‘साहित्यपोस्ट काव्य पुरस्कार – २०८१’ का लागि ५  काव्य कृतिको छनौट भइसइसकेको छ । यो पुरस्कारको प्रायोजन कवि तथा गीतकार उत्तम भौकाजीले गर्नुभएको हो । यसै सन्दर्भमा उत्कृष्ट ५ कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट काव्य पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो । उत्कृष्ट ५ मा छनोट भएको कृति ‘नवयुगकी सुम्निमाकी स्रष्टा सकुन आँसुसँगको संवाद प्रस्तुत गरिएको छ ।

===

१. नवयुगकी सुम्निमामाथि पाठक प्रतिक्रिया कस्तो आइरहेको छ ? साहित्यपोस्ट काव्य पुरस्कारको छोटो सूचीमा तपाईँको पुस्तक पनि छनोट भएको छ, कस्तो महसुस गरिरहनुभएको छ ?

समग्रमा मिश्रित प्रतिक्रिया पाइरहेको छ । पाठकको फरक क्षमता, दक्षता र बुझाइ अनुरूप नै आउने होला प्रतिक्रिया जस्तो लाग्छ । सोही अनुरूपका सबैखाले प्रतिक्रिया स्वीकार्य छ । थप प्रतिक्रिया आइरहोस्, यो लोभ चैँ अझै छ । साहित्यपोस्ट काव्य पुरस्कारको छोटो सूचीमा पर्नु मेरा लागि ठूलो उपलब्धि हो । खुशी त अवश्व लाग्छ नै ।

२. प्रवासमा एक दशक बिताउनुभयो, तपाईँको धेरै साथीहरूले प्रवासमै बसेर पुस्तक प्रकाशन गर्नुभयो । तपाईँ चाहिँ पुस्तक प्रकाशन गर्न आफैँ आउनुभयो – तपाईँलाई प्रकाशकले विश्वास नगरेको हो कि तपाईँले प्रकाशकलाई विश्वास नगर्नुभएको हो ?

यो आत्मभोगाइ सबै बताउने हो भने यो पृष्ठ र समयले नपुग्ला । ‘नवयुगकी सुम्निमा’ प्रकाशन देश आएपछिको योजना पक्कै थिएन । परदेशमा हुँदाताकाकै योजनाभित्र थियो । तर त्यही हो, देशमा काम गर्ने वचन दिएका महान् व्यक्तित्वहरूले पत्याइदिनुभएन होला, र काम हुन सकेन । विश्वासको कुरामा चैँ, मैले पूर्णरूपमा गरेको विश्वासलाई उहाँहरूको अहमताको तलवारले च्वाट्टै पारिदिएको सत्य हो । जो साथीहरूले परदेशमै रहेर कृति निकाल्न सफल हुनुभयो, उहाँहरू धेरै भाग्यमानी ।

३. तपाईँको संग्रहभित्रको कविज्यु र सत्तामोह कविता पढेपछि तपाईँलाइ सोध्न मन लाग्यो- कविहरू कवितामा आदर्श मात्र लेख्नुहुन्छ ? तपाईँले जीवनमा भेट्नुभएको कविहरूको कविता र आचरण कतिको फरक पाउनुभएको छ ?

कविहरू अर्थात् साहित्यकारहरू समाजकै सर्वोत्कृष्ट, उच्च बौद्विक वर्गका व्यक्तित्वहरू हुन्, यसमा दुईमत छैन । तर यति भनिरहँदा पनि बाक्लै रूपमा आउने खराब आचरण, विषाद् व्यक्तित्व पदार्पण हुँदा चैँ लाग्छ – उहाँहरूको सिर्जनामा मात्र आदर्श रहेछ, जुन भ्रममा पाठकहरू फसिरहेछन् । लेखकहरूसँगको परिचय प्रायः उहाँहरूको सिर्जनाबाट नै हुन्छ । पछि सिर्जनाकै बाटो हुँदै नजिक भइन्छ । त्यसपछि देखिन्छ असली रूप, जुन सोचबाहिर हुन्छ । यस विषयमा अन्जान नै छु, तर केही सङ्गत र सञ्जालमार्फत् भोगिने, देखिने यस्ता व्यक्तित्वहरूप्रति खेद प्रकट गर्नु बाहेक उपाय हुँदैन । यस्तै सङ्गत र समयको प्रतिफल स्वरूप आउने होलान् कविताहरू ।

४. मातृसतात्मक समुदाय भन्ने गरिन्छ आदीवासी समुदायलाई, तर तपाईँका कविता पढ्दा तपाईँ हुर्किनु र बाँचिरहनु भएको समाज मातृसतात्मक छ जस्तो बुझिँदैन नि ? नवयुगकी सुम्निमाहरूको भूमिका के हुन्छ समान सत्ताका लागि ?

