त्यसको लागि प्रयास गरिराख्नुस्” भन्ने खालको सुझाव तपाईंलाई दिनुभएको थियो । आगामी दिनमा तपाईंले चाहिँ कसरी आफूलाई कवितामा सक्रिय बनाउने योजना बनाउनु भएको छ ?
– कविता इतरका विधाहरुमा पनि सक्रियतापूर्वक कलम चलाउने भन्ने बारे साेचिरहेको छु । परिचयकाे दायरा फराकिलो बनाउने नाममा सस्तो प्रचार-प्रसार, विज्ञापनबाजी, हाेहल्ला र भीडमा विश्वास नगरी स्वाभिमानपूर्वक लेखिरहनेछु ।
पोइट आइडलको मञ्च छोड्दै गर्दा तपाईंले एउटा आरोप लगाउनु भयो । विभिन्न साहित्यिक कार्यक्रम र मिडियाहरूमा एक किसिमको सिन्डिकेट छ भन्ने खालको कुरा गर्नु भएको थियो । तपाईंलाई त्यस्तो किन लाग्यो ?
– झट्ट सुन्दा मेरो कुरा कुण्ठा जस्तो मात्रै सुनिएला । तर यथार्थ यस्तै छ । कार्यक्रम आयाेजकहरू र मूलधारकाे भनिने मिडियाहरू अपवादबाहेक सीमित घेरा र सर्कलहरूमै रमाइरहेका छन् । गुट/समूह भन्ने कुरा साथ सङ्गत र वैचारिकताले गर्दा स्वत: निर्माण हुने गर्छ । समूह निर्माण हुनु आफैँमा नराम्रो होइन । तर आफ्ना समूहका लागि मात्रै अवसर उपलब्ध गराउनु, प्रकाशन गर्नु, मञ्च दिनु, इतर समूहप्रति सकारात्मक दृष्टिकोण नराख्नु जस्ता प्रवृत्ति चाहिँ नराम्रो हाे । मूलधारकाे मिडियाहरूमा प्रकाशित साहित्यिक परिशिष्टाङ्कहरूकाे मात्रै पनि केही हप्ता या महिनाकाे अध्ययन गर्ने हाे भने प्रायः एकाध व्यक्तिहरूकाे लेख रचनाहरू दाेहाेरिरहेको पाइन्छ । कसैलाई चाहिँ अवसरमाथि अवसर छ । कुनै स्रष्टाहरू भने अवसर नपाएर अँध्यरोमा पुरिरहेकाे अवस्था छ । कार्यक्रमहरूमा पनि याे भन्दा फरक दृश्य छैन । प्रायः उही स्रष्टा, उही वक्ताहरूलाई झेल्नु परिरहेको अवस्था छ । विडम्बना कस्तो भने त्यो स्रष्टाले कुन कुन रचना वाचन गर्छ ? त्यो वक्ताले के बाेल्छ ? भन्ने कुराकाे सम्म अनुमान गर्न सकिन्छ । नयाँ कुरा प्रायः केही पनि हुँदैन ।
मैले जाेडसँग बाेल्न खाेजेकाे कुरा यति मात्रै हाे । यदि कसैसँग याेग्यता र क्षमता छ भने प्रतिभा र क्षमताको मूल्याङ्कन गरेर कुनै पनि स्रष्टालाई अवसर उपलब्ध गराउनु पर्छ ।
मेरै अनुभवको कुरा गर्ने हाे भने पनि मैले मूलधारकाे भनिने मिडियाहरू अर्थात तपाईं सम्बद्ध साहित्यपाेस्टमा पाेस्टर कविताबाहेक अन्य रचनाहरूले प्रकाशित हुने साैभाग्य पाएन । मेरा रचनाहरू कमजोर भएर होइन, पहुँच नभएर चाहिँ प्रकाशित नभएको रहेछ भन्ने कुराकाे पुष्टि आज आएर पोइट आइडलको मञ्चले गर्याे । ममा र मेरो रचनामा पनि सामर्थ्य रहेछ भन्ने कुराकाे पुष्टि पाेइट आइडलकाे मञ्चले गरिदिएको छ ।
पोइट आइडलकै मञ्चमा तपाईंले “कुनै समय म रियालीटी शोप्रति नकारात्मक थिएँ” भन्ने कुरा राख्नु भएको थियो । तर तपाईं आफैँ कविताको रियालिटी शोमा भाग लिएर यहाँसम्म आइपुग्नु भयो । तपाईंको त्यो नकारात्मक सोचलाई के कुराले परिवर्तन गर्यो ? कि आफूले भाग लिएपछि सबै कुरा ठिक लाग्ने हुन् ?
