डेब्यु काव्यकृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’का लागि उत्कृष्ट ११ काव्यकृतिहरूको सूचीमाप्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’ पर्न सफल भएको छ ।

वर्तमान समयका चर्चित गजलकार प्रदीप रोदनको पहिलो कृति हो, गजलसङ्ग्रह ‘मफलर’ । प्रेमिल गजलका लागि प्रसिद्ध रोदनका गजलले प्रेम मात्रै बोलेका छैनन्, समाज र दर्शन पनि बोलेका छन् । वर्तमान समाजमा विद्यमान विकृति तथा कुसंस्कारलाई उनले सरल र सरस ढङ्गले गजलमा उतारेका छन् । उनका गजलमा सत्तालाई प्रश्न तथा बदलिएको अर्थराजनीतिको चित्रण पनि पाइन्छ ।

फाइन प्रिन्टले प्रकाशनमा ल्याएको गजलसङ्ग्रह मफलरमा १ सय ८ थान गजल तथा १ सय ८ थानै फर्दहरु सङ्ग्रहित छन् ।

छानिएका डेब्यु काव्यकृतिहरूमा कमला महतको बाछिटासङ्ग्रह ‘अनन्त’, रेहित सैजुको मुक्तकसङ्ग्रह ‘परावर्तन’, बुद्धिप्रसाद शर्मा रेग्मीको महाकाव्य ‘मेरी आमा’, मिलन समीरको शृङ्खला-कविता ‘प्रिय दुश्मन’, सौरभ शर्माको कवितासङ्ग्रह ‘अनन्त प्रेम’, प्रीति आत्रेय ज्ञवालीको कवितासङ्ग्रह ‘अनुभूतिको इन्द्रेनी’, रोहिणी रसिकको छन्द कवितासङ्ग्रह ‘छन्द आराधना’, मिमबहादुर परियारको कवितासङ्ग्रह ‘कर्नाली हाँस्दो छ’, लक्ष्मी रेशमीको कवितासङ्ग्रह ‘ज्याकारान्डाको शहर’ र विष्णु आचार्य ‘अतृप्त’को कवितासङ्ग्रह ‘घर फर्किने तिर्खा’ रहेका छन् ।

यो सूची नयाँ लेखकहरूले २०७९ सालमा प्रकाशनमा ल्याएका ४२ काव्यसङ्ग्रहबाट छानिएको हो । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टीमले छानेको हो ।

यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।

यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल काव्यकृतिमध्ये उत्कृष्ट एकलाई ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ प्रदान गरिने छ ।