आदिवासी समुदाय मातृसत्तात्मक अवधारणाबाट सञ्चालित छ – यो मैले धेरैपछि मात्र बुझेँ, जतिखेर आफ्नो समुदाय संस्कृति बारे धेरथोर बुझ्ने प्रयास गरेँ । त्यसअघि त मैले न व्यवहारिक रुपमा भोगेँ न कसैबाट प्रभावित नै भएँ । म हुर्किएको परिवार, समाजमा पितृसत्ता नै हावी थियो । घरमा आमाहरू डराएको देखेर नानाहरू डराए, पछिपछि म डराउँथेँ । छोरी हुनुको घोचपेच समाजबाट हुन्थ्यो । छोरीको इज्जतका लागि आमाहरूको त्यो दयालाग्दो बचाउ प्रक्रिया र स्कुलिङ अहिले सम्झिँदा उदेक लाग्छ । भलै म किराँती समुदायप्रदत्त छोरी हुँ, तथापि घर आपाको हैकममा चल्थ्यो । त्योबेला मैले आफ्नो वरिपरि कहिलै देखिँन मातृसत्तात्मक रङ । तर अचेल धेरै हदसम्म सैद्धान्तिक रूपमा समानताको विषयमा आवाज उठिरहेको छ । तर फेरि व्यावहारिक रूपमा अवस्था नाजुक नै छ । अब यस लडाइँका लागि नवयुगकी सुम्निमाहरूको जागरूकता निभ्नु भएन, र हर्दम सत्ता विरूद्व बुलन्द स्वर उठाइरहनुपर्छ होला ।

५. पुरस्कारको छोटो सूचीमा तपाईंको पुस्तकसहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् अर्थात् तपाईंका प्रतिस्पर्धीका रूपमा बलिया कृतिहरू छन् । तपाईंले पुरस्कार जित्नु वा नजित्नुले तपाईंको आगामी साहित्यिक यात्रामा के अर्थ राख्छ ? तपाईंले साहित्यपोस्ट काव्य पुरस्कार पाउनु भएमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?

तपाईँको प्रश्न अनुसार सबै उत्कृष्ट, बलिया कृतिहरू प्रति मेरो सदा सम्मान छ । खासमा आफ्नो कृति पुरस्कृत हुनु भनेको खुशीको हिमाल उक्लिनु त हो नै, साथै सिर्जनाको उचाइबाट ततस्थानबाट नझर्नु पनि हो । सिधा भाषामा चुनौती हो । यसर्थ जित्नु र नजित्नुमा हर्ष र विस्मात् हुनुभन्दा पनि स्थिर भइबस्छु होला । पुरस्कार जितेँ भने लेखिरहन्छु नत्र लेख्ने काम बन्द गर्छु पक्कै होइन । यो क्षेत्रमा निरन्तर हिँडिरहने संकल्प आफैँसँग छ । यत्ति हो, पुरस्कृत भइहालेको खण्डमा चैँ यो लेखनयात्रामै मैले लेख्न नसकेको अविष्मरणीय मीठो कविता जस्तो सुन्दर इतिहास भएर बाँचिरहन्थ्यो होला । थप लेखिरहने ऊर्जा त छँदैछ । हे हे… यो त ‘बच्चा पाउनु कैले कैले कोक्रो बुन्नु अैले’, गाउँघर तिर बोलिने उखान जस्तै भइहाल्यो । तर निर्णायकज्यूहरूले यो अवसर दिनुभयो भने चैँ पुरस्कार समारोहकै दिन घोषणा गर्नेछु कि पुरस्कृत राशि के गर्नेछु भनेर… ।

६. अन्त्यमा, तपाईँका आगामी साहित्यिक योजनाहरू के के छन् ? बताइदिनुस् न ।

केही योजनाहरू छन् त्यो अहिले नै नबताऊँ । तर बाँकी जिन्दगी सिर्जनाकै क्षेत्रमा लगानी गर्ने प्रतिबद्वता चैँ यहीँबाट गर्दछु ।