पहिलो कृतिका रूपमा काव्य लेखेर नेपाली साहित्यमा पदार्पण गरेका नवोदित कविलाई साहित्यपोस्टले प्रदान गर्ने ‘साहित्यपोस्ट काव्य पुरस्कार २०८२’का लागि ‘छोटो सूची’ जारी गरिएको छ । सूचीमा नवोदित कविका पाँच काव्य कृति समावेश छन् ।
छोटो सूचीमा राकेश क्रान्तिकारीको कवितासङ्ग्रह ‘अनाम प्रेमिका’, शम्भु राईको कवितासङ्ग्रह ‘आदर्श पहाड’, दोस्ताजको कवितासङ्ग्रह ‘एकदिन मानिसहरू फर्किनेछन्’, अस्मिता विष्टको कवितासङ्ग्रह ‘ब्ल्याकहोलमा गीतहरू’ र राज लम्साल यात्रीको गजलसङ्ग्रह ‘यात्री’ रहेका छन् ।
यसअघि ०८२ सालमा प्रकाशित नवोदित कविका साहित्यपोस्टलाई प्राप्त ४१ काव्य विधाका कृतिहरूबाट ११ कृतिको ‘लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच कृतिको छोटो सूची तिनै ११ काव्य कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।
यसअघि पुरस्कारको ‘लामो सूची’मा छोटो सूचीमा अटाएका पाँच काव्य कृतिहरूका साथमा अल्पज्ञानीको कवितासङ्ग्रह ‘उज्यालो पर्खिरहेको मानिस’, प्रचण्ड भाष्करको कवितासङ्ग्रह ‘कच्ची रोडसँगैका पक्की चोटहरू’, सबिना राईको कवितासङ्ग्रह ‘घामको जरा’, मेनका चापागाईं काप्रीको कवितासङ्ग्रह ‘मनको अदालत’, सुनिता अधिकारीको कवितासङ्ग्रह ‘सुनिताका अनुभूतिहरू’ र अनुप उप्रेतीको महाकाव्य ‘प्रज्ञा’ रहेका थिए ।
लामो सूचीबाट पाँच काव्य कृतिको छोटो सूची साहित्यपोस्टका विधा सम्पादकसहितको निर्णायक समूहले छानेको हो । काव्य संरचना, बिम्ब र प्रतीकको प्रयोग, दृष्टिकोण निर्माण, नवीनता, सामाजिकता र समय चेत, प्रस्तुति, शीर्षकको सार्थकतालगायत काव्यका विविध आयमलाई आधार बनाई काव्यकृतिहरूको मूल्याङ्कन गरिएको निर्णायक समूहले जनाएको छ ।
तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल कृतिमध्ये उत्कृष्ट तीन कृतिको छनौट गरिने छ । उत्कृष्ट तीनमध्येबाट सर्वोत्कृष्ट कृति छनौट गरी ५० हजार राशिको ‘साहित्यपोस्ट काव्य पुरस्कार २०८२’ प्रदान गरिने छ ।
‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरू लोकप्रिय छन् ।
‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’ र ‘साहित्यपोस्ट आख्यान पुरस्कार’को छोटो सूची यसअघि नै प्रकाशन गरिसकिएको छ ।
अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन-तीन कृति (साहित्यपोस्ट नवरत्न २०८२) को घोषणा गरिने छ । तीन विधाका तीन-तीन उत्कृष्ट कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।
छोटो सूचीमा पर्न सफल पाँच काव्य विधाका कृतिहरूः
१. अनाम प्रेमिका – राकेश क्रान्तिकारी

