डि जि शर्मा
युएई

पछिल्लो समय निक्कै चर्चामा रहन सफल युवा गजलकार प्रदीप रोदनको युएईमा पहिलो पटक एकल गजल वाचन कार्यक्रम हुने भएको छ ।

लामो समयदेखि साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको सिर्जना वाचन डबलीको आयोजना र अन्तर्राष्ट्रिय नेपाली समाज युएईको सह-आयोजनामा हुन लागेको “रोदन मुशायरा” का लागि गजलकार रोदन युएई आउन लाग्नु भएको हो ।

युएईको दुबई सहरमा आगामी जुलाई २४ तारिख आइतबार हुन लागेको सो कार्यक्रममा गजलकार रोदनको विशेष गजल प्रस्तुति रहनेछ । साथै कार्यक्रममा यहाँका कवि/गजलकारहरुको पनि प्रस्तुति रहने कार्यक्रम संयोजक तथा गजलकार जे. सागरले जानकारी गराउनु भयो ।

यसअघि गत फेब्रुअरीमा आयोजना गरिएको “शेर-सङ्गीत मुशायरा” का लागि गायक राज सिग्देलसँगै गजलकार रोदन युएई आउने तय भएको थियो । तर नेपाल सरकारले खाडी मूलुकका लागि भिजिट भिजामा कडाइ गरेका कारण गजलकार रोदनको युएई भ्रमण स्थगित भएको थियो । जसका कारण सो कार्यक्रममा गायक सिग्देलको मात्र एकल साङ्गीतिक प्रस्तुति रहन गएको थियो ।

लामो समयदेखि गजलकार रोदनलाई युएई ल्याउने प्रयास गरिएको भए पनि विभिन्न कारणले रोकिँदै आएकोले अब भने सो सपना पूरा हुन लागेकोमा गजलकार जे. सागरले खुसी व्यक्त गर्नुभयो ।

गजलकार रोदनको यो पहिलो युएई भ्रमण हुनेछ ।कार्यक्रममा साहित्यपोस्टसहित राष्ट्रिय डेली, सेतोमाटो र नमस्ते दुबई मिडिया पार्टनरको रुपमा रहनेछन् ।

यता, तनहुँ सेवा समाजा युएईले आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीको अवसर पारेर आगामी जुलाई १७ तारिख आइतबार दुबईमै “खुल्ला रचना वाचन” कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम संयोजक तथा गजलकार श्री भवानी नेपालले जानकारी गराउनु भयो ।