पहिलो कृतिका रूपमा काव्यकृति प्रकाशनमा ल्याएर नेपाली साहित्य-संसारमा प्रवेश गरेका नवोदित कविहरू (डेब्यु कवि) का लागि खुशीको खबर ।

डेब्यु काव्यकृति (कविता, गजल, मुक्तक, खण्डकाव्य, महाकाव्य आदि) का लागि दिइने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८१’ का लागि उत्कृष्ट १२ काव्यकृतिहरूको सूची सार्वजनिक गरेका छौँ ।

यो सूची नयाँ लेखकहरूका २०८१ सालमा प्रकाशन भएकामध्ये हामीलाई प्राप्त ४२ काव्यसङ्ग्रहबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टिमले छानेको हो । पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।

छानिएका डेब्यु काव्यकृतिहरूमा अभिनेता तथा कवि राजवल्लभ कोइरालाको ‘औरा’, शकुन आँसुको ‘नवयुगकी सुम्निमा’, अमरदीप सुनुवारको ‘पृथ्वीको श्वेतपत्र’, हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’, जगन्नाथ पौडेलको ‘बग्दाबग्दै’, आर्यशको ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’, विपिन पाठकको ‘मरुभूमिमा वासन्ती याम’, मधुसुदन घिमिरेको ‘मायाको आयतन’, डिइबी सिकारुको ‘यौवन हराएको मान्छे’, राम अधिकारीको ‘सपना र छायाहरू’, सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’  कवितासङ्ग्रह रहेका छन् । त्यसै, सूचीमा विवश पौडेलको गजलसङ्ग्रह ‘धर्तीको जून’ रहेको छ ।

यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ भने तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल काव्यकृतिमध्ये उत्कृष्ट तीनको छनौट गरिने छ । उत्कृष्ट तीनमध्येबाट सर्वोत्कृष्ट कृति छनौट गरी ५० हजार राशिको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ प्रदान गरिने छ ।

‘०८१ सालभरमा प्रकाशनमा आएका नवोदित कविका ४२ काव्यकृति हामीले प्राप्त गर्‍यौं । यो सूची तिनै उपलब्ध डेब्यु काव्यकृतिहरूबाट छानिएको हो ।’, पुरस्कार निर्णायक समितिका संयोजक एवं साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भन्नुभयो, ‘वर्षभरि प्रकाशन गरिएका नयाँ लेखकको पहिलो कृतिलाई सम्मान गर्ने योजनाअनुरूप अघिल्ला वर्षहरूझैँ यसपटक पनि तीन विधामा ३ वटा कृतिलाई ५०–५० हजार रुपैयाँ नगद र ताम्रपत्रले सम्मान गर्ने योजना बनाएका हौँ ।’

कोइरालाका अनुसार लामो सूचीमा रहेका १२ वटा काव्यकृतिले नयाँ कविहरू के लेख्दैछन्, र नेपाली काव्यसाहित्यको भविष्य कस्तो छ भन्ने कुराको सङ्केत गरेको छ । उहाँले भन्नुभयो, ‘लेखनका हिसाबले नयाँ पुस्ताको काव्य लेखन समृद्ध बन्दै गएको हामीले महसूस गरेका छौँ ।’

०७७ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का नाममा केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो । दोस्रो वर्षमा ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी दुई विधामा प्रदान गरिएको पुरस्कार क्रमश: भवानी खतिवडाकृत ‘घामभन्दा पहिले’ र शान्ति प्रियवन्दनाकृत ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’लाई प्रदान गरिएको थियो ।

०७९ सालका लागि यो पुरस्कार काव्य, आख्यान र गैरआख्यान गरी तीन विधामा क्रमशः प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’, हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ र डा. अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’लाई प्रदान गरिएको थियो । त्यस्तै गत वर्ष देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थमाको निधारबाट बागमती बग्छ’, सागर खड्काको उपन्यास ‘राइपाली भञ्ज्याङ्’ र उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’लाई प्रदान गरिएको थियो ।

अघिल्लो वर्षझैँ यस वर्ष पनि तीन विधाका उत्कृष्ट तीन डेब्यु कृतिलाई ५०-५० हजार राशिसहित सम्मान गर्न लागिएको हो ।

