डिजी शर्मा, युएई । सिर्जना वाचन डबलीको २६ औं शृङ्खलामा विशेष अतिथि स्रष्टाका रूपमा मुक्तककार कल्पना काफ्ले रहने हुनुभएको छ ।
लामो समयको अन्तरालपछि डबलीले आयोजना गर्न लागेको नियमित वाचन शृङ्खलामा नेपालबाट मुक्तककार काफ्ले युएई आउन लाग्नुभएको हो ।
आगामी अगस्ट ११ तारिख आइतबार युएईको दुबईमा हुने सो कार्यक्रममा मुक्तककार काफ्लेको विशेष प्रस्तुति रहने जनाइएको छ । कार्यक्रम दुबईको बरदुबईस्थित सिल्भर स्पून रेस्टुरेन्टमा दिउँसो ३ बजेबाट सुरु हुने आयोजक समितिले जनाएको छ ।
सोही अवसरमा मुक्तककार काफ्लेको नवीनतम मुक्तकसङ्ग्रह “अशान्त धड्कन” को विमोचन कार्यक्रम समेत राखिएको कार्यक्रम संयोजक जे. सागरले जानकारी गराउनुभयो ।
धनकुटामा जन्मिएर हाल भक्तपुर बस्दै आउनुभएकी मुक्तककार काफ्ले लामो समयदेखि साहित्य लेखनमा सक्रिय हुनुहुन्छ । उहाँले कविता, गीत, गजल, हाइकु र लघुकथामा पनि उत्तिकै सक्रियताका साथ कलम चलाउँदै आउनुभएको छ ।
पछिल्लो ११ वर्षदेखि नेपाल एयरलाइन्समा उहाँले जागिरे जीवन बिताइरहनुभएको छ । अहिले उहाँ नेपाल एयरलाइन्सको वरिष्ठ अधिकृत हुनुहुन्छ । मुक्तककार काफ्लेको यसअघि २०७५ सालमा छन्द कवितासङ्ग्रह “भावसरोवर” प्रकाशित छ ।
मिडिया पार्टनर साहित्यपोस्ट र अन्तर्राष्ट्रिय नेपाली समाज युएईको सहकार्य रहेको सो कार्यक्रममा युएईमा रहेर साहित्य साधना गरिरहनुभएका सर्जकहरूको पनि प्रस्तुति रहने जनाइएको छ ।
घान्तूत स्टार रेस्टुरेन्ट, घान्तूत नेपाली क्याफे र एक्सिस ग्राफिक्स कार्यक्रमको सहयोगी संस्थाको रूपमा रहेका छन् ।
आफ्नो स्थापना कालदेखि नै विभिन्न ढङ्गले नियमित रुपमा रचना वाचनको शृङ्खला सञ्चालन गर्दै आएको सिर्जना वाचन डबलीको यो शृङ्खला पछिल्लो केही समयदेखि भने स्थगित थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।