डि जि शर्मा
युएई
“गजल पूजा हो । त्यसकारण पुजा गर्ने विधि जान्नै पर्छ भन्ने छैन । मनबाट पूजा गरे पुग्छ । मैले त्यही गजलको पुजा गरिरहेको छु,” यो भनाइ हो पछिल्लो समय निक्कै लोकप्रिय बन्दै गइरहेका गजलकार प्रदीप रोदनको । युएईमा आइतबार सम्पन्न “रोदन मुशायरा” मा बोल्दै उहाँले सो कुरा भन्नुभएको हो । गजलकार रोदन आफ्नो एकल विशेष प्रस्तुतिका लागि युएई आउनु भएको हो ।
“बुर्ज खलिफाजस्तो उभिएको सिर्जना वाचन डबलीले आयोजना गरेको यस कार्यक्रमा युएई आउन पाउँदा म निक्कै खुसी छु र यो खुसी मेरो मात्रै नभएर समग्र नेपाली गजल र यसलाई माया गर्नेहरुको खुसी हो भन्ने मलाई लागेको छ । नेपाली गजलको प्रतिनिधित्व गर्दै म यहाँ आएको छु । यहाँहरुको मायाले मलाई यहाँसम्म ल्याएको छ । यहाँसम्म ल्याइपुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण प्रियमनहरुप्रति आभार पनि प्रकट गर्दछु,” उहाँले भन्नुभयो ।
लामो समयदेखि साहित्यिक गतिविधिमा आफूलाई सक्रिय बनाउँदै आएको सिर्जना वाचन डबलीले गजलकार रोदनलाई युएई ल्याउने चाँजोपाँजो मिलाएको हो । यसमा अन्तराष्ट्रिय नेपाली समाज युएई राष्ट्रिय कार्यसमिति सह-आयोजकको रुपमा रहेको थियो । साथै यस कार्यक्रमलाई सफल बनाउन युएईमा रहेका अन्य विभिन्न संघसंस्था तथा व्यक्तिहरुको पनि उत्तिकै सहयोग रहन गयो । त्यसका लागि आयोजक टिमले सबैलाई धन्यवाद व्यक्त गरेको छ ।
युएईमा रहनु भएका साहित्यप्रेमीहरूको लामो समयपछि चाहना पूरा भयो, गजलकार रोदनलाई प्रत्यक्ष सुन्ने र देख्ने । यसअघि पनि गजलकार रोदनलाई युएई ल्याउने प्रयास भएका थिए । तर विविध कारणहरुले गर्दा उहाँ आउन पाइरहनु भएको थिएन । कहिले कोरोनाको कहरले रोक्यो त कहिले नेपाल सरकारले खाडी मुलुकका लागि भिजिट भिजामा गरेको कडाइका कारण रोकियो । अनेक अप्ठ्याराहरूलाई पार गर्दै यो पटक त्यो सपना पूरा भयो ।
करिब दुई सय जनाको उपस्थिति रहेको कार्यक्रममा गजल वाचन गरिरहँदा हरेक शेरमा वा!वा! , “वान्स मोर” र तालीका पर्रा छुटेका थिए । श्रोता दर्शकको मागलाई सम्बोधन गर्दै उहाँले आफ्ना उम्दा गजलहरू प्रस्तुत गर्नु भयो ।
आइतबार दिउँसोबाट सुरु भएको कार्यक्रममा उहाँको दमदार प्रस्तुतिले जो कसैलाई जुरुक जुरुक पारिरहेको थियो । १२ बजे हुने भनिएको कार्यक्रम दुई घण्टा ढिलोगरी सुरु हुँदा पनि कसैको धैर्यको बाँध टुटेको थिएन । उपस्थित सबै गजलकार रोदनको प्रस्तुतिको व्यग्र पर्खाइमा थिए । नयाँ र पुराना गजल गरी एक दर्जन बेसी गजल सुनाउनु भएका गजलकार रोदनले हरेक गजलका शेरहरु दोहोर्याइ-दोहोर्याइ नसुनाइ धर पाउनु भएन । उसो त कार्यक्रममा सुनाइएका अधिकांश गजलका शेरहरू यसअघि नै फेसबुक, युटुब र टिकटकमा पढिएको/सुनिरहेको भए पनि प्रत्यक्ष सुन्नुको मज्जा बेग्लै हुनेरैछ भनेर कार्यक्रमा उपस्थिति सबैले आफ्नो अनुभव बताइरहेका थिए ।