– इमानदार भएर भन्नुपर्छ, आजसम्म मैले कुनै पनि रियालिटी शाेका प्रतिस्पर्धीलाई एक भाेट पनि गरेको छैन । तर मैले आफैँले भाेट माग्नु पर्ने स्थिति भयो । एक प्रकारको नैतिक सङ्कटकाे सामना मैले गर्नुपर्याे । कुनै पनि प्रतिभाको मूल्याङ्कन उसमा निहित क्षमताको आधारमा हुनुपर्छ भन्ने मेरो मान्यता हाे । तर कार्यक्रम आयोजकहरूकाे पनि आफ्नै बाध्यताहरु हुन्छन् । आज पनि रियालिटी शाेप्रतिकाे मेरो धारणामा फरक छैन ।
आइडलको मञ्च छोड्दै गर्दा, “जसले जिते पनि कविताले चाहिँ नहारोस्” भन्ने कुरा गर्नुभएको थियो । यसको मतलब भोटका कारणले मात्र कोही विजेता नबनोस् भन्ने नै हो । तर रियालिटी शोमा भोटबाहेक अर्को कुराले जित्ने कुरा रहन्न पनि । के भन्नुहुन्छ ?
– रियालिटी शाेकाे विडम्बना नै यही हाे । क्षमता र याेग्यताले अघि बढ्ने ठाउँमा अन्य केही कुराले नतिजालाई प्रत्यक्ष हस्तक्षेप गर्छ । याे कविताको रियालिटी शाे हाे । यसलाई अति व्यवसायीकरण गर्नु हुँदैन । नाफा मात्रै कमाउने उद्देश्य राख्ने हाे भने त अन्य क्षेत्रहरू छन् नि त । कविताको मूल्य र गरिमालाई सम्मान गर्ने हाे भने त सम्बन्धित संस्था/ कम्पनीले गम्भीरतापूर्वक साेच्न आवाश्यक छ र साेचेकाे छ भन्ने कुरामा पनि म विश्वस्त छु ।
हिजोका दिनमा एउटा सीमित सर्कलमा परिचय बनाएको कवि गगन याेक्पाङ्देनको पोइट आइडलमार्फत आज अलिक फराकिलो पहिचान बनेको छ । यसो हुनुमा आफ्नो भाग्यलाई बेसी जस दिनुहुन्छ कि आफ्नो मेहनतलाई ?
– म आफ्नाे परिश्रम र लेखनप्रति विश्वास गर्छु ।
तपाईंको नजरमा पोइट आइडलको सबैभन्दा सुन्दर पक्ष के हो जस्तो लाग्छ ?
– यी र यस्ता कार्यक्रमहरूले अवसरबाट वञ्चित प्रतिभालाई मञ्च प्रदान गर्दै चर्चाको उज्यालोमा ल्याउने काम गर्छ ।
“रियालिटी शो” भनेपछि भोटको कुरा आइहाल्छ । आइडलको मञ्चमा तपाईंले पनि थुप्रै पटक आफ्ना लागि भोट माग्नु भयो । एउटा कविका लागि कत्तिको गाह्रो हो रैछ यो भोट माग्ने कुरा ?
– अँ, एउटा स्वाभिमानपूर्वक लेखिरहेको स्रष्टालाई दुनियाँसामु हात पसार्दै भाेट माग्नु साँच्चिकै गाह्रो रहेछ ।
लामो समयसम्म पोइट आइडलको क्लोज क्याम्पमा रहनुभयो । समग्रमा कस्तो रह्यो त्यहाँको बसाइ चाहिँ ?
