
पहिलो कृतिका रूपमा गैरआख्यान विधाको कृति प्रकाशनमा ल्याएर नेपाली साहित्य-संसारमा प्रवेश गरेका नवोदित लेखकका लागि खुशीको खबर ।
डेब्यु गैरआख्यान विधाको कृति (निबन्ध, नियात्रा, संस्मरण आदि) का लागि दिइने ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८१’ का लागि उत्कृष्ट ७ गैरआख्यान कृतिहरूको सूची सार्वजनिक गरेका छौँ ।
यो सूची नयाँ लेखकहरूका २०८१ सालमा प्रकाशन भएकामध्ये हामीलाई प्राप्त १३ गैरआख्यान कृतिबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टिमले छानेको हो । पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।
छानिएका गैरआख्यान विधाका कृतिहरूमा साबित्री सिंह चित्रकारले ‘अमर चित्रकार’, रमेश भुसालको नियात्रा ‘छालबाटोः कैलाशदेखि गङ्गासम्म’, सञ्जीव पौडेलको ‘छोटु’, छविलाल पाठकको संस्मरण ‘धौलागिरि छायामुनि’, रीता न्यौपाने पहारीको निजात्मक निबन्धहरूको सङ्ग्रह ‘बेरीतका रीतहरू’, तारा भट्टराईको सिर्जनात्मक गैरआख्यान ‘मार्केट अफ स्वीटहार्ट’ र रिजाल स्वामीको अध्यात्मिक पुस्तक ‘श्रीवार’ रहेको छ ।
यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ भने तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल गैरआख्यान कृतिमध्ये उत्कृष्ट तीनको छनौट गरिने छ । उत्कृष्ट तीनमध्येबाट सर्वोत्कृष्ट कृति छनौट गरी ५० हजार राशिको ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ प्रदान गरिने छ ।
‘हामीकहाँ काव्य र गैरआख्यानका तुलनामा निकै कम गैरआख्यानका कृति छापिन्छन् । त्यसमा पनि नवोदित लेखकहरूबाट गैरआख्यान अझै कम लेखिएको पायौँ ।’, पुरस्कार निर्णायक समितिका संयोजक एवं साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भन्नुभयो, ‘गैरआख्यान विधा बलियो नभई समग्र साहित्य समृद्ध हुन्न भन्ने हाम्रो विश्वास छ । साहित्यपोस्टको यो प्रयासले थोरै भए पनि नयाँ लेखकको चासो गैरआख्यानतर्फ पनि बढोस् भन्ने चाहन्छौँ ।’
कोइरालाका अनुसार लामो सूचीमा रहेका ७ वटा गैरआख्यान कृतिले यो विधाको भविष्य सुखद् देखाएको छ ।
०७७ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का नाममा केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो । दोस्रो वर्षमा ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी दुई विधामा प्रदान गरिएको पुरस्कार क्रमश: भवानी खतिवडाकृत ‘घामभन्दा पहिले’ र शान्ति प्रियवन्दनाकृत ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’लाई प्रदान गरिएको थियो ।
०७९ सालका लागि यो पुरस्कार काव्य, आख्यान र गैरआख्यान गरी तीन विधामा क्रमशः प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’, हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ र डा. अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’लाई प्रदान गरिएको थियो । त्यस्तै गत वर्ष देवव्रतको कवितासङ्ग्रह ‘अश्वत्थमाको निधारबाट बागमती बग्छ’, सागर खड्काको उपन्यास ‘राइपाली भञ्ज्याङ्’ र उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’लाई प्रदान गरिएको थियो ।
अघिल्लो वर्षझैँ यस वर्ष पनि तीन विधाका उत्कृष्ट तीन डेब्यु कृतिलाई ५०-५० हजार राशिसहित सम्मान गर्न लागिएको हो ।