यो नै गजलकार रोदनको नेपाल बाहिरको पहिलो प्रस्तुति थियो । यसकारण पनि हुन सक्छ उहाँ उत्साहित हुनुहुन्थ्यो । युएईमा रहनु भएका दुई दर्जन बेसी सर्जकहरुको प्रस्तुतिलाई पनि गजलकार रोदनले बहुत ध्यानपूर्वक नियालिरहनु भएको थियो । कार्यक्रममा अटल उपेन्द्र, समर चेम्जोङ आभास, सरोज सङ्गम, इन्धन डिवि भण्डारी, सुरज राना, डि एल घिमिरे, डि के किराँती, सरु शीतल राई, विष्णु प्याकुरेल, नकुल पौडेल, राजयात्री लम्साल, भुवन कुमार वाग्ले आनन्द, सोनी भण्डारी, ओम कुमारी खाँड, हरिहर कँडेल, घायल दीपक कार्की, बिलासी मान्छे, रमन सुवेदी, सन्दिप रेग्मी, राजन अधिकारी लगायतले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा आईएमई र अलहलिया एक्सचेञ्जले थप रौनकता प्रदान गरेका थिए । कार्यक्रममा उपस्थितिहरु मध्ये गोलाप्रथामार्फत ७ जनालाई कार्यक्रमको अन्त्यमा पुरस्कार प्रदान गरिएको थियो । आईएमईका युएई प्रमुख उत्तम बस्नेत र अधिकृत ईश्वर अधिकारीले पुरस्कार प्रदान गर्नुभएको थियो । सामाजिक सञ्जाल विशेषगरी टिकटकमार्फत विभिन्न सन्देशमूलक र कमेडी प्रस्तुतिका कारण चर्चमा रहेको जोडी फुले बुढा अर्थात नवराज पाण्डे र सविता रिजालको उपस्थितिले पनि कार्यक्रमलाई थप विशेष बनाएको थियो । उहाँहरुसँग सेल्फी लिने र टिकटकका लागि भिडियो बनाउनेहरुको पनि कमी थिएन कार्यक्रममा । अन्य किसिमका कार्यक्रमहरूमा सहभागी हुँदै आएको भए पनि साहित्यिक कार्यक्रममा आएर सुन्नुको आनन्द अलग्गै हुने उहाँहरू बताउनु हुन्छ । रोदनका गजल र प्रस्तुतिबाट आफू निक्कै प्रभावित भएको पाण्डेले बताउनु भयो ।
कार्यक्रमको उद्घोषण गजलकार श्री भवानी नेपालले गर्नुभएको थियो । त्यसमा अर्का सर्जक तथा कार्यक्रम सञ्चालक रमेश क्षितिजले कार्यक्रमको सुरुवाती चरण (औपचारिक कार्यक्रम) मा नेपाललाई साथ दिनु भएको थियो । यसले पनि कार्यक्रमलाई थप रोचक बनाएको थियो ।
आयोजक डबलीका संरक्षक तथा गजलकार टक गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल हुनुहुन्थ्यो । कार्यक्रममा साहित्यपोस्टसहित राष्ट्रिय डेली, सेतोमाटो र नमस्ते दुबई मिडिया पार्टनरको रुपमा रहेका थिए ।
कार्यक्रम सकिएपछि पनि गजलकार रोदन युएईका केही विशेष ठाउँहरूको भ्रमणमा व्यस्त हुनुहुन्छ । साउन ११ गते बुधबार रोदन नेपाल फर्किने योजना रहेको गजलकार श्री भवानी नेपालले जानकारी गराउनु भयो ।
तस्बिरहरु : सुरज राना/हरिहर कँडेल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।