भारतीय नेपाली कवि राकेश क्रान्तिकारीको कवितासङ्ग्रह हो, ‘अनाम प्रेमिका’ । संग्रहित कवितामा समाजका उत्पीडित वर्ग, गरीब, मजदुर, दलित तथा अपहेलित वर्गको सङ्घर्षलाई मुख्य विषय बनाइएको छ । समाजमा विद्यामान असमानता, अमानवीय काइदा–कानून र मूल्यमान्यताप्रति तीखो प्रहार गर्न क्रान्तिकारीका कविता सक्षम देखिन्छन् ।
कवि क्रान्तिकारीले आफ्ना कवितामा पछिल्लो समय बढेको प्रदर्शनको संस्कृतिप्रति असन्तोष व्यक्त गर्दै सामाजिक रूपान्तरणलाई महत्त्व दिनुभएको छ । पुस्तकलाई हाम्रो किताब घर (सिलगढी) ले प्रकाशनमा ल्याएको हो ।
२. आदर्श पहाड – शम्भु राई

प्रवासमा रहेर नेपाली साहित्यको क्षेत्रमा साधनारत कवि शम्भु राईको कवितासङ्ग्रह हो, ‘आदर्श पहाड’ । राईका कवितामा भुइँमान्छे संघर्षदेखि पुँजीवादको उत्कर्ष तथा पहाडका पाखा–पखेरादेखि प्रवासी जीवनका अनुभूतिसम्म समेटिएका छन् । कवितामा मानव जीवनका संवेदना र प्रेमिल आवेशहरुसमेत कलात्मक ढंगले प्रस्तुत भएका छन् ।
कवि राईका कविताहरु गाउँ, बालापन तथा गाउँले परिवेशको यात्रा गराउन सफल छन् । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।
३. एकदिन मानिसहरू फर्किनेछन् – दोस्ताज

युवा कवि दोस्ताजको कवितासङ्ग्रह हो, ‘एकदिन मानिसहरु फर्किनेछन्’ । सङ्ग्रहित कविताहरुमा मानवीय जीवनका आशा, निराशा, प्रशन्नता तथा कुण्ठालाई आञ्चलिक स्वादमा प्रस्तुत गरिएको छ । कवितामा वर्तमान समाज र परिवेशको निर्मम चित्रण गरिएको छ ।
दोस्ताजका कवितामा प्रयुक्त नवीन बिम्ब, प्रतीकले गम्भीर अर्थ बोकेछन्, जसले पाठकलाई सोच्न बाध्य बनाउँछ । पुस्तकलाई सेलर नेपाल इन्फो–टेकले प्रकाशनमा ल्याएको हो ।
४. ब्ल्याकहोलमा गीतहरू – अस्मिता विष्ट

महेन्द्र बहुमुखी क्याम्पस धरानकी उप–प्राध्यापक अस्मिता विष्टको कवितासङ्ग्रह हो, ‘ब्ल्याकहोलमा गीतहरू’ । विष्टका कवितामा पारिवारिक रिक्तता, नारी चेत तथा सशक्तीकरणका स्वरहरु भेटिन्छन् भने समाजमा व्याप्त विसंगतिप्रति तीक्ष्ण व्यङ्गयको प्रस्तुति पाइन्छ । कवितामा अंग्रेजी शब्द, मिथकीय बिम्ब र प्रतीकहरूको प्रचुर मात्रामा प्रयोग गरिएको छ ।
संग्रहित कवितामा प्रेम, मिलन, विछोड, समर्पण, आध्यात्मिक तथा शारीरिक प्रेमसम्मका विविध रूपलाई दार्शनिक ढङ्गले प्रस्तुत गरिएको छ । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।
५. यात्री – राज लम्साल यात्री

व्यावसायिक कामको सिलसिलामा युएई बस्दै आउनुभएका गजलकार राज लम्साल यात्रीको गजलसङ्ग्रह हो, ‘यात्री’ । यात्रीले जीवन, देश, र समाजका विविन्न आयममा गजलमार्फत् आफूलाई अभिव्यक्त गर्नुभएको छ । सङ्ग्रहित गजलमा गहनता र विविधता दुबै पाइन्छन् ।
राजका गजलमा काफिया, रदिफ तथा लयात्मकताको सचेत प्रयोग देख्न सकिन्छ । पुस्तकलाई शब्द मिडिया प्रा.लि. (साहित्यपोस्ट) ले प्रकाशनमा ल्याएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 