‘छानिएका यी कृतिहरूलाई साहित्यपोस्टका विषय सम्पादक तथा स्वतन्त्र निर्णायकहरूलाई जिम्मा लगाइने छ । उहाँहरू प्रदान गरेको अङ्कका आधारमा छोटो सूची सार्वजनिक गरिने छ ।’, साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गेलले भन्नुभयो, ‘लेखकको पहिलो पुस्तक नै स्तरीय बन्नुपर्छ भन्नेमा सम्बद्ध निर्णायकहरू कटिबद्ध हुनुहुन्छ । यी ७ वटा कृतिहरूमध्येबाट पनि उत्कृष्ट कृति विजेता छनोट हुने कुरामा साहित्यपोस्ट समूह पूर्ण विस्वस्त छ ।’
‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को प्रायोजन कवि एवं समालोचक विनयकुमार भण्डारीले गर्नुभएको छ । भण्डारीको कवितासङ्ग्रह ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’ प्रकाशित छ भने साहित्यपोस्टमा प्रकाशित बृहत् समालोचनाहरू लोकप्रिय छन् ।
‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को लामो सूची यसअघि नै प्रकाशित गरिसकिएको छ भने ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’को लामो सूची वैशाख २३ गते मङ्गबार घोषणा गरिने छ ।
प्रस्तुत छ, २०८१ सालका उत्कृष्ट ७ डेब्यु गैरआख्यान विधाका कृतिहरूको सूची:
१. अमर चित्रकार – साबित्री सिंह चित्रकार
प्रसिद्ध मुर्तिकार तथा चित्रकार स्व. अमर चित्रकारको जीवनमाथि लेखिएको पुस्तक हो ‘बहिनीको आँखामा अमर चित्रकार’ । पुस्तकलाई अमरकी बहिनी साबित्री चित्रकारले लेखेकी हुन् । सिंहले पुस्तकमा दाइसँग तिता–मीठा अनुभूूतिहरुका साथमा उहाँको चित्रकला तथा मूर्तिकला कर्मका विविध आयमहरुमाथि चर्चा गरेकी छन् । पुस्तकमार्फत् सिंहले अमर चित्रकारका लुकेर रहेका जीवन र कलाकारिताका नयाँ अध्यायहरुलाई समेत देखाउने काम गरेकी छिन् ।
पुस्तक ‘अमर चित्रकार’, ‘अमर चित्रकारका चित्रकला र मूर्तिकला’, ‘अमर चित्रकारका शब्द–सिर्जनाहरु’ र ‘आफ्नै कथाः नर्सिङका ३५ वर्ष’ गरी चार खण्डमा विभाजित छ । पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।
===
२. छालबाटोः कैलाशदेखि गङ्गासम्म – रमेश भुसाल
पत्रकार तथा वातावरण विज्ञ रमेश भुसालको नियात्रा कृति हो ‘छालबाटोः कैलाशदेखि गङ्गासम्म’ । भुसालले ४५ दिन लगाएर तीन देशको दुई हजार किलोमिटर लामो यात्रा गरेका छन्, त्यही यात्राका साहित्यिक रससहितको व्याख्या र विवेचना हो पुस्तक । पुस्तकमार्फत पाठकलाई कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्नाली नदीको उद्गम हुँदै भारतको गङ्गासम्मको यात्रा गराएका छन् । पुस्तकमा लेखकका आँखाले देखेका र मनमा बसेका नदीको वर्णन गरिएको छ ।
भुसालले प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी, द गार्डियनलगायत नेपालका प्रमुख पत्रपत्रिकामा वातावरणीय विषयमा अनुसन्धानात्मक रिपोर्टिङ तथा विश्लेषण प्रकाशन गरेका छन् । वातावरण विज्ञानमा स्नातकोत्तर भुसाल वातावरण पत्रकारहरुको विश्वव्यापी सञ्जाल अर्थ जर्नलिज्म नेटवर्कका दक्षिण एसिया संयोजक एवम् अन्तर्राष्ट्रिय वातावरण अनलाइन डायलग अर्थका नेपाल सम्पादकसमेत हुन् । पुस्तकलाई फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।
===
३. छोटु – सञ्जीव पौडेल
कृषि विकास बैंकमा ३० वर्ष सेवा गरेर सेवानिवृत्त भएका लेखक सञ्जीव पौडेलको संस्मरणात्मक कृति हो, ‘छोटु’ । पुस्तकमा पौडेलले आफ्नो सुदूर बाल्यकालदेखि जीवनका भोगाइ, गरेका सङ्घर्ष तथा हासिल गरेका उपलब्धिहरूलाई सिलसिलेबर तवरले प्रस्तुत गरेका छन् । बाल्यकाल र युवाकालका साथै पौडेलले पुस्तकमा आफू आबद्ध संस्थाभित्र देखिएको समस्या र सम्भावनाहरु पनि केलाएका छन् । पौडेलले कृतिमार्फत मनमा गुम्सिएका दुःख र पीरव्यथा मात्र नभएर सुख, सन्तोषहरूसमेत मन हलुका बनाउने उपक्रममा साहित्यिक रङमा प्रस्तुत गरेका छन् ।
