
काठमाडौँ । नेपाली साहित्यका आख्यानकार गणेश रसिक र ध्रुव सापकोटा ‘परशु–कल्पना स्रष्टा सम्मान’ बाट सम्मानित हुनुभएको छ । नेपाल स्रष्टा समाजद्वारा मंगलबार आयोजित एक समारोहमा उहाँहरूलाई जनही ५० हजार १०१ रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गरिएको हो।
पाँच दशकभन्दा बढी समयदेखि नेपाली साहित्यको आख्यान क्षेत्रमा योगदान पुर्याउनुभएको रसिक र सापकोटालाई यो सम्मान प्रदान गरिएको हो। साहित्यकार पवन आलोकको संयोजकत्वमा गठित छनोट समितिको सिफारिसलाई समाजको कार्यसमितिले स्वीकृत गरेपछि उहाँहरूलाई सम्मान प्रदान गरिएको हो।
समारोहमा अतिथिहरू नगेन्द्रराज शर्मा, रोचक घिमिरे, पुरस्कारका संस्थापकमध्येका प्रतिबोध प्रधान, प्रतिमा प्रधान न्यौपाने र प्रतिक्षा प्रधान जोशीले संयुक्त रूपमा सम्मान अर्पण गर्नुभएको थियो । यो सम्मान नेपाली साहित्यमा आख्यान लगायत विभिन्न विधामा सशक्त कलम चलाउनुभएका आख्यानकार स्व. परशु प्रधान र उहाँकी धर्मपत्नी कल्पना प्रधानको नाममा उहाँका छोराछोरीहरूले स्थापना गर्नुभएको हो।
साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले यो पुरस्कार सही व्यक्तिले पाएको बताउँदै यसले साहित्यकारहरूलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । रोचक घिमिरेले स्व. प्रधानसँगको लामो समयदेखिको चिनजान र उहाँको साहित्यिक योगदान स्मरण गर्नुभयो । समितिका संयोजक पवन आलोकले स्व. प्रधानबाट आफू साहित्यमा प्रेरित भएको बताउनुभयो भने प्रा.डा. कृष्णप्रसाद दाहालले परशु प्रधानलाई नेपाली साहित्यको बृहस्पति भएको बताउँदै सम्मानित आख्यानकारहरूको योगदानको प्रशंसा गर्नुभयो ।
स्व. परशु प्रधानका छोरा तथा पत्रकार प्रतिक प्रधानले पिताको नाममा स्थापित यो सम्मानको निरन्तरता दिइने र सम्भव भएसम्म राशि बढाउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले स्व. प्रधानको सिर्जना र अरुलाई प्रोत्साहन गर्ने व्यक्तित्वको चर्चा गर्नुभयो । कार्यक्रम नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षता र सदस्य प्रदीप सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो। सदस्य शंकर भारतीले स्वागत मन्तव्य राख्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

