वसन्तपुर । तेह्रथुमको वसन्तपुरस्थित चोत्लुङ पार्कमा आयोजित ‘चोत्लुङ साहित्यिक महोत्सव’ सम्पन्न भएको छ ।
लालीगुराँस नगरपालिकाको आयोजनामा भएको महोत्सवमा दुई दर्जन भन्दा बढी चर्चित कवि तथा साहित्यकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा कवि एवम् गीतकार श्रवण मुकारुङ प्रमुख अतिथि रहनुभएको थियो । देशका विभिन्न भागबाट आउनुभएको सर्जकहरूले आ-आफ्ना सिर्जनाहरू वाचन गरेर श्रोताहरूलाई मन्त्रमुग्ध बनाउनुभएको थियो । महोत्सवमा कवि श्रवण मुकारुङ, लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङ, हाङयुग अज्ञात, प्रकाश थाम्सुहाङ, देवान किराती, स्वप्निल स्मृति, अभागी थेगुवा, दिलीप घिमिरे, डा. अस्मिता विष्ट, सुन्दर कुरुप, अमित थेवे, नवराज पराजुली लगायतका कविहरूले आफ्ना रचनाहरू सुनाउनुभएको थियो । त्यसैगरी, मनोज तेयुङ, राजकुमार सुब्बा ‘अनिश्चित’, दीपक सापकोटा, सञ्जय तुम्बाहाङ्फे, राजकुमार तेयुङ ‘तरेबा’, अरुण बराल, देवेन्द्र खापुङ, सन्देश सुब्बा, गिरीराज बाँस्कोटा, लीला अनमोल, अर्जुन पण्डित, उमेश कार्की, सभ्यता घिमिरे, विक्रम पौडेल, रौशन गड्तौलाले पनि आफ्नो कविता वाचन गर्नुभएको थियो ।
मेयर माबुहाङले आफ्नो मन्तव्यमा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवर्द्धनलाई कार्यक्रमको उद्देश्य रहेको बताउनुभएको थियो । उहाँले ०७५ मा स्थापित चोत्लुङ पार्कलाई थप प्रवर्द्धन गर्न यो वृहत् साहित्यिक महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । याक्थुङ मुन्धुम र इतिहासका खोजकर्ता एवम् लेखक समेत रहनुभएको मेयर माबुहाङले चोत्लुङ पार्क आदिवासी याक्थुङ समुदायको पहिचान, संस्कृति र सभ्यता झल्काउने पार्क भएको उल्लेख गर्नुभयो । उहाँले यस पार्कले आदिवासी र स्थानीय समुदायको पहिचानलाई झल्काएको बताउनुभयो ।
कार्यक्रममा लालीगुराँस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन लीला अनमोलले गर्नुभएको थियो । नगरपालिकाले तीनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्रमा रहेका २८ प्रजातिका गुराँसको संरक्षण गरिरहेको पनि अधिकृत घिमिरेले जानकारी दिनुभयो । उल्लेखनीय कुरा के छ भने केही साता अघि मात्रै अमेरिकाको न्यूयोर्कबाट प्रकाशन हुने टाइम म्यागेजिनले सन् २०२५ को पर्यटकीय गन्तव्य १०० को सूचीभित्र ४२ औँ स्थानमा चोत्लुङ पार्कलाई राखेको छ । पूर्वमा सांस्कृतिक तथा धार्मिक पर्यटनको विकासको केन्द्र बनाउन र याक्थुङ लिम्बु जातिको आदिम सावा येहाङ सभ्यताको पुनर्ताजगीकरण गर्न चोत्लुङ पार्क निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










