
काठमाडौँ / नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता आदि गजलकार मोतीराम भट्टको १५७ औं जन्म जयन्ती एवम् आफ्नो स्थापनाको वार्षिकोत्सवको अवसर पारेर नेपाल गजल प्रतिष्ठानले “साङ्गीतिक गजल मुशायरा एवं स्रष्टा सम्मान” कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौँको राष्ट्रिय नाचघर जमलको सभाहलमा श्री कृष्ण गुरुकुल सङ्गीत पाठशाला, जनता टेलिभिजन र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा नेपाल गजल प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको हो ।
कार्यक्रममा वरिष्ठ चिकित्सक एवम् गजलकार डा. कृष्ण जङ्ग राणा, वरिष्ठ गीत/गजल गायक एवम् सङ्गीतकार शक्ति बल्लभलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) को हातबाट क्रमशः बहर बाटिका गजल सम्मान र बहर बहार सङ्गीत सम्मान प्रदान गरिने कार्यक्रम भए पनि अस्वस्थताका कारण अनुपस्थित रहनुभएका ९२ वर्षीय वरिष्ठ गजलकार एवं चिकित्सक कृष्ण जंग राणालाई घरमै पुगी दोसल्ला ओढाएर सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
वरिष्ठ साहित्यकार प्रा. डा. रामप्रसाद ज्ञावलीले सम्मानित व्यक्तित्वहरूले पुऱ्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो भने संस्थाका सचिव अन्जान यात्रीज्यूले सम्मान पत्रको व्यहोरा वाचन गरेर सुनाउनुभएको थियो ।
गजलकार डा. प्रदीप कुमार मैनालीको ” के लत बस्यो मलाई ” बोलको गजलमा तिलक सिंह पेलाको संगीत रहेको थियो । संस्थापक अध्यक्ष गजलकार प्रमोद थापाको ” मुहार तिम्रो बेदाग जून हो ” बोलको गजलमा आवाज शर्माको संगीत र गायन रहेको थियो ।
गजलकार अन्जान यात्रीको ” झरिमा ओढिएको ओढनी ” बोलको गजलमा तिलक सिंह पेला एवं आवाज शर्माको संगीत , खेम थापाको गायन रहेको थियो । गजलकार भुवन निस्तेजको ” पुरानो भैसक्यो चलन चिठ्ठीहरूको” बोलको गजलमा कमल विष्टको संगीत र गायन रहेको थियो ।
संस्थाका संरक्षक टक गुरुङको ” नबोली चुरा छिनछिन” बोलको गजलमा लालकाजी श्रेष्ठको संगीत र गायन रहेको थियो । संस्थाका सल्लाहकार, गजलकार आवाज शर्माको ” जिउने बहाना हजार छन् ” बोलको गजलमा संगीत आवाज शर्माको , प्रतीक्षा देवकोटाको गायन रहेको थियो ।

गजलकार डा• भोजराज घिमिरेको ” तिम्रो नयनको क्षितिजमा ” बोलको गजलमा कमल विष्टको संगीत र गायन रहेको थियो ।भने वाद्यवादन तर्फ इशराजमा संतोषभक्त श्रेष्ठ, तबलामा जगन्नाथ धौगोडा, गितारमा शैलेस मानव, हार्मोनियममा कमल विष्ट हुनुहुन्थ्यो ।
नेपाल गजल प्रतिष्ठानका वरिष्ठ सल्लाहकार आवाज शर्माले नेपाल गजल प्रतिष्ठान र कार्यक्रमका बारेमा प्रष्ट पार्नुभएको थियो । प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ ( रायन ) ले गजलको उन्नयनको लागि निरन्तर लागिरहनु पर्ने कुरा बताउनुभएको थियो ।
अन्त्यमा सभाध्यक्षले गजल केवल गजल मात्र हो र गजलको संरक्षण सम्बर्द्धन एवं प्रबर्द्धनका लागि नेपाल गजल प्रतिष्ठानको अभियान निरन्तर जारी रहने कुरा बताउनुभएको थियो ।
कार्यक्रमलाई एनआइसि एसिया बैंक, सनराइज बैंक, एभरेस्ट बैंक, सुर्य लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष र बुद्ध एयरले प्रायोजन गरेको थियो ।
कार्यक्रममा सम्मान कार्यक्रम खण्डको सहजीकरण भुवन निस्तेजले गर्नुभएको थियो भने सांगीतिक गजल मुशायरा खण्डको सहजीकरण प्राज्ञ कवि एवं गजलकार धीरेन्द्र प्रेमर्षीले गर्नुभएको थियो ।
प्रदीप मैनाली “स्वनाहम”को परिकल्पना एवं संयोजकत्व रहेको उक्त कार्यक्रम नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
नेपाल गजल प्रतिष्ठानको “साङ्गीतिक गजल मुशायरा एवं स्रष्टा सम्मान” कार्यक्रम सम्पन्न
१५ असार २०८३, सोमबार 








