काठमाडौं ।  कवि शकुन आँसुको कविता सङ्ग्रह ‘नवयुगकी सुम्निमा’  विमाेचन सँगै परिचर्चा  सम्पन्न भएकाे छ ।

राष्ट्रिय नाचघर जमलमा सम्पन्न एक कार्यक्रमबीच कविहरू श्रवण मुकारुङ, डा. केशव सिलवाल र विमला तुम्खेवा, कविकाे जीवनसाथी चित्र बहादुर बाहिङहरूले संयुक्त रूपमा कृतिको विमाेचन गर्नुभएको थियो ।

कृतिउपर बाेल्दै कवि एवम् पूर्व प्राज्ञ श्रवण मुकारुङ राम्रो कविता पढ्न कठिन भइरहेको अवस्थामा कवि शकुन आँसुको कृति आएको र आफ्नो भाेक प्यास मेटिएकाे प्रतिक्रिया दिनुभयो । उहाँले अभिव्यक्तिकाे उपल्लो तहमा पुगेर कविले सिर्जना पस्किएकाे बताउनुभयो ।

डा. केशव सिलवालले साँस्कृतिक पहिचानसँगै आधुनिक सङ्घर्षका कथाहरू पनि कवि आँसुको कवितामा प्रकट भएको धारणा राख्नुभयो । त्यस्तै, कवि एवम् पत्रकार विमला तुम्खेवाले निर्धक्क ढंगले कविले आफ्नो कुराहरू राख्न सकेको बताउनुभयो । उहाँले समकालीन मात्रै नभएर पुरानो पुुस्ताका सर्जकहरूलाई पनि चुनाैती दिन सफल रहेको बताउनुभयो ।

पुर्ख्याैली घर खाेटाङ भएको कवि शकुन आँसु दक्षिण काेरियामा एक दशक रहँदा र नेपाल हुँदा सिर्जना गरेको ४२ कविता कृतिभित्र छन् । जसमा ‘समय यात्रा’ खण्डमा २७ र ‘ सिली सिलसिला’ खण्डमा १५ कविताहरू रहेका छन् । कवि शकुन आँसुले पहिलो कृति भएकोले संग्रहमा भएको कमजाेरीहरू  औँल्याइदिन  आग्रह गर्नुभयो ।

सम्भव समूहका संस्थापक सदस्य एवम् कवि उत्तम तुम्सा लिम्बुले सञ्चालन गरेको विमाेचन कार्यक्रममा सर्जक एवम् सञ्चारकर्मीहरू चन्द्रवीर तुम्बापाे, हेमन यात्री, प्रगति राई, बीना थिङ, उमेश अकिञ्चन, अमरदीप सुनुवार, अमित थेबे, नवीन प्यासी राई, सुनिता राई कन्दङ्वा, सीता तुम्खेवा, सुरज राना, मिथाेच, लगायतको उपस्थिति रहेको थियोे ।

‘नवयुगकी सुम्निमा’ भित्रबाट युग सर्वनामले ‘स्ट्रे’, स्वप्निल निरवले ‘ऊ गएको साँझ’, सुशीला निनामले ‘रेम्माखिम्’, कृष्ण कञ्चनले ‘फर्कि आउनेलाई’ कविता वाचन गर्नुभएको थियो ।