साहित्यपोस्टले तीन विधामा तीन नवोदित लेखकका कृतिलाई प्रदान गर्ने सम्मानका लागि पुस्तक आव्हान गरेको छ । काव्य, आख्यान र गैरआख्यान विधामा नवोदित लेखकका वर्षका सर्वोत्कृष्ट एक-एक पुस्तकलाई प्रदान गरिने तीन पुरस्कारका लागि पुस्तक आव्हान गरिएको हो ।

काव्यका लागि ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’, आख्यानका लागि ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ तथा गैरआख्यानका लागि ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ नामका विधागत रूपमा प्रदान गरिने यी सम्मानको पुरस्कार राशि ५०–५० हजार रुपियाँ रहेको छ ।

०८० सालभित्र आफ्नो पहिलो पुस्तक लेखेर नेपाली साहित्यमा औपचारिक पाइला चालेका लेखक–कवि यी पुरस्कारहरुको हकदार बन्नेछन् ।

पुरस्कारका लागि ०८० सालमा प्रकाशित भएका पहिलो कृति पठाउन साहित्यपोस्टले लेखक तथा प्रकाशकहरुमा आव्हान गरेको छ । उक्त कृतिहरू ०८१ साल वैशाख ५ गतेभित्र साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराउनु पर्ने छ । समयसीमा नाघी प्राप्त हुन आउने कृतिहरूलाई पुरस्कारका लागि समेट्न नसकिने साहित्यपोस्ट व्यवस्थापन विभागले जनाएको छ ।

०८० साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रकाशनमा आएका कवि–लेखकको पहिलो, मौलिक र एकल कृतिलाई यो सम्मानमा समावेश गरिनेछ । पुरस्कारका लागि पुस्तक दर्ता शूल्क लाग्ने छैन, तर लेखक वा प्रकाशकले पहिलो र मौलिक कृति प्रकाशन भएको सही जानकारीसहित तीन प्रति कृति सहित्यपोस्टको कार्यलयमा वैशाख ०५ गतेभित्र उपलब्ध गराउनु पर्नेछ ।

‘पुराना लेखक–कविलाई सम्मान गर्न धेरै पुरस्कार र सम्मानहरु छन्, तर नवोदित लेखकका रचनालाई स्थान दिने तथा उनीहरुलाई सम्मान गर्ने संस्था र सञ्चारमाध्यमहरु नभएको अवस्थामा साहित्यपोस्टले यो अभियान सुरु गरेको हो ।’, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्छन्, ‘अघिल्लो वर्ष पुस्तक संकलनमै ढिलाइ हुन पुगेकाले पुरस्कारको घोषणामा पनि केही ढिलाइ भएको थियो । यसर्थ, लेखक-कवि तथा प्रकाशकहरूले समयमै पुरस्कारको मूल्यांकनभित्र पर्ने पुस्तकहरू उपलब्ध गराइ नवोदित लेखकलाई हौसला प्रदान गर्ने साहित्यपोस्टको अभियानमा सहयोग पुर्याइदिनुहुन अनुरोध गर्दछु ।’

व्यवस्थापन विभागका अनुसार वर्षभरि प्रकाशनमा आएका काव्य (कविता, गजल, मुक्तक, हाइकु, बाछिटा आदि) सङ्ग्रहबाट एकजना कवि; आख्यान (कथा, उपन्यास, नाटक, लघुकथा आदि) सङ्ग्रहबाट एकजना आख्यानकार तथा गैरआख्यान (निबन्ध, नियात्रा, नेपाली भाषा साहित्यसम्बन्धी अध्ययन–अनुसन्धानात्मक कृतिहरु आदि) बाट एकजना गरी तीन जना नवोदित स्रष्टालाई ५०–५० हजार राशिको नगद पुरस्कारसहित सम्मान गर्न लागिएको हो ।

साहित्यपोस्ट सुरु भएको पहिलो वार्षिक उत्सवमा एक जना नवोदित लेखकलाई ५० हजार नगद राशिसहित ताम्रपत्रले लेखक केदार वाशिष्ठलाई सम्मान गरिएको थियो । दोस्रो वर्ष दुई नवोदित लेखक भवानी खतिवडा र शान्ति प्रियवन्दनालाई ५०–५० हजार राशिको पुरस्कारले सम्मान गरिएको थियो । ०७७ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का नाममा केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो । दोस्रो वर्षमा ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी दुई विधामा प्रदान गरिएको पुरस्कार क्रमश: भवानी खतिवडाकृत ‘घामभन्दा पहिले’ र शान्ति प्रियवन्दनाकृत ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’लाई प्रदान गरिएको थियो ।

गएको वर्षदेखि विधागत रूपमा तीन विधाका उत्कृष्ट तीन नवोदित लेखकलाई सम्मान गर्न थालिएको हो । ०७९ का लागि काव्यतर्फ गजलसङ्ग्रह मफलरका लागि प्रदीप रोदन, आख्यानतर्फ उपन्यास यशोधराका लागि हरिबोल काफ्ले तथा गैरआख्यानतर्फ संस्मरण मुटुसँग सहयात्राका लागि डा. अवनिभूषण उपाध्यायलाई क्रमशः ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’, ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ प्रदान गरिएको थियो ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको हो । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।

‘पुराना स्रष्टालाई खोजी–खोजी सम्मान गर्ने परम्परा भए पनि नयाँ कविलाई सम्मान गर्नुपर्छ भन्ने साहित्यपोस्टको सोच मलाई नवीन लाग्यो । पुरस्कारलाई निरन्तरता दिँदै यसलाई बृहत् बनाउँदै लग्ने कुरामा सकरात्मक छु ।’, साहित्यपोस्टको अभियानका बारेमा कवि भौकाजीले भन्नुभयो, ‘अघिल्ला वर्षहरूमा पुरस्कार पाएका नवोदित लेखकहरूले साहित्य क्षेत्रमा राम्रो काम गरिरहेको अनुभूत पनि गरिरहेकाे छु ।

पुरस्कारको पहिलो सर्टलिस्ट ०८१ साल वैशाख १५ गते सार्वजनिक गरिने छ । लेखक एवं प्रकाशकहरुले साहित्यपोस्टको कार्यालय अथवा ९८५१०९७८८८ वा ९८४९८६०८२७ मा सम्पर्क गरेर नयाँ पुस्तक एवं नवलेखक सम्बन्धी जानकारी गराइदिनु हुन साहित्यपोस्ट व्यवस्थापन समितिले अनुरोध गर्दछ ।