काठमाडौँ । कवि तथा गीतकारका रूपमा परिचित श्रवण मुकारुङको पहिलो उपन्यास ‘सलह’ काठमाडौँमा लोकार्पण गरिएको छ । शनिबार नेपालयको आरशालामा आयोजित कार्यक्रममा पाठकहरूको उल्लेख्य उपस्थितिबीच कृति सार्वजनिक गरिएको हो ।

लोकार्पण कार्यक्रममा अपेक्षाभन्दा बढी पाठकको सहभागिता भएपछि आयोजकले अतिरिक्त स्थान व्यवस्थापन गर्नुपरेको थियो । कार्यक्रममा मुकारुङले बाहिर उभिएर कार्यक्रम सुनिरहेका सहभागीलाई सम्बोधन गर्दै आफू सधैँ सीमान्त र बाहिर पारिएका समुदायको लेखक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमका क्रममा लेखक मुकारुङ आफ्ना पिता सम्झिँदै भावुक बन्नुभएकाे थियाे । चार दशक लामो साहित्य यात्रालाई स्मरण गर्दै उहाँले आफूले निबन्ध, नाटक, कविता, गीत, कथा र चलचित्र हुँदै उपन्यास लेखनमा प्रवेश गरेको बताउनुभयो । “कहिलेकाहीँ विषयवस्तुले नै विधा रोज्छ,” भन्दै उहाँले ‘सलह’ उपन्यास पनि त्यही प्रक्रियाबाट जन्मिएको स्पष्ट पार्नुभयो ।

आफ्नो बाल्यकालको अनुभव सुनाउँदै मुकारुङले कल्पना र स्मृतिले मानिसलाई जोगाउने शक्ति भएको उल्लेख गर्नुभयो । साथै सामाजिक–राजनीतिक परिवेशप्रति संकेत गर्दै अत्यधिक उज्यालो खोज्दा अँध्यारो पनि निम्तिन सक्ने सन्देश दिनुभयो ।

नेपालयका सम्पादक विमल आचार्यले मुकारुङको साहित्यिक योगदानको चर्चा गर्दै ‘सलह’ ले उहाँलाई सशक्त आख्यानकारका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो । मुकारुङ विगत केही वर्षदेखि नेपालयको साप्ताहिक अडियो कविता शृंखला ‘ई–कविता’सँग पनि आवद्ध रहँदै आउनुभएको छ ।

चार दशक लामो साहित्यिक यात्रामा मुकारुङका ‘देश खोज्दै जाँदा’, ‘जीवनको लय’ र ‘बिसे नगर्चीको बयान’ कविता संग्रह तथा ‘हिउँको दरबार’, ‘सुन रे सियाराम’ गीत संग्रह प्रकाशित भइसकेका छन् ।

लोकार्पण समारोहमा उपन्यासकार मुकारुङले आफ्नो कृति संगीतकार कालीप्रसाद बाँस्कोटा, निर्देशक रामबाबु गुरुङ तथा श्रीमती गीता थापा मगरलाई उपहारस्वरूप प्रदान गर्नुभएको थियो ।

४ सय ३६ पृष्ठको ‘सलह’ उपन्यासको मूल्य ९ सय ९५ रुपैयाँ निर्धारण गरिएको छ । पुस्तक देशका प्रमुख पुस्तक पसलहरूका साथै ‘थुप्रै डट कम’ र अमेजनमार्फत समेत उपलब्ध रहेको जनाइएको छ ।