‘छानिएका यी कृतिहरूलाई साहित्यपोस्टका विषय सम्पादक तथा स्वतन्त्र निर्णायकहरूलाई जिम्मा लगाइने छ । उहाँहरू प्रदान गरेको अङ्कका आधारमा छोटो सूची सार्वजनिक गरिने छ ।’, साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गेलले भन्नुभयो, ‘लेखकको पहिलो पुस्तक नै स्तरीय बन्नुपर्छ भन्नेमा सम्बद्ध निर्णायकहरू कटिबद्ध हुनुहुन्छ । यी १२ वटा कृतिहरूमध्येबाट पनि उत्कृष्ट कृति विजेता छनोट हुने कुरामा साहित्यपोस्ट समूह पूर्ण विस्वस्त छ ।’

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरू लोकप्रिय छन् ।

‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को लामो सूची क्रमशः वैशाख २० गते शनिबार र वैशाख २२ गते सोमबार घोषणा गरिने छ ।

प्रस्तुत छ, २०८१ सालका उत्कृष्ट १२ डेब्यु काव्यकृतिहरूको सूची:

१. औरा – राजबल्लभ कोइराला

बहुचर्चित चलचित्र ‘पर्खी बसेँ’का अभिनेता राजबल्लभ कोइरालालाई कवि बनाएको कृति हो ‘औरा’ । कोइरालाका कवितामा सम्बन्ध, समाज, मानवीय स्वभाव, देश परदेश लगायत बृहत् आयतनका बिम्बहरू समेटिएका छन् । विशेष गरी उनका छोटा आयतनका कविताहरूले सरल बिम्बमा गहिरो झंकार पैदा गराउँछन् । सरल शब्द र बिम्बको संयोजनमा गहन चिन्तन प्रस्तुत गर्नु उनको विशेषता रहेको देखिन्छ ।

२७ नेपाली फिल्मका साथै नेपाली पृष्ठभूमिको अंग्रेजी चलचित्र ‘हाइवे टु धम्पुस’मा अभिनय गरी अन्तर्राष्ट्रिय स्तरमा समेत नाम कमाएका कोइराला एक दशकदेखि अमेरिकामा छन् । पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।

२. धर्तीको जून – विवश पौडेल

‘धर्तीका जून’ बहरमा लेखिएको गजलसङ्ग्रह हो जुन यो गजलकार विवश पौडेलको पहिलो कृति हो । विवशका गजलमा छन्दमा गहिरो पकड, शब्दमा मितव्ययिता र कथ्यमा सरलता विशेषताका रुपमा देखापरेका छन् । २६ प्रकारका बहरमा लेखिएका गजलका शेरहरूले हृदयको आवाज बोलेका छन् भने सपना–विपना, प्रेम–सम्बन्ध, राजनीति–समाजिक प्रवृत्ति लगायतका विषयवस्तु समेटिएका छन् ।

शिक्षण पेशामा आबद्ध पौडेलले बजारशास्त्र तथा नेपालीमा स्नातकोत्तर गरेका छन् । पुस्तकलाई रिता निरौलाले प्रकाशनमा ल्याएकी हुन् ।

३. नवयुगकी सुम्निमा – शकुन आँसु

सशक्त युवाकवि शकुन आँसुको कवितासङ्ग्रह हो ‘नवयुगकी सुम्निमा’ । आँसुका अधिकांश कविता आममानिसको जीवनभोगाइको जगको उभिएका छन् । कविताले लैंगिक, समाजिक तथा राजनीतिक समानता, सीमान्तकृत समुदाय तथा संस्कृतिक अस्तित्वको रक्षाको पक्षमा वकालय गरेका छन् । यस अर्थमा उनका कविताहरू भावनात्मक पृष्ठभूमिबाट उठेर विचार–मन्थनतिर अग्रसर भएका छन् ।

कवितासङ्ग्रह ‘समयको यात्रा’ र ‘सिली सिलसिला’ गरी दुई खण्डमा विभाजित छन् । तुलनात्मक रुपमा पहिलो खण्डमा सरल, मुलायम तथा प्रेमिल कविताहरू रहेका छन् भने दोस्रो खण्डका कविताहरूले विद्रोह बोलेका छन् । पुस्तकलाई इतर अभियानले प्रकाशनमा ल्याएको हो ।