– पाेइट आइडलकाे क्लाेज क्याम्पमा बिताएको याे तीन महिनाकाे अवधिलाई मैले मेरो सिर्जनात्मक यात्राको महत्त्वपूर्ण ट्रनिङ पाेइन्ट ठानेको छु । समग्रमा बसाइ सुखद, उपलब्धिमूलक , अविस्मरणीय र एकदमै पारिवारिक रह्यो ।
द पोइट आइडल हुँदैछ भनेर पहिलो पटक सुन्दा त्यसमा सहभागी हुने कि नहुने ? भन्ने विषयमा द्विविधा थियो भन्नुभएको छ । त्यस्तो द्विविधा किन भयो ?
– मैले माथि नै उल्लेख्य गरेँ । रियालिटी शाेलाई हेर्ने मेरो धारणालाई लिएर हाे । अनि कविताको रियालिटी शाे भनेपछि सहभागी भइहाल्न म हच्किएकाे हुँ । अन्य विधा जस्तो होइन कविता । कविताको आफ्नै विशिष्ट मूल्य हुन्छ । सिधै कविताको रियालिटी शाे गरेर बजारमा जाँदा त्यसले पार्न सक्ने असरलाई लिएर म द्विविधामा थिएँ ।
पोइट आइडलको डिजिटल अडिसनमा भाग लिइसकेपछि चाहिँ आइडलको मञ्चमा कहाँसम्म पुगिएला भन्ने सोच्नु भएको थियो सुरुमा ?
– उपाधि नजिते पनि निकै नजिकसम्म पुग्न सक्छु भन्ने आत्माविश्वास थियोे ।
पोइट आइडलमा भाग लिएर विशेष के कुरा सिक्नु भयो कविता सम्बन्धी ?
– कवितालाई नाट्यरूपमा प्रस्तुत गरेको र सङ्गीतकाे संयाेजन गरेर कवितालाई प्रस्तुत गरेको त थाहा थियो । तर प्रत्यक्ष देखेकाे र भाेगेकाे चाहिँ याे पहिलो अनुभव हाे । यसरी पात्र र सङ्गीतकाे संयाेजन गरेर कवितालाई जीवन्त बनाउन पनि सकिँदाे रहेछ भन्ने कुराकाे गहिरो गरी अनुभूत गरेँ ।
पोइट आइडललाई सम्रगमा कसरी हेर्नुहुन्छ ? यस किसिमका कार्यक्रमले नेपाली कविताको क्षेत्रमा कस्तो प्रभाव पार्ला भन्ने यहाँलाई लाग्छ ?
– पाेइट आइडललाई कविताकाे क्षेत्रमा प्रयोग गरिएकाे नवीन र एक सार्थक काेसिसकाे रूपमा लिएको छु । परम्परागत धारभन्दा बिलकुलै भिन्नै कन्सेप्टको साथ आएको याे कार्यक्रमले नेपाली कविताको श्रीवृद्धिमा याेगदान गर्नेछ भन्ने कुरामा विश्वास लिएको छु ।
समग्रमा तपाईंका लागि पोइट आइडलको यात्रा कस्तो रह्यो ?
– पाेइट आइडलमा मेरो जे जति र जस्तो यात्रा रह्यो, सार्थक र सफल भयो भन्ने लागेकाे छ ।
जाँदाजाँदै अन्त्यमा केही ?
– सबैभन्दा पहिले त चलिरहेको धारभन्दा एकदमै भिन्नै कन्सेप्टकासाथ हिम्मत गरेर याे कार्यक्रम आयोजना गर्ने सम्पूर्ण टिमप्रति धन्यवादज्ञापन गर्न चाहन्छु । मेरो कवितालाई विश्वास गरेर साथ सहयोग गर्नु हुने सबैप्रति आभारी छु । मिक्लाजुङ साहित्य समाज र माेरङकाे मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष श्री बबिकुमार राईज्युप्रति विशेष आभारी छु । पाेइट आइडलमा मेरो यात्रा मात्रै टुङ्गिएकाे हाे, कविता लेखनकाे होइन । कविता लेखनको लागि त सिङ्गो जीवन र कविताको महान अनि हार्दिक विधा छँदै छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।