कल्पना काफ्लेको मुक्तकसङ्ग्रह “अशान्त धड्कन” हङकङको जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा विमोचन भएको छ ।

हङकङ साहित्यिक साझा शृङ्खलाले आयोजना गरेको काफ्लेको मुक्तकसङ्ग्रह लोकार्पण तथा विमर्श समारोहमा संस्थाका संयोजक रमण गुरुङको सभापतित्व तथा हङकङका लागि नेपाली उपवाणिज्य दूत भोजकुमार भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । सभापति र प्रमुख अतिथिका साथमा संस्थाका सल्लाहकार वरिष्ठ साहित्यकार दाजु गुरुङ, डा. विभाकर शाक्य, रीता गुरुङ, टीका गुरुङ, कल्पना काफ्लेका श्रीमान् कृष्णप्रसाद आचार्य, नेपाल वायुसेवा निगम हङकङका मेनेजरहरू सुनिल श्रेष्ठ, विजय अधिकारीलगायतले कृतिको संयुक्त लोकार्पण गरेका हुन् ।

हङकङ साहित्यिक साझा शृङ्खलाको आयोजनामा आयोजित उक्त कार्यक्रममा वरिष्ठ समालोचक डा. अशोक थापा र जानु काम्बाङले पुस्तकको समीक्षा गरेका थिए । उक्त कार्यक्रममा साहित्यकार कमल पौडेल, पत्रकार अनोज रोक्का, बज्र थुलुङ राई लगायतका कृतिबारे चर्चा गर्नुका साथै रचना वाचन गरेका थिए ।

हालसालै प्रकाशित अशान्त धड्कन नेपालका साथै दुबईमा पनि विमोचन भइसकेको मुक्तकसङ्ग्रह हो । कार्यक्रममा सयभन्दा बढी साहित्यकार तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।

कृतिको प्रकाशन बीएन बुक्स काठमाडौंले गरेको हो।