४. पृथ्वीको श्वेतपत्र – अमरदीप सुनुवार

निजामती सेवामा कार्यरत कवि हुन् अमरदीप सुनुवार, र उनको पहिलो कृति हो कवितासङ्ग्रह ‘पृथ्वीको श्वेतपत्र’ । सुनुवारका कविताहरूमा पर्यावरणीय चेतना जताततै देख्न सकिन्छ जुन कुरा पुस्तकको शीर्षकमै पनि प्रतिबिम्बित भएको छ । उनका कवितामा देश र जनताको समृद्धिका साथै किरात संस्कृतिको अभिव्यक्ति पनि पाइन्छ ।

सरल शब्द र बिम्बमा जीवन–जगत्, समाजिक तथा मानवीय भोगाइलाई सकरात्मक रुपमा प्रस्तुत गर्नु सुनुवारको विशेषता रहेका छन् । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।

५. बन्द कोठाको झ्याल – हेमन्त शिशिर

‘विश्व–ज्योति पाण्डुलिपि पुरस्कार २०८१’ प्राप्त गर्दै प्रकाशनमा आएको कृति हो ‘बन्द कोठाको झ्याल’ । कृतिका लेखक हुन् युवाकवि हेमन्त शिशिर । कृतिमा वर्तमान समाजका यथार्थ, सङ्घर्ष तथा उज्यालाहरू बिम्बित भएका छन् । शिशिरका कविता अन्यायविरुद्ध प्रतिरोध तथा दलनविरुद्ध विद्रोहका साथमा मौलिक सौन्दर्य लिएर उभिएका छन् ।

कविले गहिरो अध्ययनबाट निर्मित चेतनाको प्रयोग गरी गहन बिम्बबाट प्रश्न गर्दै पाठकहरूबाट समेत उस्तै अपेक्षा राखेका छन् । पुस्तकलाई साङ्ग्रीला बुक्सले प्रकाशनमा ल्याएको हो ।

६. बग्दाबग्दै – जगन्नाथ पौडेल

अमेरिका निवासी डायस्पोरिक कवि जगन्नाथ पौडेलको कवितासङ्ग्रह हो ‘बग्दाबग्दै’ । सूक्तिमय शब्दसंयोजना रहेका कविताले भरिएको कृतिमा बिम्ब तथा सङ्केतहरूको भरपुर प्रयोग पाइन्छ । कृति अनुभूति तथा संवेदनाको काव्यिक संयोजनको रुपमा उभिएको छ । डायस्पोरिक जीवन, जडताग्रस्त समय, मानवीय सन्ताप, आत्मनिर्णयको अधिकार, संस्कारित सीमा, क्षयग्रस्त पर्यावरण, इतिहासका गति र विकासहरू पौडेलका कविताका विषयमूल्य हुन् ।

कृतिका कविताहरूको विषय र विशेषताका आधारमा ‘हाँगा’, ‘पात’, ‘फल’, ‘सेउला’, ‘रुख’ र ‘जरा’ गरी छ भागमा विभाजन गरिएको छ । पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।

७. म तिमी आउनुअघि नै गइसकेको थिएँ – आर्यश

एक दशकदेखि सशक्त कविता लेखनमा सक्रिय छन् कवि आर्यश । उनै आर्यशको पहिलो कृतिको कवितासङ्ग्रह ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’ । उनका कवितामा उदासीनता, कलात्मकता, विद्रोही चेत, कोमलता, सिर्जनशील अराजकता लगायतका विविधता पाइन्छ । कवितामा कवि विसङ्गत समय, आर्थिक तथा सामाजिक बेथिति र राज्यसंयन्त्रसँग जुध्दाजुध्दा थाकित र निराश भएको देखिन्छ ।

कविले जीवनक्रममा भोगेका अनेकन अनुभूतिहरू कवितामा प्रस्फुटित भएका छन् जसको केन्द्रमा निरासा र उदाशिनता भेटिन्छ । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।

८. मरुभूतिमा वासन्ती याम – विपिन पाठक

चितवन निवासी युवाकवि विपिन पाठकको पहिलो कृति हो कवितासङ्ग्रह ‘मरुभूमिमा वासन्ती याम’ । सङ्ग्रहमा आम मान्छेको जीवन, बाआमाका सङ्घर्षका कथाव्यथा, समाज र सभ्यता निर्माणमा महिलाहरूको भूमिका लगायत बृहत् आयामका कविताहरू समेटिएका छन् । मानवीय तथा समाजिक कल्याण बिम्बित गर्दै उज्यालोतर्फ अग्रसर हुनु कवि पाठकका कविताका विशेषता हुन् ।

