राज यात्री लम्साल, युएई । मुक्तककार कल्पना काफ्लेको नवीनतम मुक्तकसङ्ग्रह “अशान्त धड्कन” युएईमा लोकार्पण गरिएको छ । सिर्जना वाचन डबली युएईले एक समारोहका बीच सो कृति लोकार्पण गरेको हो ।
आयोजक डबलीका संयोजक तथा गजलकार टक गुरुङको सभापतित्व र NRNA युएईका अध्यक्ष विकास शाहीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम सिल्भर स्पुन रेष्टुरेन्ट बरदुबईमा सम्पन्न भएको थियो ।
डबलीको २६ औं शृङ्खलाकी विशेष अतिथि स्रष्टाको रूपमा समेत रहनुभएकी मुक्तककार काफ्लेको कार्यक्रममा विशेष प्रस्तुति रहेको थियो । कार्यक्रममा उहाँले एक दर्जन बढी आफ्ना सिर्जनाहरू सुनाउनुभएको थियो । सोही अवसरमा मुक्तककार काफ्लेलाई आयोजक डबलीको तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो ।
धनकुटामा जन्मिएर हाल भक्तपुर बस्दै आउनुभएकी मुक्तककार काफ्ले लामो समयदेखि साहित्य लेखनमा सक्रिय हुनुहुन्छ । उहाँले कविता, गीत, गजल, हाइकु र लघुकथामा पनि उत्तिकै सक्रियताका साथ कलम चलाउँदै आउनुभएको छ ।
पछिल्लो ११ वर्षदेखि नेपाल एयरलाइन्समा उहाँले जागिरे जीवन बिताइरहनुभएको छ । अहिले उहाँ नेपाल एयरलाइन्सको वरिष्ठ अधिकृत हुनुहुन्छ । मुक्तककार काफ्लेको यसअघि २०७५ सालमा छन्द कवितासङ्ग्रह “भावसरोवर” प्रकाशित छ । यसका अलवा उहाँका अन्य दुई संयुक्त कृति प्रकाशित छन ।
कार्यक्रममा मुक्तककार काफ्लेका पति कृष्ण आचार्य, नेपाल एयरलाइन्स युएईका प्रमुख दिपेन्द्र सापकोटा र स्टेसन म्यानेजर कमलप्रकाश पौडेलको विशेष आतिथ्यता रहेको थियो
मिडिया पार्टनर साहित्यपोस्ट र अन्तर्राष्ट्रिय नेपाली समाज युएईको सहकार्य रहेको सो कार्यक्रममा युएईमा रहेर साहित्य साधना गरिरहनुभएका दुई दर्जन बढी सर्जकहरूको समेत प्रस्तुति रहेको कार्यक्रम संयोजक जे. सागरले जानकारी गराउनुभयो ।
घान्तूत स्टार रेस्टुरेन्ट, घान्तूत नेपाली क्याफे र एक्सिस ग्राफिक्स कार्यक्रमको सहयोगी संस्थाको रुपमा रहेका थिए। दुबईको बर-दुबई स्थित सिल्भर स्पून रेस्टुरेन्टमा सम्पन्न कार्यक्रमको संचालन कवि गजलकार श्री भवानी नेपालले गर्नु भएको थियो ।
आफ्नो स्थापना कालदेखि नै विभिन्न ढङ्गले नियमित रुपमा रचना वाचनको शृङ्खला सञ्चालन गर्दै आएको सिर्जना वाचन डबलीले आफ्नो आधिकारिक पोशाक चाँडै नै सार्बजनिक गर्ने घोषणा गरेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।