सामान्य परिवारबाट उठेर बैंकको उच्च तहसम्मको पौडेलको यात्रा प्रेरणादायी छ । पौडेल कृषि विकास बैंकका सञ्चालक सदस्य समेत हुन् । पुस्तकलाई मीना अधिकारी (पौडेल) ले प्रकाशनमा ल्याएकी हुन् ।
===
४. धौलागिरि छायामुनि – छविलाल पाठक
३२ वर्ष नेपाल सरकारको कर्मचारीका रुपमा कार्य गरी २०७१ सालमा आवकाश लिएका व्यक्ति हुन् छविलाल पाठक, र पाठकको पहिलो साहित्यिक कृति हो संस्मरण ‘धौलागिरि छायामुनि’ । पाठकले आफूले बाँचेको समय र परिवेशलाई सरल र सरस शब्दमा उतारेका छन् । धौलागिरि हिमचुलीको छायामुनि, कालीगण्डकीको सेरोफेरोको जन्मेहुर्केका लेखकले बाल्यकालीन समयको समाज, परिवेश, पारिवारिक अवस्था तथा स्थानीयतालाई झर्रो भाषा–शैलीमा पुस्तकमा समेटेका छन् ।
पछिल्लो समय पाठक सामाजिक कार्यको साथै भाषा साहित्य, धर्म–संस्कृति, इतिहास, भूगोल, समाजशास्त्र, दर्शनशास्त्रको अध्ययन र लेखनमा क्रियाशील रहँदै आएका छन् । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।
===
५. बेरीतका रीतहरू – रीता न्यौपाने पहारी
उद्यमी तथा सर्जक रीता न्यौपाने पहारीको निजात्मक निबन्धहरुको सङ्ग्रह हो ‘बेरीतका रीतहरू’ । पुस्तकमा न्यौपानेले जीवनका आरोह–अवारोह तथा स्व. जीवनसाथी हेमराज पहारीका स्मृतिलाई समेटेकी छिन् । विभिन्न सामाजिक तथा साहित्यिक संस्थामा आबद्ध हेमराज पहारी फेवाताल संरक्षण समितिको अध्यक्ष थिए । समितिको अध्यक्ष रहेकै अवस्थामा २०६६ फागुनको मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको थियो । पहारीका कवितासङ्ग्रह ‘देशको अभिभारा’, नियात्रा ‘उत्तरी गोलार्ध’मा प्रकाशित छन् ।
समाजशास्त्रमा स्नातकोत्तर रीताले पुस्तक स्व. जीवनसाथीलाई समर्पण गरेकी छिन् । पुस्तकले पतिवियोगपछि लेखकले गरेको संघर्षका साथै पारिवारिक, सामाजिक लगायत विविध पाटोलाई समेत उजागर गरेको छ । पुस्तकलाई हेमराज पहारी स्मृति प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।
===
६. मार्केट अफ स्वीटहार्ट – तारा भट्टराई
अमेरिकालाई कर्मभूमि बनाई नेपाली भाषा–साहित्यको उनन्वयनमा समेत सक्रिय लेखक तथा पत्रकार तारा भट्टराईको गैरआख्यान विधाको पुस्तक हो, ‘मार्केट अफ स्वीटहार्ट’ । पुस्तकले अमेरिकी, विशेषगरी न्यूयोर्क शहरको पृष्ठभूमिका देखिने यौनजीवन, यौनकुण्ठा र यौनमनोविज्ञानलाई आख्यानको स्वादमा पस्किएको छ । साथै, महिलाका संवेदना, विद्रोह तथा सशक्तीकरणका आवाजहरू भट्टराईको लेखनीको विशेषताका रूपमा देखापरेका छन् ।
भट्टराईका गैरआख्यानका आख्यानका जस्ता पात्रहरु छन्, जो स्वतन्त्र समेत छन् । उनको लेखनीका बौद्धिकता कम, चिन्तन र चेतना बढी प्रस्तुत भएका छन् । पुस्तकलाई साहित्यपोस्ट प्रकाशनमा ल्याएको हो ।
===
७. श्रीवार – रिजाल स्वामी
ओशो–सन्न्यासी रिजाल स्वामीको अध्यामिक पुस्तक हो ‘श्रीवार’ । पुस्तकले अस्तित्व कार्य समय, नवसन्न्यास समय, ध्यानास्त्र सतर्कता समय, ओशोत्व ध्यानास्त्र समय र श्रीवारको प्रकटीकरण समयलाई विस्तृतमा सामान्य पाठकले समेत बुझ्ने गरी प्रस्तुत गरेको छ । ध्यानका माध्यमबाट मुक्तिमार्गको बाटो पहिल्याउन पुस्तक प्रभावकारी देखिन्छ ।
पुस्तकले पूर्ण जागृत र उत्सवमय जीवन, उत्सवपूर्ण मृत्यु तथा करुणा, मैत्री र प्रेमले भरिपूर्ण सन्न्यास जीवनको पक्षपोषण गरेको छ । श्याम रिमाल सम्पादक रहेको पुस्तकको प्रकाशकमा भीमकला र सुशीला रिजाल रहेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