पाठकका कविता जीवन र जगत्प्रति सकारात्मक छन् – मायाप्रेम, स्मृति–अनुभूति, सङ्घर्ष–सफलता लगायत कुरामा विश्वास राख्छन् । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।

९. मायाको आयतन – मधुसुदन घिमिरे

‘मायाको आयतन’ मनो–सामाजिक विमर्शकर्ता युवा मधुसुदन घिमिरेको कवितासङ्ग्रह हो । सङ्ग्रहमा प्रेम सम्बन्धका विविध आयमहरूमाथि लेखिएका छोटा आयतनका कविताहरूको बाहुल्यता रहेको छ । साथै, समाजिक समस्या, देश तथा युवाहरूको वर्तमान अवस्था लगायत विषयहरूलाई समेत कविताहरूले प्रतिनिधित्व गरेका छन् ।

सङ्ग्रमा रहेका कविताहरूसँगै चित्रसमेत रहेका छन् जसले अमूर्त रूपमा कवितालाई दृश्य प्रदान गरेका छन् । पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।

१०. यौवन हराएको मान्छे – डिइबी सिकारु

वर्तमान समयका सशक्त कवि डिइबी सिकारुको कवितासङग्रह हो ‘यौवन हराएको मान्छे’ । सङ्ग्रहमा कविले भोगेको, देखेको तथा जानेको जीवन र जगत्का कविताहरूको बाहुल्यता रहेको छ । पुस्तकको शीर्षकले यौवन जति सबै विदेशी माटोमा पोखेको व्यक्तिलाई सङ्केत गरेको छ भने यसका धेरैजसो कवितामा बिदेसिनुको पीडालाई विषयवस्तु बनाइएको छ । साथै, प्रेम, समाज, देश–विदेश र उत्प्रेरणाका विषयहरूसमेत सिकारुका कवितामा विशेष रुपमा मुखरित भएका छन् ।

विगत छ वर्षदेखि दक्षिण कोरियामा कार्यरत सिकारू नेचासल्यान, सोलुखुम्बुका स्थानीय हुन् । पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।

११. सपना र छायाहरू – राम अधिकारी

अमेरिका निवासी कवि राम अधिकारीको कवितासङ्ग्रह हो, ‘सपना र छायाहरू’ । अधिकारीका कवितामा प्रकृति प्रेम, समाज र संस्कृति प्रतिको मोह, वीरता, स्वाभिमान, स्वतन्त्रता र सार्वभौमिकता प्रतिबिम्बित भएका छन् । रहरले र करले परदेशिएकाहरूको व्यथा, स्वदेशमा बसेर श्रम गरिरहेका कर्मशील र देशलाई ठगिरहेकाहरूको कथासमेत कवितामार्फत विशिष्ट शैलीमा अभिव्यक्त भएको छ । कविका मनमा उठेका विचार, अनुभूति तथा कल्पनाहरूलाई उचित कविताको रुपमा दिन अधिकारी सक्षम देखिएका छन् ।

कविताका साथै कथा, लघुकथा, निबन्ध तथा समीक्षा लेखनमा समेत कलम चलाउँदै आएका अधिकारीको यो पहिलो प्रकाशित कृति हो । पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।

१२. हावामा अल्झिएको स्वर – सिजन श्रेष्ठ

लामो समयबाट कविता–साधना गरिएका कवि सिजन श्रेष्ठको पहिलो पुस्तक हो कवितासङ्ग्रह ‘हावामा अल्झिएको स्वर’ । श्रेष्ठको कविताको सौन्दर्यको रुपमा प्रकृति र पर्यावरण स्वंम उपस्थित छन् । वनजङ्गल, खोलानाला, डाँडाकाँडा, पहाड, घाम–जून, आकाश–बादल उनको कवितामा जताततै उपस्थित छन् । उनका कवितामा आम मान्छे, प्रेमी, पितापुर्खा, बालापन, गाउँसमाज बिम्बित र प्रस्फुटित छन् । गाउँ, गाउँको प्रवृत्ति र प्रकृति, गाउँलेहरू नै उनका कविताहरूका केन्द्रीय पात्र रहेका छन् ।

व्यवस्थापन र जनप्रशासनमा स्नातकोत्तर गरेका कवि श्रेष्ठ सरकारी सेवामा आबद्ध छन् । पुस्तकलाई इटर्नल पब्लिकेसन प्रा.लि. ले प्रकाशनमा ल्याएको हो ।