काठमाडौं । नेपाल स्रष्टा समाजले आख्यानकारद्वय गणेश रसिक र ध्रुव सापकोटालाई संयुक्त रूपमा प्रतिष्ठित ‘परशु–कल्पना स्रष्टा सम्मान’ प्रदान गर्ने भएको छ। समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न बैठकले यो निर्णय गरेको हो।

पाँच दशकभन्दा बढी समयदेखि नेपाली साहित्यमा आख्यान क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएका रसिक र सापकोटा दुवैलाई रु. ५० हजार १ सय ११ रुपियाँ- नगदसहित सम्मान गरिनेछ। समाजका अध्यक्ष रोदनद्वारा जारी विज्ञप्तिमा उहाँहरूको बहुमूल्य योगदानको प्रशंसा गर्दै सम्मानको घोषणा गरिएको हो।

यो सम्मान आगामी चैत ५ गते काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रदान गरिनेछ। सम्मानका लागि साहित्यकार पवन आलोकको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसलाई समाजको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेको अध्यक्ष रोदनले जानकारी दिनुभयो।

रसिक र सापकोटाले नेपाली आख्यान साहित्यमा पुर्‍याउनुभएको अतुलनीय योगदानको यस सम्मानले उच्च कदर गरेको छ। उहाँहरूको साहित्यिक यात्रा र सिर्जनाले नेपाली साहित्यलाई थप उचाइमा पुर्‍याएको छ।