टारगाउँले कान्छो । चर्चित गीतकार तथा साहित्यकार गणेश रसिक लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा आज आयोजित एक कार्यक्रमका बीच सम्मानित तथा पुरस्कृत भएका छन्।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानले बालुवाटरस्थित चिल्ड्रेन मोडल स्कूलमा सम्पन्न गरेको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले रू. १०,०००/- को नगद राशिसहित पुरस्कृत तथा सम्मान गरेका हुन् ।
कार्यक्रममा सम्मानित व्यक्तित्व गणेश रसिकले लीलाध्वज थापा साहित्य प्रतिष्ठानबाट आफू सम्मानित हुनु पाउँदा अति नै खुशी लागेको र गर्वको अनुभूति भएको बताए । साथै, उनले’मन’ उपन्यासको प्रसङ्ग उठाउँदै साहित्यकार लीलाध्वज थापाको व्यक्तित्व तथा कृतिहरूका बारेमा समेत स्मरण गरेका थिए ।
सभापतिका आसनबाट बोल्दै अध्यक्ष विजयध्वज थापाले नेपाली साहित्य तथा गीतका क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्व गणेश रसिकलाई सम्मानित र पुरस्कृत गर्न पाउँदा प्रतिष्ठान नै सम्मानित तथा पुरस्कृत भएको महसुस भएको छ भन्दै उनले उपस्थित सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा वाङ्मय साहित्य प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले सम्मानित व्यक्तित्व गणेश रसिकको जीवनी र उनका कृतिहरूका बारेमा संक्षेपमा प्रकाश पारेका थिए ।
त्यसैगरी, कार्यक्रममा हङकङका विधायक पि.के. जोनले आफ्नो शुभकामना मन्तव्यका क्रममा हङकङ सरकारले नेपाली साहित्यको क्षेत्रमा सहयोग गर्न चाहेको बताउँदै आफ्नो कार्यकालमा हङकङ सरकारबाट आवश्यक सहयोग पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानको यो ५१ औँ रचना वाचनको सृङ्खला हो । शुरूमा मासिक रचना कार्यक्रम हुँदै आएकोमा गत असोजदेखि त्रैमासिक कार्यक्रम भएको हो ।
प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाकै सभापतित्वमा सम्पन्न रचना वाचन कार्यक्रममा दुई दर्जनभन्दा बढी स्रष्टाहरूले आ-आफ्ना रचना वाचन गरेका थिए ।
रचना वाचन गर्नेहरूमा विजयध्व थापा, सुन्दर खड्का, कुमार नेपाल, रूद्र अधिकारी, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, बद्री उप्रेती, नवशीला नवराज, नम्रता उप्रेती, अरूण खड्का, प्रद्युम्न जोशी, मदनकुमार नेपाल, रूपा रिसाल चालिसे, दुर्गा किरण तिवारी, निश्चल घिमिरे, राजेन्द्र घिमिरे, उत्तम विचार भेटवाल, मन भुजेल, दीपक पनेरू, लव खड्का, उमेश पाण्डे, धरणीधर गुरागाईँ, रत्न विरही घिमिरे तथा उदास कार्की थिए भने पूनम घिमिरेले आफ्नो बुबा रत्न विरही घिमिरेको रचना वाचन गरेकी थिइन् ।
कार्यक्रमको सञ्चालन उत्तम विचार भेटवालले गरेका थिए भने कार्यक्रम सञ्चालनका क्रममा बीच-बीचमा आफ्ना झण्डै एक दर्जन रचना वाचन गर्न समेत भ्याएका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।